मुख्य समाचार
हर्मुज जलडमरूमध्यमा व्यावसायिक ट्यांकरमाथि भएको आक्रमणपछि अमेरिकाले इरानमा हवाई हमला
हर्मुज जलडमरूमध्यमा व्यावसायिक ट्यांकरमाथि भएको आक्रमणपछि अमेरिकाले इरानमा हवाई हमला

: हर्मुज जलडमरूमध्यमा व्यावसायिक ट्यांकरमाथि भएको आक्रमणपछि अमेरिकाले इरानमा हवाई हमला गरेको जनाएको छ। अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले मंगलबार राति अन्तर्राष्ट्रिय जलमार्गमा निर्दोष नागरिकले सञ्चालन गरिरहेका व्यावसायिक जहाजमाथिको आक्रमणको जवाफी सैन्य कारबाही सुरु गरिएको जनाएको हो।

सेन्टकमले इरानले गरेको आक्रमणलाई अनुचित, खतरनाक तथा युद्धविरामको स्पष्ट उल्लंघन भएको दाबी गरेको छ। व्यावसायिक जहाजलाई निशाना बनाउने कार्यको मूल्य इरानले चुकाउनुपर्ने पनि अमेरिकाले चेतावनी दिएको छ।

इरानका उपविदेशमन्त्रीले भने अमेरिकी आक्रमणलाई गत महिना अमेरिका र इरानबीच भएको समझदारीको उल्लंघन भएको बताएका छन्। उनले तेहरानले आफ्नो राष्ट्रिय हित र सुरक्षाको रक्षा गर्न आवश्यक र निर्णायक कदम चाल्ने चेतावनी दिएका छन्।

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार अमेरिकी आक्रमण किश्म टापु, बन्दर अब्बास र सिरिक क्षेत्रमा भएको छ। सैन्य कारबाहीअघि अमेरिकाले मंगलबार इरानमाथिको तेल प्रतिबन्ध अस्थायी रूपमा खुकुलो बनाउने अनुमति (वेभर) पनि रद्द गरेको थियो। उक्त अनुमति गत महिना भएको अमेरिका–इरान समझदारीअन्तर्गत इरानलाई तेल तथा पेट्रोलियम पदार्थ बिक्री गर्न दिइएको थियो।

इरानको विदेश मन्त्रालयले अमेरिकाको उक्त निर्णयलाई समझदारीको उल्लंघन भएको भन्दै वाशिङ्टनको ‘खराब नियत, असंगत नीति र अविश्वसनीय व्यवहार’ को प्रमाण भएको प्रतिक्रिया दिएको छ।

यसैबीच अमेरिका, कतार र साउदी अरेबियाले इरानमाथि ट्यांकर आक्रमणको आरोप लगाएका छन्। इरानले आरोप अस्वीकार गरेको छ। कतारले ‘अल–रेकय्यात’ नामक जहाज र साउदी अरेबियाले ‘वदयान’ नामक तेल ट्यांकर हर्मुज जलडमरूमध्य पार गर्ने क्रममा निशानामा परेको जनाएको छ।

कतारले इरानलाई क्षेत्रीय सुरक्षामा असर पार्ने गतिविधि तत्काल रोक्न र विश्व ऊर्जा आपूर्तिलाई जोखिममा नपार्न आग्रह गरेको छ। यता इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाइले कतारको आरोपलाई ‘असल छिमेकी सम्बन्धको सिद्धान्तविपरीत’ भएको बताए। उनका अनुसार इरानसँग समन्वय नगरी सञ्चालन गरिएका वा जहाजको ट्र्याकिङ प्रणालीमा हस्तक्षेप गरिएका व्यावसायिक जहाजहरू दुर्घटनाको जोखिममा पर्न सक्छन्।

बेलायतको यूके म्यारिटाइम ट्रेड अपरेसन्स (यूकेएमटीओ) का अनुसार सोमबार एउटा तेल ट्यांकरको इन्जिन कोठामा अज्ञात प्रक्षेप्य लागेपछि आगलागी भएको थियो। मंगलबार भएका दुई छुट्टाछुट्टै घटनामा एउटा ट्यांकर प्रहारमा परे पनि सुरक्षित रूपमा गन्तव्यतर्फ अघि बढ्न सफल भएको र अर्को ट्यांकरमा सामान्य संरचनात्मक क्षति पुगेको जनाएको छ।

गत महिना अमेरिका र इरानबीच भएको १४ बुँदे समझदारीले दुवै देशबीचको युद्धविरामलाई निरन्तरता दिएको थियो। त्यसमा सबै मोर्चामा द्वन्द्व अन्त्य गर्ने, इरानले कहिल्यै आणविक हतियार विकास नगर्ने तथा इरानको पुनर्निर्माण र आर्थिक विकासका लागि ३०० अर्ब अमेरिकी डलरको कोष स्थापना गर्ने प्रस्ताव गरिएको थियो। यस घटनापछि मध्यपूर्वमा फेरि तनाव चुलिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...
। भारतले एकतर्फी र अवैध रूपमा स्थापना गरेको भनिएको तथाकथित ‘केन्द्र शासित प्रदेश लद्दाख’ लाई चीनले कहिल्यै मान्यता नदिएको बताएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निंगले मंगलबार भारतले लद्दाखका केही स्थानहरूको मानक नाम घोषणा गरेको विषयमा कडा आपत्ति जनाउएकी छिन् । निंगको अनुसार, भारतको गृह मन्त्रालयले विवादित सीमा क्षेत्र र चीनको वास्तविक नियन्त्रणमा रहेका केही ...
साउदी अरबियाको नेतृत्वमा रहेको गठबन्धनले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा विशेष सैन्य कारबाही गर्ने तयारी गरेको छ । गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले उक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै उक्त क्षेत्रमा विशेष सैन्य कारबाही सञ्चालन गर्न यस्तो कदम आवश्यक रहेको बताएका ...