। धनकुटाको छथर जोरपाटी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ४६ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आइतबार सम्पन्न गाउँसभामा उपाध्यक्ष गीता गुरुङ खेवाद्धारा प्रस्तुत बजेटले कृषि, पशुपालन, पर्यटन, स्वास्थ्य र सामाजिक सुरक्षालाई मुख्य प्राथमिकतामा राखेको छ ।
गाउँपालिकाले ‘पशुपालन, सहकारी, उद्योग, उत्पादन वृद्धि, मूल्य अभिवृद्धि र बजार सुनिश्चितता, समृद्ध गाउँपालिकाको साझा प्रतिबद्धता’ भन्ने नारासहित उत्पादन वृद्धि र बजारीकरणलाई प्राथमिकतामा राखेको हो ।
स्थानीय किसानको उत्पादनलाई बजारसँग जोड्ने, सहकारीमार्फत उद्यमशीलता विस्तार गर्ने र कृषि तथा पशुपालनलाई आयआर्जनको भरपर्दो माध्यम बनाउने लक्ष्य बजेटमा समेटिएको छ ।
यस्तै पर्यटन क्षेत्रलाई पनि गाउँपालिकाले प्राथमिकतामा राखेको छ । ‘पर्यटन पूर्वाधारको विकास गरौँ, छथर जोरपाटी गाउँपालिकालाई चिनाऔँ’ भन्ने अभियानसहित पर्यटन गुरुयोजना तयार गरी कार्यान्वयन गर्ने योजना अघि सारिएको छ । प्राकृतिक, सांस्कृतिक र धार्मिक सम्पदाको संरक्षणसँगै पर्यटनलाई रोजगारी र आर्थिक गतिविधिसँग जोड्ने लक्ष्य लिइएको छ ।
स्वास्थ्य क्षेत्र पनि बजेटको अर्को प्राथमिकता बनेको छ । ‘म स्वस्थ, मेरो पालिका स्वस्थ, मेरो देश स्वस्थ’ भन्ने नारासहित पूर्ण खोप सेवा, पोषण कार्यक्रम, गर्भवती प्रोत्साहन भत्ता, मातृ–शिशु कल्याण, परिवार नियोजन तथा सुरक्षित प्रजनन स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । साथै स्वास्थ्य बिमाको शुल्कमा ५० प्रतिशत अनुदान र २४ घण्टे प्रसूति सेवालाई पनि निरन्तर सञ्चालन गरिने भएको छ ।
बजेटको सबैभन्दा फरक र आकर्षक कार्यक्रम भने ‘शिशु बचत–लखपति कार्यक्रम’ रहेको छ । गाउँपालिकाभित्र जन्मिने प्रत्येक शिशुको नाममा मुद्दती बचत खाता खोलेर कार्यविधिअनुसार रकम जम्मा गरिने भएको छ । शिशु १८ वर्ष पुगेपछि उक्त रकम निकाल्न सक्ने व्यवस्था गरिने गाउँपालिकाले जनाएको छ ।
बालबालिकाको सुरक्षित भविष्य र उच्च शिक्षालाई सहयोग पुर्याउने उद्देश्यले ल्याइएको यस कार्यक्रमका लागि ४ करोड १ लाख रुपैयाँ विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष गीता गुरुङ खेवाले जानकारी दिइन् ।
गाउँपालिकाले यसअघि असार ७ गते सार्वजनिक गरेको नीति तथा कार्यक्रमअनुसार कृषि, पर्यटन र पूर्वाधार विकासलाई नै बजेटमा पनि उच्च प्राथमिकता दिइएको गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बाले जानकारी दिए । सीमित स्रोतसाधनको अधिकतम उपयोग गर्दै दीर्घकालीन विकासका योजना कार्यान्वयन गरिने अध्यक्ष सुब्बाले बताए ।
चालु आर्थिक वर्ष २०८२/०८३ मा ४९ करोड ६० लाख ७० हजार रुपैयाँको बजेट ल्याएको गाउँपालिकाले यस वर्ष भने ३ करोड ६० लाख ७० हजार रुपैयाँ कम बजेट प्रस्तुत गरेको छ । बजेटको आकार घटे पनि उत्पादनमुखी, सामाजिक सुरक्षा र दिगो विकासका कार्यक्रमलाई निरन्तरता दिइएको अध्यक्ष सुब्बाको भनाइ छ ।
कृषि उत्पादनदेखि पर्यटन प्रवर्द्धन, स्वास्थ्य सेवादेखि नवजात शिशुको भविष्य सुरक्षित गर्ने योजनासम्म समेटिएको छथर जोरपाटीको यस वर्षको बजेटले विकासलाई पूर्वाधार निर्माणमा मात्र सीमित नराखी मानव विकास र आर्थिक सशक्तीकरणतर्फ केन्द्रित गर्ने योजनामा गाउँपालिका रहेको देखिने अध्यक्ष सुब्बाले बताए ।