मुख्य समाचार
इरानका सर्वोच्च नेता अली खामेनीको निधन भएको चार महिनापछि इरानले उनको सम्मानमा एक सातासम्म चल्ने भव्य अन्त्येष्टि कार्यक्रम आयोजना
इरानका सर्वोच्च नेता अली खामेनीको निधन भएको चार महिनापछि इरानले उनको सम्मानमा एक सातासम्म चल्ने भव्य अन्त्येष्टि कार्यक्रम आयोजना

: अमेरिका–इजरायल युद्ध सुरु भएकै बेला मारिएका इरानका सर्वोच्च नेता अली खामेनीको निधन भएको चार महिनापछि इरानले उनको सम्मानमा एक सातासम्म चल्ने भव्य अन्त्येष्टि कार्यक्रम आयोजना गरेको छ । यो कार्यक्रम दुई देशका पाँच सहरमा सञ्चालन हुनेछ र करोडौं शोकाकुल नागरिक सहभागी हुने अपेक्षा गरिएको छ ।

विश्वका दुई शक्तिशाली सैन्य शक्तिसँग महँगो युद्ध लडेको र दशकौंदेखि गम्भीर आर्थिक संकट झेलेको इरानले पनि खामेनीलाई धार्मिक प्रतीकवादले भरिएको भव्य विदाइ दिन कुनै कसर बाँकी राखेको छैन । संयोगवश यो कार्यक्रम अमेरिकाको २५०औं स्वतन्त्रता दिवसको आसपास परेको छ ।
इरानी अधिकारीहरूका अनुसार यो इस्लामिक गणतन्त्रको इतिहासकै सबैभन्दा ठूलो व्यवस्थापन अभियानमध्ये एक हो । सरकारी कर्मचारी, विश्वविद्यालय, श्रमिक संगठन, दमकलकर्मी, सैनिक, उद्धारकर्मी तथा धार्मिक शोक समूहहरूलाई परिचालन गरिएको छ । इरान र छिमेकी इराकका विभिन्न सहर तथा पवित्र धार्मिकस्थलहरूमा लाखौँ श्रद्धाञ्जली दिन आउनेहरूको व्यवस्थापन गरिनेछ । शिया मुस्लिम बहुसंख्यक रहेको इराकले पनि लाखौँ मानिस सहभागी हुने जनाएको छ ।

पछिल्ला दश दिनदेखि इरानी सञ्चारमाध्यमहरूले खामेनीको जीवनमाथि आधारित वृत्तचित्र, श्रद्धाञ्जली गीत तथा विशेष कार्यक्रमहरू प्रसारण गरिरहेका छन् । यसअघि मुख्य समाचार बनेका अमेरिका–इरान वार्ताका समाचारहरू पनि यसले ओझेलमा पारेका छन् । इरानको उद्देश्य विश्व तथा आफ्ना शत्रुहरूलाई स्पष्ट सन्देश दिनु रहेको विश्लेषकहरू बताउँछन्-देशले अस्तित्वकै संकट निम्त्याउने युद्ध झेले पनि शासन व्यवस्था टिकेको छ र खामेनीलाई प्रतिरोध तथा दृढताको प्रतीकका रूपमा अमर बनाइनेछ ।

इरानी संसदका शक्तिशाली सभामुख तथा अमेरिकासँगको वार्ताको नेतृत्व गरिरहेका मोहम्मद बाघेर घालिबाफले भनेका छन्, ‘हामीले राष्ट्रको रगतको आवाज संसारभर पुर्‍याउनु पर्छ ताकि संसारले बुझोस् कि सम्मानित इरानी जनता अत्याचारको अगाडि कहिल्यै मौन बस्दैन र आफ्ना इमाम (खामेनी) को रगतको बलिदानलाई बिर्सँदैन ।’ उनका अनुसार यो कार्यक्रमले ‘राष्ट्रको आत्मबल संसारसामु प्रस्तुत गर्ने ऐतिहासिक घटना’ बन्ने छ ।
यसै अन्त्येष्टिका क्रममा नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी पहिलो पटक सार्वजनिक रूपमा देखापर्न सक्ने अनुमान गरिएको छ । उनी आफ्ना पिता र परिवारका सदस्यहरूको हत्या भएपछि हालसम्म सार्वजनिक रूपमा देखिएका छैनन् ।

