मुख्य समाचार
अमेरिकाले होर्मुज स्ट्रेट हुँदै गइरहेका तीनवटा व्यावसायिक जहाजहरूमा भएको आक्रमणको जवाफमा इरानमाथि शृङ्खलाबद्ध र शक्तिशाली हवाई हमला
अमेरिकाले होर्मुज स्ट्रेट हुँदै गइरहेका तीनवटा व्यावसायिक जहाजहरूमा भएको आक्रमणको जवाफमा इरानमाथि शृङ्खलाबद्ध र शक्तिशाली हवाई हमला

। अमेरिकाले होर्मुज स्ट्रेट हुँदै गइरहेका तीनवटा व्यावसायिक जहाजहरूमा भएको आक्रमणको जवाफमा इरानमाथि शृङ्खलाबद्ध र शक्तिशाली हवाई हमला गरेको छ। अमेरिकी आक्रमणबाट कैयौँ मानिस घाइते भएको खबर छ, यद्यपि हालसम्म कुनै मानवीय क्षतिको पुष्टि भएको छैन।

युएस सेन्टकमले मङ्गलबार राति जारी गरेको जानकारीअनुसार अन्तर्राष्ट्रिय जलमार्गमा निर्दोष चालक दल रहेका व्यावसायिक जहाजहरूलाई निसाना बनाइएपछि यसको रक्षा र इरानलाई जवाफदेही बनाउन यो सैन्य कारबाही सुरु गरिएको हो।

अमेरिकाले इरानका ८० भन्दा बढी लक्ष्यहरूमा सटिक हतियार प्रहार गरेको छ। जसमा हवाई रक्षा प्रणाली, कमान्ड एन्ड कन्ट्रोल नेटवर्क, तटीय राडार, एन्टी-सिप क्षेप्यास्त्र प्रणाली र ६० भन्दा बढी आईआरजीसीका साना डुङ्गाहरू सामेल छन्।

इरानी सरकारी मिडियाका अनुसार दक्षिणी इरानका केश्म टापु, बन्दर अब्बास, खार्ग टापु र सिरिक बन्दरगाह जस्ता रणनीतिक स्थानहरूमा विस्फोट भएका छन्।

अमेरिकाका अनुसार मङ्गलबार इरानले मार्सल आइल्यान्डको झन्डा भएको एम/टी अल रकैयात, साउदी अरबको एम/टी वेड्यान र लाइबेरियाको एम/टी साइप्रस प्रोस्पेरिटीमाथि आक्रमण गरेको थियो। यद्यपि इरानले यसको पुष्टि वा खण्डन गरेको छैन।

इरानको चेतावनी : ‘विनाशकारी जवाफ दिनेछौं’

इरानको खताम-अल-अन्बिया केन्द्रीय सैन्य मुख्यालयले अमेरिकी आक्रमणलाई ‘खुला अतिक्रमण’ भन्दै कडा निन्दा गरेको छ र इरानी सेनाले यसको ‘विनाशकारी जवाफ’ दिने चेतावनी दिएको छ।

इरानी सेनाले होर्मुज स्ट्रेटमा कुनै पनि बाहिरी हस्तक्षेप स्वीकार्य नहुने र इरानले तोकेको मार्ग मात्र व्यावसायिक जहाजका लागि सुरक्षित रहेको स्पष्ट पारेको छ।

इरानका शीर्ष वार्ताकार तथा संसदका सभामुख मोहम्मद बाकर गालिबाफले सामाजिक सञ्जाल एक्समा लेख्दै भनेका छन्, ‘धम्की र जबर्जस्तीको युग समाप्त भइसकेको छ। यसले कतै पुर्‍याउँदैन, हामी झुक्ने छैनौँ।’

उनले अमेरिकाले सम्झौताको गम्भीर उल्लङ्घन गरेको आरोप लगाएका छन्।

यस्तै, इरानको सरकारी टेलिभिजन (आईआरआईबी) ले धेरैजसो अमेरिकी आक्रमणले ‘नागरिक क्षेत्र’ लाई निसाना बनाएको दाबी गरेको छ। सिरिक व्यावसायिक घाटमा खसेको छर्रा लागेर कैयौँ मानिस घाइते भएका छन्।

