। गृहमन्त्री सुधन गुरुङले सुकुमवासी व्यवस्थापनमा कमजोरी भएको भए सुधारेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् ।
राष्ट्रिय सभामा बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।
नेपाली कम्युनिस्ट पार्टीकी सांसद रेणु चन्दले महिलाको विषयमा संवेदनशिल रहेको गृहमन्त्रीको विगतको अभिव्यक्ति रहेको स्मरण गराइन् ।
आफू महिलाको सन्दर्भमा माइती भएको भन्ने गृहमन्त्री सुकुम्बासी विस्थापनपछि बिचल्लीमा परेका महिलाको हकमा गृहमन्त्रालयको ढोका खुला छ वा छैन भनेर सोधिन् ।
‘गृहमन्त्री ज्यूले महिलाहरुलाई विशेष गरी आफ्नो मन्त्रालय र आफूलाई माइती ठान्ने भन्नुभएको छ । सुकुम्बासी महिलाहरुलाई सरकारले बीचबाट छोडिदिएका छन् । माइतीका घरका ढोका खुल्ला छन् कि छैनन् ?’ सांसद चन्दले सोधेकी छन् ।
जवाफमा गृहमन्त्री गुरुङले भने, ‘गृहमन्त्रालय अहिले सम्म मेरो विचारमा माइती नै भइरहेको जस्तो लाग्छ । पहिला जस्तो गृहमन्त्रालय हरेक नागरिकको लागि ढोका थुनेको अवस्था चाहिँ अहिले छैन । हरेक महिलाको आवाज सुनिएको छ, हामी आफै पनि फिल्डमा उत्रेका छौं ।’
महिलाको विषयमा कुनै पनि इस्वु आउँदा संवेदनशील भएर काम गरिरहेको भन्दै उनले थपे, ‘यसमा सुकुम्बासीको मात्र हैन, हरेक महिलाको कुरा गरौँ । हरेक महिलाको लागि हाम्रो गृहमन्त्रालयको ढोका खुल्लै छ ।’
यहाँनेर उनले सुकुम्बासी व्यवस्थापनमा कमजोरी भएको भए सुधारेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका हुन् ।
उनले भनेका छन्, ‘सुकुम्बासीको हकमा पनि हामी एकदम सिरियसली लाग्छौं भनेका छौँ, लागि पनि रहेका छौँ । कति कुराहरु, छुटपुट कुरा भएको छ, कमी कमजोरी भएको छ भने त्यसलाई पनि हामी सुधार्दै अगाडि बढ्नेछु ।’