मुख्य समाचार
१०० दिनमा वैदेशिक रोजगार क्षेत्रको सुधार, श्रमिक सुरक्षाको प्रत्याभूति, रोजगार प्रवर्द्धन र सेवा प्रवाहको डिजिटल रूपान्तरणमा उल्लेखनीय प्रगति हासिल गरेको दाबी
१०० दिनमा वैदेशिक रोजगार क्षेत्रको सुधार, श्रमिक सुरक्षाको प्रत्याभूति, रोजगार प्रवर्द्धन र सेवा प्रवाहको डिजिटल रूपान्तरणमा उल्लेखनीय प्रगति हासिल गरेको दाबी

। युवा, श्रम तथा रोजगार मन्त्रालयले सरकार गठनपछि पहिलो १०० दिनमा वैदेशिक रोजगार क्षेत्रको सुधार, श्रमिक सुरक्षाको प्रत्याभूति, रोजगार प्रवर्द्धन र सेवा प्रवाहको डिजिटल रूपान्तरणमा उल्लेखनीय प्रगति हासिल गरेको दाबी गरेको छ ।

मन्त्रालयले सार्वजनिक गरेको १०० दिने कार्यप्रगतिअनुसार वैदेशिक रोजगार ठगीका पीडितलाई ३० करोडभन्दा बढी क्षतिपूर्ति उपलब्ध गराएको उल्लेख गरिएको छ । २०८२/८३ को साउनदेखि चैत मसान्तसम्म ९ महिनामा संस्थागत उजुरी तथा व्यक्तिगत मुद्दा सम्बन्धी कारबाही हुँदा ८८२ मुद्दामा १२ करोड ६७ लाख ३९ हजार रुपैयाँ क्षतिपूर्ति भराइएको थियो ।

नयाँ सरकार आएपछि तीन महिनामा भने १ हजार ४ मुद्धामा ३० करोड ७ लाख ४२ हजार ३ सय ४ रुपैयाँ वैदेशिक रोजगार पीडितलाई क्षतिपूर्ति भराईएको कार्यविविरणमा उल्लेख छ ।

पछिल्लो ३ महिनाको अवधिमा मुद्दा अनुसन्धान र फस्र्यौट दर २४१.५ प्रतिशतले वृद्धि भएको छ भने पीडितले क्षतिपूर्ति पाउने दर ६७२.८ प्रतिशतले वृद्धि भएको छ । तीन महिनाको अवधिमा म्यानपावर संस्थाविरुद्ध १४० वटा उजुरी फस्र्यौट गरिएको र २ करोड १० लाख २७ हजार ८ सय रुपैयाँ क्षतिपूर्ति भराइएको मन्त्रालयले जनाएको छ।



उक्त अवधिमा ७३ जना नेपालीको उद्धार गरिएको र विदेशमा कार्यरत नेपाली श्रमिकको गुनासो व्यवस्थापन गर्न २१८ वटा संस्थासँग समन्वय गरिएको छ । त्यस्तै जिल्ला प्रशासन कार्यालय तथा आप्रवासी स्रोत केन्द्रबाट सहजीकरण गरी वैदेशिक रोजगार ठगी सम्बन्धी १९७ उजुरी फस्र्यौट गरिएको र ५ करोड ४३ लाख ११ हजार ६ सय २४ रुपैयाँ बराबरको क्षतिपूर्ति भराइएको छ ।

उक्त अवधिमा ९ वटा म्यानपावरलाई अनुगन गरी आर्थिक दण्ड तथा जरिबाना गरिएको र ७ लाख ९० हजार रुपैयाँ रकम उठेको जनाएको छ । श्रम तथा रोजगारसम्बन्धी सेवाहरूलाई डिजिटल माध्यममा रूपान्तरण गर्ने दिशामा महत्त्वपूर्ण फड्को मारिएको दाबी गरिएको छ । वैदेशिक रोजगार क्षेत्रमा हुने अनियमितता नियन्त्रण गर्न मन्त्रालयले ‘अपरेसन इलिगल एजेन्ट क्लिन–अप’ वेब पोर्टल सञ्चालनमा ल्याएको छ ।

निर्माणाधीन मोबाइल एपमार्फत पीडितले प्रत्यक्ष ‘लाइभ लोकेसन’ सहित तत्काल उजुरी दिन सक्ने व्यवस्था मिलाइएको छ । त्यस्तै, ‘एक्सन कमान्ड सेन्टर’ स्थापना गरी वैदेशिक रोजगारीसँग सम्बन्धित एक हजार ६ सय ६३ गुनासोको सम्बोधन गरिएको मन्त्रालयको दाबी छ ।