तेल प्रतिबन्ध पुनः लागू, बजारमा कच्चा तेलको मूल्य बढ्यो

पछिल्लो तनाबसँगै अमेरिकाले इरानी तेल निर्यातमा दिइएको अस्थायी छुट फिर्ता लिएको छ। अमेरिकी अधिकारीहरूका अनुसार यी प्रतिबन्धहरू आउँदो जुलाई १७ देखि पूर्ण रूपमा लागू हुनेछन्।

अमेरिका-इरान तनाव र जलसन्धिमा भएको आक्रमणको प्रत्यक्ष असर विश्व बजारमा देखिएको छ। समाचार संस्था रोयटर्सका अनुसार अमेरिकी क्रुड फ्युचर्स (कच्चा तेल) को मूल्य २.७ प्रतिशतले बढेर प्रति ब्यारेल ७२.४० डलर पुगेको छ। लगानीकर्ताहरूले बढ्दो मुद्रास्फीति र ब्याजदरको सम्भावनालाई आकलन गर्न थालेका छन्।

इरानका उप-विदेशमन्त्री काजेम गरिबाबादीले अमेरिकी कदमलाई हालै तेहरान र वासिङ्टनबीच भएको इस्लामाबाद सम्झौताको धारा १, २ र १० को ठाडो उल्लङ्घन भएको बताएका छन्। उनले राष्ट्रिय हित र सुरक्षाको रक्षा गर्न इरानले निर्णायक कदम चाल्ने चेतावनी दिए।

बहराइनमा साइरन

आक्रमणको खबर सार्वजनिक भएसँगै छिमेकी राष्ट्र बहराइनमा हवाई आक्रमणको साइरन बजाइएको छ। त्यहाँको गृह मन्त्रालयले नागरिकहरूलाई शान्त रहन र सुरक्षित स्थानमा जान आग्रह गरेको छ।

विश्लेषकहरूका अनुसार अमेरिका र इरानबीचको पछिल्लो समझदारी पत्र एउटा अस्थायी युद्धविराम मात्र थियो, विस्तृत राजनीतिक समाधान नभएसम्म यस्ता झडपहरूले सम्पूर्ण मध्यपूर्व क्षेत्रलाई नै पुनः युद्धमा धकेल्न सक्ने जोखिम बढाएको छ।

कतारद्वारा इरानी आक्रमणको निन्दा

कतारले होर्मुजमा आफ्नो जहाजमाथि भएको आक्रमणको निन्दा गर्दै यसका लागि इरानलाई कानुनी रूपमै जिम्मेवार ठहराएको छ। कतारले इरानी आक्रमणलाई अन्तर्राष्ट्रिय समुद्री सुरक्षाका लागि खतरा भनेको छ।

इरानको अडान- धम्कीका बीच अमेरिकासँग वार्ता हुँदैन

इरानी विदेशमन्त्री अब्बास अराघचीले धम्कीको माहोलमा अमेरिकासँग कुनै सम्झौता नहुने स्पष्ट पारेका छन्। उनले अमेरिकाले पहिले आफ्ना पुराना सम्झौताहरूको सम्मान गर्नुपर्ने सर्त राखेका छन्।

खामेनीको अन्त्येष्टि पनि सँगसँगै

तेहरानपछि लगातार दोस्रो दिन कोम सहरमा पनि खामेनीको अन्तिम यात्रामा लाखौँ मानिस सहभागी भए। धेरैले ताबुतमा ‘बदला’ को प्रतीक रातो कपडा चढाएका थिए। मङ्गलबार राति खामेनीको पार्थिव शरीरलाई विशेष विमानमार्फत इराकको नजफ सहर पुर्‍याइएको छ, जहाँ बुधबार उनको अन्तिम यात्रा निकालिनेछ।

