। नेकपा एमालेले पनि संविधान संशोधन बहसपत्र तयारी कार्यदलमा सहभागी नहुने निर्णय लिएको छ ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम साह संयोजक रहेको कार्यदलमा एमालेका तर्फबाट डा.भीष्म अधिकारी सहभागी हुँदै आएका थिए । तर, अब उक्त कार्यदलमा सहभागी नहुने निर्णय एमालेले गरेको छ ।
महासचिव शंकर पोखरेलले कार्यदलका संयोजकलाई पत्र लेख्दै कार्यदलमा नबस्ने जानकारी दिएका हुन् । संविधान संशोधनको अन्तर्वस्तुबारे सरकारको दृष्टिकोण प्रष्ट नभएको, बहसमा ल्याइएका विषयहरु संघीय लोकतान्त्रिक गणतन्त्रको विरुद्ध देखिएको लगायत कारण पत्रमा उल्लेख छ ।
‘आजका दिनसम्म पनि हाम्रो पार्टीको प्रस्ताव अनुसार सरकारका तर्फबाट कुनै स्पष्ट जवाफ नआएको सन्दर्भमा औपचारिक रुपमा पार्टी प्रतिनिधिलाई फिर्ता बोलाइएको जानकारी गराउँदछु,’ महासचिव पोखरेलले पठाएको पत्रमा भनिएको छ ।
यसअघि नेपाली कम्युनिष्ट पार्टीले पनि कार्यदलमा नबस्ने निर्णय गरिसकेको छ । नेपाली कांग्रेसले कार्यदलको बैठकमा सहभागिता नै जनाएको छैन ।