मुख्य समाचार
काठमाडौंबाट विराटनगर विमानस्थल ओर्लिएका गृहमन्त्री सुधन गुरुङ मोरङ सुनसरीका जिल्लाका सम्या अनुगमन गर्दै पहाडी जिल्ला धनकुटासम्म उक्लिए
काठमाडौंबाट विराटनगर विमानस्थल ओर्लिएका गृहमन्त्री सुधन गुरुङ मोरङ सुनसरीका जिल्लाका सम्या अनुगमन गर्दै पहाडी जिल्ला धनकुटासम्म उक्लिए

। गत शनिबार बिहान काठमाडौंबाट विराटनगर विमानस्थल ओर्लिएका गृहमन्त्री सुधन गुरुङ मोरङ सुनसरीका जिल्लाका सम्या अनुगमन गर्दै पहाडी जिल्ला धनकुटासम्म उक्लिए ।

निरीक्षण, निर्देशन दिँदै आइतबार तराई नै झरेर उनी पूर्व झापातर्फ लागे । झापाका सीमा क्षेत्रसम्म पुगेका उनी सोमबार व्यस्त रहे ।

शनिबार, आइतबार र सोमबार तीन दिन कोशी प्रदेशका जिल्लाहरूमा घुमघाममा व्यस्त भएका गुरुङले त्यहाँ, के–के गरे ? उनी के योजनाले पूर्वी तराई झरेका हुन् ?

बहालवाला गृहमन्त्रीलाई देशका हरेक ठाउँका सूचना तथा समस्याबारे जानकारी लिन गाह्रो छैन । आफू मातहतका संयन्त्र परिचालन गर्दा एकै मिनेटमा उनको कुर्सीमा सूचना, समस्याको जानकारी आइपुग्छ ।


तर, अहिले गृहमन्त्री गुरुङ भने त्यसो नगरी आफैं फिल्ड भिजिटमा निस्केका छन् । कतिपयले यसलाई गृहमन्त्रीले अनावश्यक कदमको रूपमा लिएका छन् भने केहीले भने यसलाई सकारात्मक रूपमा लिएका छन् ।

वास्तवममा कुनै ठाउँ तथा क्षेत्रको समस्या बुझ्न गृहमन्त्री नै त्यहाँ पुग्नुपर्ने आवश्यकता होइन । तर अहिले गृहमन्त्री आफैं समस्याको जरा पहिल्याएर समाधान कसरी गर्न सकिन्छ भन्ने उद्देश्यले फिल्ड भिजिटमा निस्केको उनको सचिवालयको भनाइ छ ।

‘सूचना नआउने भन्ने होइन । तर आफैं स्वयं समस्याको अनुभव गरेर त्यसलाई कसरी सुधार गर्न सकिन्छ भन्ने सोचाइमा मन्त्रीज्यू हुनुहुन्छ’ गृहमन्त्रीको सचिवालयले भन्यो ।

त्यसका लागि गृहमन्त्री आफैं सीमा नाकादेखि प्रहरीको हिरासत, सीडीओ कार्यालयसम्म पुगेर निरीक्षण गर्दै निर्देशन दिँदै गरेको सार्वजनिक भिडियोमा देखिन्छ ।

गृहमन्त्री गुरुङले समस्या भएका स्थानमा सुधारका लागि निर्देशन दिने गरेका छन् । फिल्डमै गएर प्रत्यक्ष आफैंले अनुभव गरेर समस्याको जड पत्ता लगाउने अभियानमा गृहमन्त्री रहेको उनको सचिवालयले बताएको छ ।

यसका लागि उनी अहिलेसम्म मध्य तराईका बारा पर्सादेखि पूर्वी तराईका जिल्लाहरुमा पुगेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा चितवन गएका बेला त्यहाँबाट सुटुक्क बारा, पर्सा पुगेका थिए ।

बारा र पर्सा सीमानाकाहरूका स्थानीयवासीसँग कुराकानी गर्दै सीमा नाका र त्यस ठाउँहरूबाट हुने अवैध भन्सार छली तथा तस्करीबारे बुझ्ने काम गरेका थिए ।

भारतसँग सीमा जोडिएका तराईका जिल्लाहरूबाट भन्सार छली तथा तस्करी हुने गरेको विषयहरू बारम्बार सार्वजनिक हुँदै आएका छन् । अझ विशेषगरी मधेश प्रदेशका जिल्लाहरूबाट तस्करी हुने गरेको गुनासो आउने गरेको छ । उनले त्यतिबेला अन्डरकभर रूपमा छड्के जाँच गरेका थिए ।