धार्मिक तथा राजनीतिक प्रतीकले भरिएको कार्यक्रम
अन्त्येष्टिका मितिहरू पनि निकै अर्थपूर्ण रूपमा चयन गरिएको मानिएको छ । खामेनीको पार्थिव शरीर अमेरिकाको स्वतन्त्रता दिवसका दिन सर्वसाधारणको श्रद्धाञ्जलीका लागि राखिनेछ भने अर्को प्रमुख कार्यक्रम शिया मुस्लिमहरूको महत्वपूर्ण धार्मिक स्मृति दिवससँग जुधाइएको छ ।
पूरै कार्यक्रम इस्लामिक पात्रोको मुहर्रम महिनाभरि सञ्चालन हुनेछ । शिया मुस्लिमका लागि यो महिना शोक, बलिदान र इमाम हुसैनको शहादतसँग जोडिएको अत्यन्त पवित्र समय मानिन्छ । खामेनीले पनि आफूलाई इमाम हुसैनको वंशसँग जोड्ने गर्थे ।

पश्चिमी मुलुकप्रति कठोर अडान राख्ने खामेनी अमेरिका–इजरायल युद्ध सुरु भएकै पहिलो दिन अर्थात् फेब्रुअरी २८ मा मारिएका थिए । तर अहिले उनको अन्त्येष्टिलाई विजय उत्सव जस्तै तीन इरानी सहर र इराकका दुई पवित्र धार्मिकस्थल हुँदै आयोजना गरिएको छ, जसबाट समर्थकहरूलाई ‘मृत्युपछि पनि उनी पराजित भएका छैनन्’ भन्ने सन्देश दिन खोजिएको छ ।

विश्लेषकहरूका अनुसार जीवनकालमा शासनविरुद्ध भएका विशाल प्रदर्शनहरूलाई कठोर रूपमा दबाएका खामेनीको हत्या भएपछि उनी शिया समुदायमा शहीद धार्मिक नेताको रूपमा अझ शक्तिशाली प्रतीक बनेका छन् । अन्तर्राष्ट्रिय नीति केन्द्रका वरिष्ठ अनुसन्धानकर्ता सिना तुसी भन्छन्, ‘खामेनी आफ्नो जीवनकालभन्दा मृत्युपछि अझ शक्तिशाली प्रतीक बनेका छन् । अहिले उनलाई शहीद धार्मिक नेताका रूपमा प्रस्तुत गरिएको छ ।’

पाँच करोड रोटीदेखि विशाल सुरक्षा व्यवस्था
इरानले यसअघि यति ठूलोस्तरको अन्त्येष्टि केवल इस्लामिक गणतन्त्रका संस्थापक आयातोल्लाह रुहोल्लाह खोमेनी (१९८९) र कुद्स फोर्सका कमाण्डर कासिम सुलेमानी (२०२०) का लागि मात्रै आयोजना गरेको थियो । दुवै कार्यक्रममा भीड नियन्त्रण गर्न नसक्दा धेरै मानिसको ज्यान गएको थियो ।

यस पटक खामेनीको शव सुरक्षित राख्न, लाखौँ श्रद्धाञ्जली दिन आउनेहरूको व्यवस्थापन गर्न तथा विदेशी पाहुनाको स्वागत गर्न अभूतपूर्व सुरक्षा योजना लागू गरिएको छ । शनिबार बिहान ६ बजेदेखि तेहरानस्थित इमाम खोमेनी मोसल्ला मस्जिद परिसरमा पार्थिव शरीर राखिने छ । गर्मीबाट जोगाउन ६ हजारभन्दा बढी पानी छर्किने उपकरण जडान गरिएको छ । अन्त्येष्टिका क्रममा तेहरानका अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थल बन्द गरिने छन् । लाखौँ मानिस आउने भएकाले निजी सवारीसाधनमा प्रतिबन्ध लगाइनेछ र ७ सयभन्दा बढी पार्किङ स्थल खुला गरिने छन् । श्रद्धाञ्जली दिन आउनेहरूका लागि ५ करोड रोटी पकाइनेछ भने १६ वटा मोबाइल बेकरी सञ्चालन गरिने छन् ।

