— दैलेखको कर्णाली नदीमा खसेको मिनी बस दुर्घटनाको चार दिन बितिसक्दा पनि दुर्घटनाग्रस्त गाडी फेला परेको छैन । कर्णालीमा यतिखेर उच्च पानीको बहाव र धमिलो नदीका कारण खोजी कार्य प्रभावित भएको छ ।
सुर्खेतबाट कालीकोटको रास्कोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश–०२–००१ ख १०५५ नम्बरको मिनी बस (फोर्स) बिहीबार बिहान करिब ११ः३० बजे दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साँगेतडा सडकबाट कर्णाली नदीमा खसेको थियो । आइतबारसम्म पनि गाडीको अवस्था र त्यसमा सवार यात्रुको यकिन विवरण खुल्न सकेको छैन ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी जयराज सापकोटाले नदीमा अत्यधिक बहाव र धमिलो पानीका कारण खोजी कार्य चुनौतीपूर्ण बनेको बताए । उनका अनुसार हालसम्म दुर्घटनास्थलदेखि तलका सम्भावित क्षेत्रमा नियमित खोजी भइरहे पनि गाडी फेला परेको छैन । ‘अहिलेसम्म गाडी फेला परेको छैन । कति जना सवार थिए भन्ने पनि यकिन हुन सकेको छैन,’ उनले भने, ‘सबै सुरक्षा निकायका प्रमुखहरु टोलीसहित कर्णाली नदीका विभिन्न स्थानमा खोजी कार्यमा खटिएका छौं ।'
उनका अनुसार यातायात कम्पनीको अभिलेखमा पाँच जनाले मात्र टिकट काटेको देखिन्छ । तर बीच बाटोबाट पनि यात्रु चढेको हुन सक्ने अनुमान सुरक्षाकर्मीले गरेका छन् । बाटोका प्रहरी चौकीमा समेत गाडीको इन्ट्री रेकर्ड भेटिएको छैन ।
दुर्घटनापछि भीरमा अड्किएको अवस्थामा एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ । शवको सनाखत भइसकेको भए पनि अन्य यात्रुको अवस्था अज्ञात छ ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले हेलिकोप्टर, ड्रोन तथा जल उद्धार टोली परिचालन गरेर खोजीलाई निरन्तरता दिएका छन् । डीआईजी सापकोटाले १७६ जना सुरक्षाकर्मी परिचालन गरिएको बताए ।
उत्तरपश्चिम पृतनाका हेडक्वार्टरका अनुसार सेनाले दुर्घटनास्थलदेखि बर्दियासम्मको कर्णाली नदी क्षेत्रमा करिब ७० जना सैनिक परिचालन गरेको छ भने सशस्त्र प्रहरीका ३६ र नेपाल प्रहरी ७० जनासहित गोताखोर तथा विपद् उद्धार टोली खटिएका छन् । सेनाले हेलिकोप्टर र ड्रोन क्यामराको सहायताबाट नदीका सम्भावित स्थानमा हवाई निगरानी गर्दै खोजी कार्य जारी राखेको पृतनापति दिपेशजंग शाहले बताए । 'धमिलो पानी, उच्च पानीको बहाव र आधुनकि उपकरण नभएकाले खोजी कार्यमा समस्या छ,' उनले भने ।
सुरक्षा निकाय प्रमुखहरूले नदीको बहाव सामान्य हुनेबित्तिकै खोजीलाई अझ प्रभावकारी बनाइने बताएका छन् ।