अहिले भने उनी पूर्वी तराईमा छन् । शनिबार गृहमन्त्री गुरुङले जिल्ला प्रशासन कार्यालय मोरङ, विराटनगरको रानी सीमा नाका, विराटनगर भन्सार कार्यालय, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको स्थलगत निरीक्षण गरे ।

सेवाग्राहीको सहजताका लागि भौतिक पूर्वाधार मात्र नभई वातावरण मैत्री संरचनामा बनाउनुपर्ने उनको भनाइ छ ।

भारतबाट विराटनगर प्रवेश गर्ने मुख्यमार्ग रानीस्थित जोगवनी सीमा नाकामा पुगेका थिए । रानी नाकाको सुरक्षा व्यवस्था, आवतजावत, निगरानी प्रणालीको अवलोकन गरेका थिए ।

आज सोमबार उनी झापा पुगेका छन् । सीमावर्ती क्षेत्रका स्थानीयको समस्या बुझ्दै उनले जंगली हात्ती प्रभावित क्षेत्रमा समेत अवलोकन गरेका थिए ।

झापाका सुरक्षा अधिकारीका अनुसार झापामा सीमा व्यवस्थापन, तस्कर नियन्त्रण, लागुऔषध ओसारपसार र विपद् व्यवस्थापनमा जोड दिएका छन् ।

जेनजी आन्दोलनका घाइतेलाई पनि झापामा उनले भेटेका छन् । काँकडभिट्टा नाकामा पुगेर उनले सीमा नाकाको सुरक्षा, मेची भन्सारको निरीक्षण गरेका छन् ।



झापाको जोरसिमलमा रहेको पोस्टमा सुरक्षाकर्मीहरू आधारभूत सुविधाविहीन अवस्थामै बसेको पाएपछि मन्त्री गुरुङले त्यसलाई हटाउन निर्देशन समेत दिएका छन् । जोरसिमलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त पोस्ट रहेको छ । सुरक्षाकर्मीहरू जस्ताको टहरोमा बसेका छन् ।

यसरी मन्त्री आफैं फिल्डमा गएर समस्या बुझ्ने कामलाई सकारात्मक रुपमा लिनुपर्ने पूर्वगृहसचिव चण्डिप्रसाद श्रेष्ठको बुझाइ छ ।

‘मन्त्री, सचिव आफैं जनताकोमा गएर समस्या बुझ्ने काम निकै स्रहानीय छ । आफैं फिल्डमा गएपछि वास्तविक समस्या पनि पहिचान हुन्छ । तर फिल्डमा पुगेपछि हुकुमी शैलीमा कर्मचारी, सुरक्षाकर्मीलाई निर्देशन दिनु चाहिँ राम्रो होइन । तत्कालै यसो गर, उसो गर भन्नुभन्दा पनि ड्यु प्रोसेसमा कानुनअनुसार कार्ययोजना बनाएर सुधार गर्दै लैजानुपर्छ’ श्रेष्ठले अनलाइनखबरसँग भने ।



मुख्य ३ विषयमा केन्द्रित

कोशी प्रदेशका जिल्लाहरूको निरीक्षणमा रहेका गृहमन्त्री गुरुङ अहिले विशेषगरी तीन विषयमा केन्द्रीत भएका छन् । उनले निरीक्षण गरेका जिल्लाहरूमा गएर दिएको निर्देशनअनुसार सीमा सुरक्षा, भन्सार छली तथा तस्करी र विपद् व्यवस्थापनमा केन्द्रीत देखिन्छ ।

सीमा सुरक्षाका लागि के गर्न सकिन्छ, त्यस क्षेत्रको समस्या के हो भन्दै उनले बुझ्ने गरेका छन् । अहिले झापाको काँकडभिट्टा नाकामा पुगेर पनि उनले यसबारे सुरक्षा निकायबाट ब्रिफिङ लिनेदेखि स्थानीयसँग समस्याबारे बुझ्ने काम गरिरेका छन् ।