उद्धार तथा स्वास्थ्य सेवाका लागि २,५०० एम्बुलेन्स, २१ हेलिकप्टर, १०० ड्रोन, हजारौँ उद्धारकर्मी, ५ लाख लिटर सलाइन, २० हजार कक्षाकोठा तथा दुई दर्जनभन्दा बढी अस्पताल तयारी अवस्थामा राखिएको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन् । सरकारले तेहरान, मशहद र कुम आउने श्रद्धाञ्जलीकर्तालाई आफ्नै घरमा बस्न दिने अभियानसमेत सञ्चालन गरेको छ । मस्जिद, खेलकुद हल, पार्क र सांस्कृतिक केन्द्रहरूलाई पनि अस्थायी आवासका रूपमा तयार पारिएको छ ।

विश्वलाई शक्ति प्रदर्शन

अन्त्येष्टिको तेस्रो दिन शवयात्रा तेहरानको पूर्वी भागबाट पश्चिमसम्म लैजाने कार्यक्रम छ । त्यसपछि धार्मिक नगर कुम हुँदै पार्थिव शरीर इराकका पवित्र सहर नजाफ र कर्बला पुर्‍​​​​याइनेछ । अन्ततः खामेनीको जन्मस्थल मशहदस्थित इमाम रेजाको पवित्र समाधिस्थलमा उनको अन्तिम संस्कार गरिनेछ।

इराकसम्म पार्थिव शरीर लैजानुलाई इरानले आफूलाई सीमाहीन इस्लामिक क्रान्तिको नेतृत्व गर्ने शक्तिका रूपमा प्रस्तुत गर्ने प्रयासका रूपमा पनि हेरिएको छ । विश्लेषक सिना तुसीका अनुसार खामेनेईका धार्मिक अनुयायी इराक, पाकिस्तान, बहराइनलगायत अन्य शिया समुदायमा पनि रहेका कारण नजाफ र कर्बलामा हुने कार्यक्रम अत्यन्त महत्वपूर्ण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...
। यमनको अंसार अल्लाह विद्रोही समूह हुथीले साउदी अरबको सरकारी कम्पनी साउदी अरामकोको जाजानस्थित तेल रिफाइनरीमा ड्रोन आक्रमण गरेका छन् । हुथी नियन्त्रित साबा समाचार एजेन्सीले एक सैन्य स्रोतलाई उद्धृत गर्दै यो समाचार सार्वजनिक गरेका हुन् । सैन्य स्रोतले समाचार एजेन्सीलाई भनेका छन् , ‘यमेनी सशस्त्र बलहरूले जाजानस्थित अरामको तेल रिफाइनरीमा धेरै ड्रोनहरूले आक्रमण गरे।’ स्रोतले बताए अनुसार ...
। जापानी राजदूत अकिरा मुटो मंगलबार बिहान रुसी विदेश मन्त्रालयमा २५ मिनेट बिताएर कुनै प्रतिक्रिया नदिई बाहिरिएका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुरिल टापुको इटुरुप भ्रमण गरेका थिए। उक्त भ्रमणलाई लिएर टोकियोले विरोध जनाएको थियो। सोही विरोधपछि रुसी विदेश मन्त्रालयले जापानी राजदूतलाई बोलाएको हो। टासका पत्रकारको प्रश्नमा रुसी विदेश मन्त्री सर्गेई लाभरोभले सुरुमा जापानी दूतावासले अलमल गरेको ...
। लेबनानमा रहेको संयुक्त राष्ट्रसंघीय अन्तरिम बल (युनिफिल) ले विगत दुई सातामा दक्षिण लेबनानमा इजरायलको सैन्य गतिविधि उल्लेखनीय रूपमा बढेको जनाएको छ। युनिफिलले एक्समा लेखेको छ, ‘विगत दुई सातामा दक्षिण लेबनानमा इजरायली सैन्य गतिविधिमा ठूलो वृद्धि देखिएको छ। अगस्ट ५ देखि १६ को बीचमा युनिफिलले दैनिक औसत १३७ वटा प्रक्षेपास्त्र प्रहार भएको रेकर्ड गरेको छ, जसमा ...