मुख्य समाचार
होटलमा मृत्युको घटनाले उघारेको यौन धन्दाको पर्दा
होटलमा मृत्युको घटनाले उघारेको यौन धन्दाको पर्दा

: गत असार २६ गते धनुषाको ढल्केवरस्थित माँ भवानी होटल एण्ड गेष्ट हाउसमा राति ९ बजेको समयमा एक महिला अचेत भइन् । प्रहरीका अनुसार ती महिलालाई उपचारका लागि जानकी मेडिकल कलेज लगिएकोमा चिकित्सकले मृत घोषणा गरे । मृत्यु भएकी महिला धादिङकी ५१ बर्षीया चेलीमाया तामाङ रहेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए ।

उनीसँगै कोठा लिएर बसेका सिन्धुपाल्चोकका ५० बर्षीय एबनारायण श्रेष्ठ प्रहरी नियन्त्रणमा रहेको उनले बताए । श्रीमान–श्रीमती भनेर होटलमा कोठा बुक गरेका उनीहरु पति–पत्नी नरहेको प्रहरीले पुष्टि गरेका छन् । महिलासँगै कोठामा बसेका एबनारायणलाई ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक केसीले बताए । माँ भवानी होटल एण्ड गेष्ट हाउसका सञ्चालक मुकुन्द अधिकारीले पनि ती पुरुष र महिला श्रीमान–श्रीमती भनेर कोठा लिएको बताउँछन् ।

‘पुरुषको सवारी लाइसेन्सको नम्बर टिपेर रुम दिएका थियौं । महिलाको डकुमेन्ट मागेनौं । हाम्रो गल्ती त्यति हो,’ सञ्चालक अधिकारी भन्छन्, ‘सिन्दुर पोते लगाएका हुन्छन् । विवाह दर्ता नै माग्दै हिड्नु भएन । श्रीमान–श्रीमती नै होला भनेर विश्वास गर्‍यौं । घटनापछि त ती दुवै जना श्रीमान–श्रीमती होइन रहेछ भन्ने थाहा पाएँ ।’



गत चैत्र १८ गते ढल्केवरस्थित जुन तारा स्टाप लाइन होटलमा एक युवती मृत भेटिइन् । मुखबाट फिँज निस्किएको अवस्थामा मृत फेला परेकी ती युवती पोखरा महानगरपालिका–१३, मियापाटीकी २३ वर्षीया जेनिसा विक थिइन् । जेनिसा ढल्केवरमा डेरा गरी बस्दै आएकी थिइन् । जेनिशालाई होटल सञ्चालक रामपुकार साहले फोन गरेर बोलाएपछि होटल पुगेको उनकी आमाले अन्नपूर्णलाई बताइन् ।

‘हामी आमा–छोरी तीन वर्षदेखि ढल्केवरमा बस्दै आएका छौं । ग्राहक आएपछि छोरीलाई फोन आउँथ्यो । रामपुकार र अरु होटलवालाहरुले पनि फोन गथ्र्यो । आज पनि छोरीलाई रामपुकारले फोन गरेर बोलाएको थियो । घटनापछि होटलबाट रामपुकारसँगै तीन जना भागेको छ,’ घटनाकै दिन जेनिशाकी आमाले भनेकी थिइन् । अहिले त्यो होटल नियमित रुपमै सञ्चालनमा छ ।

चार महिनाको अन्तरालमा धनुषाको ढल्केवरस्थित दुई फरक होटलमा दुई महिलाको रहस्यमय मृत्यु घटनाले ढल्केवरमा होटल व्यवसायको आडमा भइरहेको अवैध क्रियाकलापलाई नग्याई दिएको छ । ढल्केवरका अधिकांश होटलमा अवैध यौन धन्दा भइरहेको व्यापक जनगुनासो भए पनि त्यसलाई नियन्त्रण गर्न होटल व्यवसायी, स्थानीय जनप्रतिनिधि, प्रहरी प्रशासन गम्भिर नबन्दा यहाँ यौन व्यवसायले बिकराल रुप लिएको स्थानीहरु बताउँछन् ।

