: वैदेशिक रोजगारीका नाममा सर्वसाधारणलाई ठगी गर्ने र कानुन उल्लंघन गर्नेहरू विरुद्ध सरकारले कारबाही तीव्र पारेको छ। वैदेशिक रोजगार विभाग र प्रहरीको सक्रियताका कारण पछिल्लो समय ठगीमा संलग्न दर्जनौं व्यक्ति र संस्थाहरू कारबाहीको दायरामा आएका छन्।
वैदेशिक रोजगार विभागको मुद्दा तथा अनुसन्धान शाखाले शुक्रबारमात्रै वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा २५ वटा नयाँ मुद्दा दर्ता गरेको छ। कारबाहीकै क्रममा विभागले ८ जना अभियुक्तलाई पक्राउ गरी उपस्थित गराएको छ भने फरार रहेका अन्य १९ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।
म्यानपावर कम्पनीहरूको गतिविधिमाथि पनि सरकारले कडा नजर राखेको छ। संस्था अनुगमन शाखाले नियमविपरीत काम गर्ने तीन वटा म्यानपावर कम्पनीलाई सचेत गराउँदै पत्राचार गरेको छ। हालै ४७ वटा म्यानपावर र सात वटा पूर्वप्रस्थान अभिमुखीकरण तालिम प्रदायक संस्था (पीडीओटी) को नवीकरण गरिए पनि उनीहरूको कार्यशैलीमाथि विभागले निरन्तर निगरानी राखिरहेको जनाएको छ।
यसैबीच, आकर्षक तलबको प्रलोभन देखाएर युवाहरूबाट लाखौं रुपैयाँ ठगी गर्ने दुई जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेका ३८ वर्षीय सरोज पन्त र रामेछापका २२ वर्षीय अनिल खत्री रहेका छन्। उनीहरूले विभिन्न देश पठाइदिने बहानामा कुल ३९ लाख रुपैयाँ ठगी गरेका थिए।
अभियुक्त पन्तले आयरल्यान्ड पठाइदिने भन्दै एक पीडितबाट १६ लाख रुपैयाँ लिएर फरार भएका थिए भने अर्का अभियुक्त खत्रीले ६ जना युवालाई यूएई पठाइदिने बहानामा कुल २३ लाख रुपैयाँ ठगी गरेका थिए।