सेवा प्रवाहलाई सहज, पारदर्शी र प्रभावकारी बनाउन मन्त्रालयले वैदेशिक रोजगार प्रणालीको डिजिटलाइजेसनलाई प्राथमिकतामा राखेको छ । ‘फरेन इम्प्लोइमेन्ट इकोसिस्टम’ र ‘लेबर ट्र्याकिङ’ प्रणालीको अध्ययन प्रतिवेदन तयार पारिएको छ भने श्रमिकको स्वास्थ्य परीक्षणलाई व्यवस्थित गर्न ‘स्वास्थ्य परीक्षण डिजिटल वेब पोर्टल’ अन्तिम चरणमा पुगेको छ ।

वैदेशिक रोजगारसँग सम्बन्धित मुद्दा, अनुसन्धान र उजुरी व्यवस्थापनलाई पूर्ण रूपमा अनलाइनमा लैजान आवश्यक सफ्टवेयरको परीक्षण पनि सुरु गरिएको छ । श्रम तथा रोजगार क्षेत्रलाई एकीकृत डिजिटल प्रणालीमा आबद्ध गर्ने उद्देश्यसहित मन्त्रालयले ‘श्रम संसार पोर्टल’ निर्माण प्रक्रिया अघि बढाएको छ ।

श्रम तथा रोजगारसम्बन्धी १७ वटा अनलाइन प्रणालीलाई एउटै प्लेटफर्ममा ल्याउने तयारी भइरहेको छ । राष्ट्रिय परिचयपत्रको आधारमा ‘सिङ्गल लेबर प्रोफाइल’ निर्माण र समग्र श्रम तथा रोजगार क्षेत्रको डिजिटल ब्लुप्रिन्ट पनि तयार गरिएको मन्त्रालयले जनाएको छ ।

वैदेशिक रोजगार सेवा स्थानीय तहसम्म विस्तार गर्न ४४१ स्थानीय तहलाई एफईआईएमएस प्रणालीमा आबद्ध गरी ‘युजर आईडी’ प्रदान गरिएको छ । यसबाट नागरिकले आफ्नै स्थानीय तहबाट वैदेशिक रोजगारसम्बन्धी आधारभूत सेवा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म एक लाख ६६ हजार ९२० जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । पश्चिम एसियामा देखिएको तनावका कारण अस्थायी रूपमा रोकिएको १२ देशका लागि श्रम स्वीकृति पुनः सञ्चालन गरी ३० हजारभन्दा बढी नेपाली श्रमिकलाई राहत प्रदान गरिएको छ ।

कोरिया र इजरायलका लागि भाषा परीक्षा सञ्चालन गरिएको छ भने जापानसँगको नयाँ ‘इम्प्लोइमेन्ट फर स्किल डेभलपमेन्ट प्रोग्राम’ अन्तिम चरणमा पुगेको छ।

आन्तरिक रोजगार प्रवर्द्धनतर्फ सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत आगामी दशकलाई ‘रोजगार प्रवर्द्धन दशक’ घोषणा गरेको छ । सो घोषणालाई कार्यान्वयन गर्न ‘नेसनल इम्प्लोइमेन्ट इकोसिस्टम ब्लुप्रिन्ट, २०८३’ निर्माण प्रक्रिया अघि बढाइएको छ भने राष्ट्रिय रोजगार नीति, २०८३ को मस्यौदा तयार भइरहेको छ ।

नेपालमै पहिलोपटक ‘केयर इकोनोमी’ सम्बन्धी नीति निर्माण प्रक्रिया पनि सुरु गरिएको मन्त्रालयले जनाएको छ । सिप विकास र उद्यमशीलता प्रवर्द्धनलाई समेत प्राथमिकतामा राख्दै राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान र मातहतका केन्द्रमार्फत विभिन्न क्षेत्रमा दुई हजार ६४ जनालाई तालिम प्रदान गरिएको छ । स्टार्टअप, नवप्रवर्तन र व्यवसाय इन्क्युबेसनलाई प्रवर्द्धन गर्न भारतीय प्राविधिक संस्थान आईआईटी मद्राससँग सहकार्यको प्रक्रिया पनि अघि बढाइएको छ ।

मन्त्रालयले १०० दिनको अवधिमा श्रम निरीक्षणलाई पनि तीव्र बनाएको छ । सरकार गठनअघि नौ महिनामा एक हजार ९९ वटा श्रम निरीक्षण भएकोमा वर्तमान सरकारले १०० दिनमै एक हजार ३ सय २१ वटा श्रम निरीक्षण सम्पन्न गरेको जनाएको छ ।