दुवै घटनाको अनुसन्धान प्रहरीले गरिरहेको भए पनि यस्ता घटना दोहोरिनुले होटल सञ्चालनको मापदण्ड, प्रहरी अनुगमन, स्थानीय सरकारको नियमन तथा होटल व्यवसायको आडमा हुने अवैध गतिविधिमाथि गम्भीर प्रश्न उठाएको छ । ढल्केवर मधेश प्रदेशको राजधानी जनकपुरधाम र पूर्व–पश्चिम राजमार्ग जोडिने महत्वपूर्ण व्यापारिक केन्द्र हो । दैनिक हजारौं यात्रु आउने–जाने यस क्षेत्रमा दर्जनौं होटल तथा गेष्ट हाउस सञ्चालनमा छन् । तर ती होटलहरूले अतिथिको पहिचान, अभिलेख व्यवस्थापन र कानुनी प्रक्रिया कत्तिको पालना गरिरहेका छन् भन्ने विषयमा प्रभावकारी अनुगमन भएको देखिँदैन ।

ढल्केवरकै केही होटलमा युवतीहरु राखेर विभिन्न होटलहरुमा माग अनुसार युवती सप्लाई गर्ने गरेको विश्वसनीय स्रोतको दावी छ । ती स्रोतले भने ‘सबै प्रहरी प्रशासनको सेटिङमा चलेको छ । उनीहरुलाई प्रहरीकै घुमुवाले सबै खबर दिन्छन् । कसले प्रहरीलाई खबर गर्‍यो भन्ने कुरा होटलवालालाई थाहा भईहाल्छ । सेटिङ छैन भने त्यो कसरी सम्भव भयो ।’

यद्यपि प्रहरीको सेटिङको विषयलाई इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक केसी अस्वीकार गर्छन् । ‘यो विषयमा स्थानीयको गुनासो छ । तर हामी नियमित रुपमै निगरानी राखेका छौं । चेकजाँच गर्दा बाहिर भने जस्तो पाइएको छैन,’ प्रहरी निरीक्षक केसीले भने । ढल्केवर क्षेत्रमा सञ्चालित डान्सबारले पनि समाजमा विकृति फैलाएको भन्दै स्थानीयहरु आन्दोलनको तयारीमा जुटेका छन् । गत वर्षपनि अश्लीलता फैलाएको भन्दै स्थानीयहरुले दुई वटा डान्सबारमा तोडफोड गरेका थिए ।

‘डान्सबारका युवतीहरु मिर्मिरे बिहानीको समयमा भित्री बस्त्रमै बाहिर डुल्छन् । अस्वभाविक हाउभाउ देखाउँछन् । हाम्रो छोरीचेली त्यहीँ बाटो भएर रुएर विद्यालय जाने गरेको छ,’ नाम उल्लेख नगर्ने शर्तमा मिथिला नगरपालिका–५ श्रीपुरका एक स्थानीयले आक्रोश पोख्दै भने, ‘जनप्रतिनिधिहरु पनि निर्लज्ज भइसकेका छन् ।’ यस्ता गतिविधिविरुद्ध निरिह भएर बस्न सक्ने अवस्था नरहेकाले अब आन्दोलन चर्काउने तयारीमा जुटेको ती स्थानीयले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका र्‍यापिड एक्सन टिम मिथिला नगरपालिकाका संयोजक सुनिलकुमार महतो ढल्केवरमा अवैध यौन क्रियाकलापले सीमा नाघेको बताउँछन् । उनले ढल्केवरमा भइरहेको अवैध क्रियाकलापलाई कटाक्ष गर्दै ढल्केवरको नाम परिवर्तन गरेर मिर्जापुर राख्नुपर्ने टिप्पणी गर्छन् । केही दिन अघि सामाजिक सञ्जाल फेसबुकमै सुनिलले लेखेका थिए, ‘ढल्केवरको नाम परिवर्तन गरी मिर्जापुर राखी दिए हुन्छ । दिनदहाडै गैरकानुनी गतिविधिहरु भइरहेको देखिन्छ ।’