सीमा सुरक्षासँगै सीमा क्षेत्रमा हुने विशेषगरी लागुऔषध ओसारपसार र भन्सार छलीको विषयमा पनि गृहमन्त्री गुरुङ केन्द्रित भएको देखिन्छ । उनी मोरङको रानी भन्सार पुग्दा त्यहाँका केही स्थानीयले गृहमन्त्रीज्यू ढाट खोल्दिनु पर्‍यो भन्दै माग गरेको समेत सुनिथ्यो ।

तर यसबारे उनले केही प्रतिक्रिया दिएनन् । भन्सार छलेर सामान ल्याउने र राजस्व चुहावट हुने घटनालाई नियन्त्रण गर्न उनले विशेष चासो राखेका छन् । यसबारे गृहमन्त्री गुरुङले सशस्त्र प्रहरीका आईजीपी नारायणदत्त पौडेललाई समेत निर्देशन दिएका थिए ।

सशस्त्रले सीमा क्षेत्रका सुरक्षाकर्मीको संख्या नै कमी भएकोले तस्करी नियन्त्रणमा समस्या हुने गरेको बताएको थियो । त्यसपछि पहाडी जिल्लामा रहेका सशस्त्र प्रहरीलाई तराईका सीमा नाकामा समेत खटाइएको थियो ।

पहिलाको तुलनामा अहिले सीमा क्षेत्रमा कडाई भएकै कारण रानी भन्सार पुग्दा केही स्थानीयले गृहमन्त्री गुरुङलाई ढाट खोलिदिन माग गरेका थिए ।

गृहमन्त्री गुरुङले तेस्रो केन्द्रमा राखेर निर्देशन दिने गरेको विषय विपद् व्यवस्थापन तथा उद्दार हो । गृहमन्त्री गुरुङ आफैं पनि विपद् उद्दारबारे राम्रो ज्ञान भएका व्यक्ति हुन् । २०७२ को भूकम्पमा उनी आफैं उद्दारमा खटिएका थिए ।

अहिले बर्खाको मौसम भएको बाढी तथा डुबानको समस्या हुने भन्दै विपद् उद्दारलाई विशेष केन्द्रमा राखेर काम गर्न उनले निर्देशन दिने गरेका छन् ।

सीमा क्षेत्रको अनुगमनपछि के सुधार गर्न सकिन्छ ? कसरी व्यवस्थित गर्ने ? भन्ने कार्ययोजना नै बनाएर कार्यान्वयनमा लैजाने तयारी गृह मन्त्रालयको छ । अहिले सशस्त्र प्रहरीले सीमा क्षेत्रमा सादा पोशाकमा बोर्डर इन्टर्‍याक्सन टिम (बीआईटी) खटाउने तयारी अघि बढाएको छ ।



सुरुमा मुख्य सीमा नाकाहरूमा बीआईटी परिचालन गरिने र विस्तारै यसलाई बढाउने नीति सशस्त्र प्रहरीले लिएको छ । बीआईटी टिम नागरिक तथा काउन्टरपार्टसँग समेत समन्वय गरेर काम गर्ने बताइएको छ ।

यो टिमले सीमा क्षेत्रमा हुने अपराधदेखि राजस्व चुहावट नियन्त्रणमा पनि सहयोगी भूमिका खेल्ने बताइएको छ । यो योजना पनि गृहकै निर्देशनमा बनेको हो ।

गृहमन्त्री गुरुङको फिल्ड अनुगमनपछि थप कार्ययोजना बनाएर कार्यान्वयन गर्ने तयारी गृहको छ ।

गृहमन्त्री गुरुङका प्रमुख स्वकीय सचिव जेम्स कार्की पनि समस्या पहिचान गरेपछि त्यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने उद्देश्यमा गृहमन्त्री रहेको बताउँछन् ।

‘काम गर्नुपर्ने धेरै छ । समय छोटो । शनिबार आइतबार सार्वजनिक बिदा पनि भयो । अहिले मन्त्रालयमा त्यति चाप पनि नभएकाले मन्त्रालयबाट गएको निर्देशन कत्तिको पालना भएको छ । त्यहाँको समस्या के छ ? स्थानीय जनताको अपेक्षा, समस्या के छन ? सीमामा हुने तस्करी तथा अवैध गतिविधिको अवस्था र केही विषयहरूमा क्रस भेरिफाइ समेत गर्ने उद्देश्यले मन्त्रीज्यू आफैं फिल्ड भिजिटमा निस्कनु भएको हो’ कार्कीले अनलाइनखबरसँग भने ।