निरीक्षणका क्रममा ४ करोड ४० लाख रुपैयाँभन्दा बढी जरिबाना तथा क्षतिपूर्ति गराइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले श्रमिक सुरक्षा, सेवा प्रवाहको सरलीकरण, वैदेशिक रोजगार व्यवस्थापन र स्वदेशमै सम्मानजनक रोजगारी सिर्जनालाई आगामी दिनमा थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।

राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान तथा अन्तर्गतका केन्द्रबाट विभिन्न क्षेत्रका २ हजार ६४ जनालाई सिप विकास तालिम प्रदान गरिएको मन्त्रालयको प्रगति विवरणमा उल्लेख छ ।

युवा क्षेत्रको नेतृत्वदायी निकायको रुपमा विकास गर्न र सोका कार्य प्रभावकारी बनाउन राष्ट्रिय युवा परिषद् ऐन, २०७२ को समसामयिक पुनरावलोकन गरी राष्ट्रिय युवा ऐन मस्यौदा तयार पारेको जनाएको छ । सामाजिक सुरक्षा कोषमा आबद्ध भएका श्रमिकलाई भौतिक पूँजी निर्माणको लागि योगदानकर्ता सापटी निर्देशिका संशोधन गरी घडेरी खरिद कर्जा थप गर्दै सापटीको सीमालाई १ करोड ५० लाख बनाइएको समेत कार्य प्रगति विवरणमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अविरल वर्षासँगै रोशी खोलामा पानीको सतह बढेपछि बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा सवारी आवागमन बन्द गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविन कार्कीका अनुसार आइतबार अपराह्न ३ बजेदेखि ठूलो वर्षापछि रोशी र दाप्चाखोलामा आएको बाढीले डाइभर्सन बगाएका कारण बीपी राजमार्गमा सवारी होल्ड गरिएको जानकारी दिए । उनका अनुसार बीपी राजमार्गको चौकीडाडा र घुमाउने खण्डमा क्षति ...
। गृहमन्त्री सुधन गुरुङको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अतिक्रमण हटाउन निर्देशन दिएका छन् । आइतबार स्वास्थ्य मन्त्री निशा मेहतासँगै अस्पताल पुगेका गृहमन्त्री गुरुङले करिब २ घण्टाको छलफल गरेका थिए । छलफलपछि प्रतिष्ठानको अतिक्रमण रहेको संरचना हटाउन निर्देशन दिएका हुन् । प्रतिष्ठान परिसरमा रहेको १० वटा आलिसान भवन निर्वाणा कन्ट्री क्लबले ५० वर्षका लागि ठेक्का ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि तत्काल र दीर्घकालीन दुवै उपाय अवलम्बन गरिने प्रतिबद्धता व्यक्त गरेकी छिन् । भरतपुर महानगरपालिका–२३, बेलहट्टामा शनिबार जङ्गली हात्तीको आक्रमणबाट आमा–छोरासँगको भेटमा घटनाप्रति दु:ख व्यक्त गर्दै उनले उक्त प्रतिबद्धता जनाएकी हुन् । राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा लामो समयदेखि चल्दै आएको मानव–वन्यजन्तु द्वन्द्वको स्थायी समाधानका लागि ...
। सर्बियन टेनिस स्टार नोभाक जोकोभिचले रोजर फेडेरेरको विम्बल्डन पुरुष एकलमा सर्वाधिक जितको कीर्तिमान तोड्दै प्रतियोगिताको क्‍वाटरफाइनलमा स्थान बनाएका छन् । सात पटकका विम्बल्डन च्याम्पियन जोकोभिचले आइतबार बेलुका भएको खेलमा रुसका रोमन साफुलिनलाई ३-१ को सेटमा पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेका हुन् । जोकोभिच ७-६(८-६), ६-३, ३-६ र ६-३ ले विजयी भए । यस जितसँगै उनले ...
। नेपाली कांग्रेसले आगामी १५ औं केन्द्रीय महाधिवेशनलाई प्रविधिमैत्री र कागजविहीन (पेपरलेस) बनाउने निर्णय गरेको छ। नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले निर्वाचन प्रक्रियामा प्रविधिको उच्चतम प्रयोग गर्दै ‘डिजिटलाइजेशन’ वा विद्युतीय भोटिङ मेसिन (ईभीएम) प्रविधिलाई प्राथमिकताका साथ अगाडि बढाउने निर्णय गरेको हो। पार्टी केन्द्रीय कार्यालयमा समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले महाधिवेशनलाई स्वच्छ ...