मिथिला उद्योग वाणिज्य संघ ढल्केवरका अध्यक्ष मुन्नाकुमार सिंहले अबैध क्रियाकलाप नर्गन व्यवसायीहरुलाई सचेत गराइरहेको बताउँछन् । अबैध क्रियाकलापमा संलग्न व्यवसायीहरुलाई संघले कुनै किसिमको संरक्षण नगर्ने उल्लेख गर्दै अध्यक्ष सिंहले सचेत गराउँदा गराउँदै पनि त्यस्ता अबैध क्रियाकलाप गर्ने व्यवसायीलाई कारबाहीको प्रक्रियामा संघले सहयोग गर्ने बताए ।

‘समग्र होटल व्यवसाय र व्यवसायीको प्रतिष्ठामा आँच आउने गरी अबैध क्रियाकलाप गर्ने र गराउने व्यवसायीलाई पहिचान गरेर कानूनी दायरामा ल्याउने हाम्रो पनि दायित्व हो । त्यसमा हामी दृढ भएर लागेका छौं,’ अध्यक्ष सिंहले भने, ‘केही गलत तत्वकै कारण समग्र होटल व्यवसायीलाई एकै नजरले हेर्नु हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कैलालीमा प्रहरीले अनाधिकृत मुद्रा कारोबारमा संलग्न रहेको आरोपमा ९ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले धनगढी उपमहानगरपालिका–४ को बसपार्कमा फ्ल्याट भाडामा लिएर अनाधिकृत रूपमा हुन्डी तथा विदेशी मुद्रा कारोबार गरिरहेको सूचनाका आधारमा छापा मारेर ९ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश विष्टकाअनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरीले टोलीले फ्ल्याटमा ...
। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मुलुकको समृद्धिका लागि गुणस्तरीय र दिगो पूर्वाधार निर्माणमा इन्जिनियरहरूको भूमिका र जिम्मेवारी महत्त्वपूर्ण रहेको बताएका छन् । आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री श्रेष्ठले सडक, पुल, जलविद्युत, प्रसारण लाइन, सिँचाइ र सूचना प्रविधिलगायतका क्षेत्रमा आधुनिक पूर्वाधार निर्माण गर्ने मुख्य जिम्मेवारी प्राविधिक जनशक्तिको काँधमा रहेको ...
। नेपाली कांग्रेसको संस्थापन इतर समूहले राष्ट्रिय भेला साउन महिनाभित्रै गर्ने घोषणा गरेको छ । मिति भने साउन ६ गते प्रज्ञा भवन कमलादीमा आयोजना गरिने बीपी स्मृति दिवसमा घोषणा गर्ने तयारी गरेको छ । पार्टी एकताका लागि निरन्तर प्रयास, हदैसम्मको लचकता, संवादपश्चात लामो धैर्यता राख्दाराख्दै पनि विवादको सात महिना र अदालतको फैसलापछि चार महिना बितिसक्दा पनि ...
। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुशासन प्रवर्द्धनका निम्ति संविधान संशोधन आवश्यक रहेको बताएका छन्। पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै सभापति थापाले लोकतन्त्रका आधारभूत मूल्य र मान्यतामा कुनै पनि किसिमको सम्झौता मान्य नहुने प्रस्ट पारे । समावेशितालाई अझ व्यापक र सुदृढ बनाउने विषयमा हाम्रो पूर्ण समर्थन रहने तर यसलाई सङ्कुचित पार्ने वा नागरिकले प्राप्त गरेका अधिकारहरू कटौती ...
। स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक र चितवनतर्फको पृथ्वी राजमार्ग आज राति १० बजेदेखि बन्द गर्ने भएको छ । जिल्लाका विभिन्न स्थानहरूसहित धादिङलगायत जिल्लामा पहिरोको जोखिम भएकाले नारायणगढ–मुग्लिन–काठमाडौं सडक राति १० बजेपछि बन्द रहने जनाएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा रातको समयमा सवारी सञ्चालन राखिरहँदा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सवारी बन्द गरिएको ...