। नेपाली कांग्रेसको संस्थापनइतर पक्षले काठमाडौंको चुनदेवीमा सोमबार सम्पर्क कार्यालय खोल्ने भएको छ । शुक्रबार निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काको गल्फुटारस्थित निवासमा बसेको नेताहरूको बैठकले यस्तो निर्णय लिएको हो ।
‘चुनदेवीमा सम्पर्क कार्यालय स्थापना हुन्छ । १५ औं महाधिवेशनका सम्पूर्ण तयारीहरू, छलफलहरू, बैठकहरू त्यहीँबाट हुन्छन् । सम्पर्क, सम्बन्ध र संगठन बिस्तारका काम पनि सम्पर्क कार्यालयबाटै हुन्छन्,’ बैठकपछि नेता मीनबहादुर विश्वकर्माले भने ।
प्रदेशमा गरिएका भेला पार्टीभित्र देखिएका अन्तर्कलह कसरी समाप्त गर्ने भन्ने विषयमा नै केन्द्रित रहेको उनले दाबी गरे । ‘गत निर्वाचनमा कांग्रेसको अकल्पनीय पराजय बेहोर्यौं । ती भेलाबाट त्यसको समीक्षा र पार्टीभित्रको एकतामा नै छलफल भयो,’ उनले भने, ‘ती भेलाको निष्कर्षबाट अब हामी राष्ट्रिय भेला गर्दैछौं । असार २२ गते अथवा सोमबार बस्ने बैठकले राष्ट्रिय भेलाको मिति तय गर्नेछ ।’