। काठमाडौं महानगरपालिका पूर्ण खोप सुनिश्चित महानगर घोषणा भएको छ ।
शुक्रबार काठमाडौं महानगरपालिकाले एक कार्यक्रम गरी पूर्ण खोप सुनिश्चित महानगरको रूपमा घोषणा गरेको हो ।
१२ महिनादेखि २३ महिनासम्मका बालबालिकाहरूले पूर्ण खोप पाएको सुनिश्चित भएपछि काठमाडौं महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता महानगर घोषणा गरिएको हो ।
कार्यक्रममा बोल्दै महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले खोप सबै बालबालिकाको नैसर्गिक अधिकार भएको उल्लेख गरिन् ।
उनले खोप कार्यक्रमलाई अगामी दिनमा अझै प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरिन् ।
उनले बालबालिकाले आफ्नो स्वास्थ्यसम्बन्धी निर्णय आफैँ गर्न नसक्ने भएकाले राज्य र परिवारले उनीहरूको स्वास्थ्य सुरक्षाको जिम्मेवारी वहन गर्नुपर्ने बताइन् ।
उनले जटिल तथा ज्यानै जान सक्ने रोगबाट बचाउन खोप अपरिहार्य रहेको उल्लेख गर्दै खोप लगाउन यदि कोहीले बालबालिकालाई छुटाएको भए तत्काल स्वास्थ्य केन्द्रमा जान समेत सुझाव दिइन् ।
कार्यवाहक प्रमुख डंगोलले खोप अभियानकै प्रभावका कारण पोलियोजस्ता रोगबाट हुने बालमृत्यु उल्लेखनीय रूपमा घटेको बताउँदै अब त्यस्तो जोखिमलाई शून्यमा झार्ने लक्ष्यतर्फ महानगर अघि बढिरहेको बताइन् ।
उनले भनिन्, ‘खोप पाउनु सबै बालबालिकाको अधिकार हो । आफूले के पाउनुपर्छ भन्ने कुराको बालबालिका आफैँले निर्णय गर्न सक्दैन । त्यो समयमा राज्यले हेर्नुपर्छ, घरपरिवारले हेर्नुपर्छ । त्यो बुझाइदिनका लागि स्वास्थ्य स्वयंसेविकाको आवश्यकता पर्छ । सोहीअनुसार यहाँहरुले जिम्मेवारी पूरा गर्नुभयो ।’