अन्त्येष्टि (सुपुर्द-ए-खाक) भने ९ जुलाईमा इरानकै मशहदमा हुनेछ।

यसैबीच, इरानका राष्ट्रपति मसुद पेजेस्कियन, जो खामेनीको अन्त्येष्टिका लागि इराकको नजफ पुगेका थिए, अमेरिकी एयरस्ट्राइकलगतै तेहरान फर्किएका छन्।

(एजेन्सीहरूको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाका सुरक्षा निकायहरूले देशभरका पानी आपूर्ति तथा फोहोरपानी व्यवस्थापन प्रणालीलाई लक्षित गर्दै साइबर आक्रमण बढिरहेको चेतावनी दिएका छन् । आक्रमणकारीहरूले कृत्रिम बुद्धिमत्ता (एआई) को सहायतामा कमजोर सुरक्षा भएका औद्योगिक उपकरण पहिचान गरी हमला गरिरहेको अमेरिकी अधिकारीहरूको भनाइ छ । अमेरिकी साइबर सुरक्षा एजेन्सी सीआईएसए, संघीय अनुसन्धान ब्युरो एफबीआई र राष्ट्रिय सुरक्षा एजेन्सी एनएसएसहितका निकायले ...
। अमेरिकाको पश्चिमी अलास्कामा चार्टर विमान दुर्घटनामा परेको छ । एन्कोरेजबाट उडान भरेको विमान केप न्युएनहमनजिकै दुर्घटनामा परेको हो । संघीय अधिकारीको हवाला दिँदै समाचार एजेन्सी एपीले आठ जना सवार चार्टर विमान दुर्गम क्षेत्रमा रहेको राडार साइटनजिकै दुर्घटनामा परेको बताएको छ । नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड (एनटीएसबी) का अलास्का क्षेत्र प्रमुख क्लिन्ट जोन्सनका अनुसार विमानमा दुई पाइलट र ...
। इरानका विदेशमन्त्री अब्बास अरागचीले अमेरिकाले इरानविरुद्ध घोषणा गरेको तथाकथित ‘इकोनोमिक डी-डे’ को कडा आलोचना गरेका छन्। अमेरिकाको यो कदम आफ्नो आर्थिक समस्याबाट ध्यान हटाउने प्रयास भएको उनले बताएका छन्। अरागचीले सामाजिक सञ्जाल एक्समा अमेरिकाको ‘इकोनोमिक डी-डे’ आफ्नै आर्थिक संकट लुकाउने तरिका भएको लेखेका छन्। बुधबार साँझ अमेरिकी राष्ट्रपति ट्रम्पले इरानविरुद्ध ‘इकोनोमिक डी-डे’ सुरु गरेको घोषणा ...
। अमेरिकी सेनाले होर्मुजको जलमार्गमा गोप्य रूपमा एउटा जलमार्ग करिडोर स्थापना गरेको छ। यो करिडोरमार्फत दैनिक लाखौँ ब्यारेल कच्चा तेल ओसारपसार भइरहेको छ। व्यापक युद्ध गतिरोधमै रहेका बेला अमेरिकी सेनाले यो महत्त्वपूर्ण सफलता हासिल गरेको हो। अमेरिकी अधिकारीहरूले एक्सियोसलाई यो जानकारी दिएका हुन्। यो अपरेसन विगत केही हप्तादेखि सञ्चालनमा छ। ओमानको तटमा रहेको दक्षिणी च्यानलमार्फत हरेक ...
। रुसको पछिल्लो हमलामा युक्रेनको राजधानी किभमा कम्तीमा १३ जनाको मृत्यु भएको छ। सो हमलामा परी ४० जना घाइते भएका छन्। युक्रेनका प्रधानमन्त्रीले यो जानकारी दिएका हुन् । युक्रेनले लगातार एयर डिफेन्स मिसाइलको अभाव झेलिरहेको छ। युक्रेनको स्टेट इमर्जेन्सी सर्भिसका अनुसार रातभर भएका हमलामा सहरका धेरै अपार्टमेन्ट ब्लक र गोदामहरूलाई निसाना बनाइएको छ। यस हमलाबाट एउटा बालबालिकाको अस्पताल ...