: चालु आर्थिक वर्षमा करिब २ हजार कर्मचारी अनिवार्य अवकाशका कारण घर जाँदैछन्।जसमा २० जना त सचिवमात्रै छन्।राष्ट्रिय किताबखाना (निजामती) को अभिलेखअनुसार आर्थिक वर्ष २०८३/८४ मा ५८ वर्षे उमेर हद तथा ५ वर्षे पदावधि पूरा भई १ हजार ९ सय ८५ कर्मचारी अनिवार्य अवकाशबाट निवृत्त हुनेछन्।
जसमा ८७ सहसचिव, २ सय ६ जना उपसचिव र ३ सय २० जना शाखा अधिकृतको अवकाश हुँदैछ।सहायक स्तरका ७ सय ७३ जना र श्रेणीविहीनतर्फ ५ सय ७९ जना अनिवार्य अवकाशमा जान लागेका हुन्।हाल संघ, प्रदेश तथा स्थानीय तहमा ९२ हजार ५ सय २० कर्मचारी कार्यरत रहेको राष्ट्रिय किताबखाना (निजामती) का महानिर्देशक श्रवणकुमार पोखरेलले जानकारी दिए ।
को–को सचिवको अवकाश हुँदैछ ?
यो आर्थिक वर्षमा ठूलो संख्यामा सचिवहरूको अवकाश हुने भएको छ।२० जना सचिव यो वर्ष घर जाँदैछन्। साउन ४ गते किरणराज शर्माको अवकाश हुँदैछ।वरिष्ठताका आधारमा पहिलो नम्बरमा रहेका शर्मा मुख्यसचिवका दाबेदार थिए, तर सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव बनाएको छ।कार्कीलाई मुख्यसचिव बनाएपछि शर्मा बिदामा बसेका थिए।उनी ५ वर्षे सचिवको अवधि पूरा भएकाले साउन ४ मा सेवानिवृत्त हुँदैछन्।
त्यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त समूहमा रहेका सचिव लोकनाथ पौडेल उमेर हदका कारण साउन ७ गते अवकाश हुँदैछन्।प्रधानमन्त्री कार्यालयकै अतिरिक्त समूहमा रहेका हरिप्रसाद मैनाली पनि उमेर हदका कारण साउन १९ गते सेवानिवृत्त हुँदैछन्।त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव डिल्लीराम शर्मा भदौ ३ गते उमेर हदका कारण सेवानिवृत्त हुँदैछन्।उमेर हदकै कारण बागमती प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीको भदौ ५ गते बिदाइ हुँदैछ।सेवा अवधि पूरा गरेर गृहसचिव राजकुमार श्रेष्ठको पनि भदौ १६ गते अवकाश हुँदैछ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल ५ वर्षे कार्यकाल पूरा गरी असोज १४ गते अवकाश हुँदैछन्।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरजुकुमार वैद्य उमेर हदका कारण असोज १६ गते घर जाँदैछन्।महान्यायाधिवक्ताको कार्यालयका नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी र महालेखा परीक्षकको कार्यालयका उपमहालेखा परीक्षक वैकुण्ठबहादुर अधिकारी असोज १८ गते सेवानिवृत्त हुने भएका छन्।
राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थ समयावधि पूरा गरेर असोज १९ मा घर जाँदैछन्।महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णबहादुर राउत ५ वर्षे कार्यकाल पूरा गरेर पुस २१ मा बिदा हुँदैछन्।
लोक सेवा आयोगका सचिव रामेश्वर दंगाल माघ १७ गते सेवानिवृत्त हुने भएका छन्।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाको फागुन ५ मा अवकाश हुने भएको छ।दुवै जना ५ वर्षे कार्यकाल पूरा गरेर घर जाने भएका हुन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनीका प्रमुख सचिव कृष्णप्रसाद काप्री २०८४ वैशाख ६ मा बिदा हुँदैछन्।उनी उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेका हुन्।
२०८४ जेठ ११ गते महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता लोकराज पराजुली अवकाश हुँदैछन्।रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माको २०८४ असार १ गते अवकाश हुँदैछ।असार १५ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशीका प्रमुख सचिव राजेन्द्रकुमार पौडेल पनि घर जाँदैछन्।असार २४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव इन्दिरा दाहालको अवकाश हुँदैछ। यो वर्ष अवकाश हुने सहसचिवको संख्या पनि धेरै छ।