: आज साउन महिनाको पहिलो सोमबार। आज बिहानैदेखि पशुपतिनाथ मन्दिर तथा देशभरका शिव मन्दिरहरुमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ।
साउने सोमबारका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। मन्दिरमा भक्तजन बिहानदेखि पूजा एवं दर्शनका लागि लाइनमा बसेका छन्। अन्य विशेष पर्वमा जस्तै आज पनि पशुपतिनाथमा भक्तजनको प्रवेशका लागि चार स्थानबाट लाम लाग्ने व्यवस्था गरिएको छ।
साउनको सोमबार पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लाग्ने गर्छ। साउन महिना र सोमबार भगवान् शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा धेरै भक्तजनको भीड लाग्ने जनाइएको छ।
आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास भएकाले विशेष गरी महिला भक्तजनको भीड लागेको छ। पहेलो, रातो एवं हरियो पहिरनमा सजिएका भक्तजनले पशुपति क्षेत्र भरिभराउ छ।
विवाहित महिलाले श्रीमान्को दीर्घजीवनको कामना र अविवाहित महिलाले योग्य वरको कामना गर्दै साउने सोमबारको व्रत बस्ने भन्ने भनाइ पनि प्रचलित छ। सुख, शान्ति एवं समृद्धिका लागि साउन महीना र सोमबार सबैले शिवको उपासना गर्नुपर्ने शास्त्रीय वचन धार्मिक ग्रन्थमा रहेको छ। यस वर्ष साउनमा चार वटा सोमबार परेको छ। साउन ४, ११, १८ र २५ गते सोमबार परेको छ।