फिल्ड भिजिटमा गएर आएपछि समस्याको पहिचान गर्न केही योजना बनाएर कार्यान्वयन गरिने उनले बताए । ‘समस्या तथा गुनासो बुझेर आएपछि त्यसलाई सम्बोधन गर्नेगरी काम हुन्छ’ उनी भन्छन् ।



बोल्ने भन्दा सुन्ने बढी

गृहमन्त्री गुरुङले जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय मोरङ, रानी भन्सार कार्यालय, सुनसरी जिल्लाका विभिन्न ठाउँहरू, बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान, धनकुटा जिल्लाका विभिन्न क्षेत्रहहरू र अहिले झापा जिल्लाको अनुगमन, निरीक्षण गरिरहेका छन् ।

यो क्रममा उनी बोल्ने भन्दा पनि बढी सुन्नेतिर केन्द्रित भएको देखिएको छ । स्थानीय नागरिकका समस्या सुन्ने, स्थानीय प्रहरी, सीडीओ तथा कर्मचारीका कुरा बढी सुन्नेमा उनी केन्द्रित भएको एक कर्मचारी बताउँछन् ।

‘पहिला निकै एग्रेसिभ हुनुहुन्छ । तुरुन्तै एक्सन लिई हाल्नुहुन्छ भन्ने सुनेका थियौं । अहिले उहाँ बोल्ने भन्दा पनि हाम्रा कुरा बढी सुन्नुभए जस्तो लाग्छ । कुरा सुनिसकेपछि अन्तिममा केही निर्देशन दिएर उहाँ जानुहुन्छ’ ती कर्मचारीले गृहमन्त्रीको शैलीबारे अनलाइनखबरलाई जानकारी गराए ।

जिल्ला प्रशासन कार्यालय मोरङको निरीक्षण गरेपछि गृहमन्त्रीले निर्देशन दिए, ‘सेवाग्राही होइन, अब फाइल बोकेर कर्मचारी कुद्नु पर्‍यो । काम सकिएपछि ल्याएर फाइल दिनुपर्‍यो ।’

विभिन्न कार्यालयहरू निरीक्षण गरेपछि सेवा प्रवाह छिटो र जनताले कसरी सरल तरिकाले पाउन सक्छन् त्यसको समस्या पहिचान गर्दै सुधार गर्न पनि गृहमन्त्री गुरुङले निर्देशन गरेका छन् ।

त्यसो त हरेक ठाउँ जाँदा युट्युबर तथा मिडियाकर्मीबाट घेरिएका गुरुङलाई अनेक प्रश्न सोधिएको सार्वजनिक भिडियोमा देखिन्छ । तर उनी पहिला जस्तो उत्तेजित नभई संयम भएर थोरै मात्रै बोल्ने गरेको देखिन्छ । जनतासँग घुलमिल हुँदै, संयमित हुँदै निरीक्षण हिँडेको देखिन्छ । कतिपय ठाउँमा आफ्नो समर्थनमा हुटिङ लाग्दा पनि उनी उत्तेजित नभई संयमित भएका छन् ।



कसरी मिलाइएको छ सुरक्षा ?

गृहमन्त्री गुरुङले अहिले नेपाल–भारत सीमा नाकादेखि भन्सार क्षेत्रको समेत अनुगमन गरिरहेका छन् । सामान्य नागरिककै जसरी नै घुमघाम गर्दै निरीक्षण गरिहरेको भिडियो तथा तस्वीरहरूमा पनि देख्न सकिन्छ ।

सामान्य रूपमा यसरी घुमघाम गर्दा उनीमाथि सुरक्षा थ्रेट हुनसक्ने जोखिम पनि उत्तिकै हुन्छ ।

भर्खरै आन्दोलनको उदाएका नेता र त्यसमाथि पनि अझ सीमा क्षेत्रको निरीक्षणमा जानु सुरक्षाका हिसाबले संवेदनशील मानिन्छ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था भने मिलाइएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा डीआईजी विनोद घिमिरे बताउँछन् ।



‘सुरक्षा थ्रेट हामीले पनि विश्लेषण गरेका छौं । सोही अनुसार सुरक्षाकर्मीलाई हामीले परिचालन गरेका छौं । अझ गृहमन्त्रीज्यू जहाँ जानुहुन्छ, त्यस जिल्लाको सीडीओसाब पनि अहिले सँगैसँगै हुनुहुन्छ’ डीआईजी घिमिरे भन्छन् ।

गृहमन्त्रीको पीएसओ (पर्सनल सेक्युरेटी अफिसर)देखि प्रहरी, सशस्त्र प्रहरीको टोलीले सुरक्षाको काम गरिरहेको छ । गृहमन्त्री बस्ने होटलदेखि उनी निरीक्षणमा जाने सबै ठाउँहरूमा सुरक्षाकर्मी सँगसँगै खटाइएको छ ।

यसअघि बारा, पर्साको निरीक्षणमा जाँदा भने गृहमन्त्री गुरुङ सुरक्षाकर्मी बिनै एकलै हिँड्दै स्थानीयसँग भलाकुसारी गरेका थिए । त्यतिबेला उनले सुरक्षाकर्मीलाई नआउन पनि निर्देशन दिएका थिए ।

सम्भव भएका ठाउँहरूमा सीसीक्यामेराको सहयोगबाट र निजकको प्रहरी चौकीसँग बुझ्ने काम गर्दै सुरक्षा व्यवस्था मिलाइएको थियो । यसरी हिँड्दा सुरक्षा खतरा हुनसक्ने भन्दै सुरक्षा निकायलाई सुझाए पछि अहिले कोशीको भ्रमणका रहेका गृहमन्त्री गुरुङ भने सुरक्षाकर्मीको साथसाथै हिँड्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आफूमाथि दुर्व्यवहार गर्नेको भिडियो सार्वजनिक गर्ने महिलालाई गृहमन्त्री सुधन गुरुङले साहसी महिला भन्दै सम्मान दर्शाएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत गुरुङले दुर्व्यवहारसम्बन्धी भिडियोप्रति गृहमन्त्रालयको ध्यानाकर्षण भएको र उक्त व्यक्तिलाई पक्राउ गरिसकिएको जानकारी दिएका छन् । पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका–७ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–२ इमाडोल बस्ने ५५ वर्षीय सुरेन्द्र भट्ट रहेका छन्। ललितपुर जिल्ला ...
। सरकारले उद्योगी तथा व्यवसायीलाई तत्कालै बजार भाउ घटाउन निर्देशन दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले निजी क्षेत्रका विभिन्न छाता संगठनका प्रतिनिधिलाई बोलाएर तत्काल बजार भाउ घटाउन निर्देशन दिएकी हुन् । मन्त्रालयमा भएको छलफलमा मन्त्री यादवले विश्व बजारमा तेलको मूल्य घटिसकेकाले नेपालमा पनि सोही अनुपातमा बजार मूल्य निर्धारण हुनुपर्ने बताइन् । बैठकमा नेपाल ...
। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संविधान संशोधन गर्ने बहस हुनुलाई अन्यथा लिन नसकिने बताएका छन् । तर, संविधानका मुलभुत विषय चलाउन खोजिए त्यसले सही गन्तव्य पहिल्याउन नसकिने उनको आग्रह छ । ‘यो संविधानलाई संशोधन गर्नुपर्छ भन्ने हिसावले जुन खालको कुराकानी भइराखेको छ । यसबारे हामीलाई जानकारी प्राप्त छ’ उनी भन्छन्, ‘संघीयता, समावेशी र धर्मनिरपेक्षता ...
। विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिदमा पूर्वसञ्चारमन्त्री एवम् कांग्रेस नेता मोहनबहादुर बस्नेतलाई सफाइ दिएको छ । न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बस्नेतलाई सफाइ दिए पनि अरु केही आरोपितहरूलाई दोषी ठहर गरेको छ । विशेष अदालतले अरु आरोपितहरू प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झा, सदस्यहरू धनराज ज्ञवाली र टीका उप्रेतीलाई दोषी ठहर ...
। ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधन सञ्चालकलाई आफ्नो रुट परमिट बाहिर सवारी साधन नचलाउन सूचित गरेको छ । महानगरीय ट्राफिक प्रहरी डिभिजनले सोमबार एक सूचना जारी गर्दै सार्वजनिक सवारी साधनले स्वीकृत रुट परमिट भन्दा बाहिर सञ्चालन गर्ने, तोकिएको मार्ग तथा गन्तव्यको पालना नगर्ने, रुट परमिट प्राप्त सवारी साधन अन्य प्रयोजनमा प्रयोग हुँदा नियमित यात्रुले समयमा सार्वजनिक ...