— काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सर परीक्षण (सर्भाइकल क्यान्सर स्क्रिनिङ) मा सहभागीमध्ये ९० महिलामा ह्युमन प्यापिलोमाभाइरस (एचपीभी) संक्रमण पुष्टि भएको छ ।
महानगरको स्वास्थ्य विभागका अनुसार संक्रमण पुष्टि भएका अधिकांश महिलालाई स्क्रिनिङअघि आफू संक्रमित भएको वा कुनै स्वास्थ्य समस्या छ भन्ने जानकारी नै थिएन । 'संक्रमण पुष्टि भएका ९० जनामध्ये २५ जनामा एचपीभी भाइरस १६ र १८ को संक्रमण देखियो (१२ जनामा एचपीभी १६ र १३ जनामा एचपीभी १८),' विभागमा कार्यरत पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ कार्यक्रमका फोकल पर्सन चन्द्रा भट्टले भनिन्, 'बाँकी ६५ जनामा भने एचपीभीका अन्य विभिन्न प्रकारका संक्रमण पुष्टि भएको थियो ।'
एचपीभी मुख्यतः यौन सम्पर्कबाट सर्ने भाइरल संक्रमण हो, जुन पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक मानिन्छ । विकासोन्मुख मुलुकका महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर पनि प्रमुख हो ।
नेपालमा पनि क्यान्सरबाट हुने महिलाको मृत्युको प्रमुख कारणमध्ये एक हो । नेपालमा हरेक वर्ष सयौं महिला पाठेघरको मुखको क्यान्सर पहिचान हुने गर्छ । स्वास्थ्य अधिकारीहरूका अनुसार पाठेघरको मुखको क्यान्सरका बिरामीको यकिन तथ्यांक उपलब्ध नभए पनि, दैनिक कम्तीमा चार महिलाको यसै रोगका कारण मृत्यु हुने अनुमान गरिएको छ ।
महानगरले चैत १७ देखि वैशाख २१ सम्म सञ्चालन गरेको अध्ययनमा २ हजार ९ सय ७५ महिलाको स्क्रिनिङ गरिएको थियो । तीमध्ये २ हजार ७७९ जनाको एचपीभी डीएनए परीक्षण र १ हजार ४५० जनाको एचपीभी जेनोटाइप परीक्षण गरिएको थियो । डीएनए परीक्षणले पाठेघरको मुखबाट संकलित कोषिकामा एचपीभीको आनुवंशिक पदार्थ (जेनेटिक मटेरियल) छ कि छैन भन्ने पत्ता लगाउन गरिने परीक्षण हो । त्यस्तै, जेनोटाइप परीक्षण संक्रमण गराउने एचपीभीको कुन प्रकार हो भन्ने पहिचान गर्ने परीक्षण हो ।
महानगरसँग परीक्षण किट सीमित भएकाले एचपीभी १६ र १८ प्रकारको परीक्षण भने १ हजार ३२९ महिलामा मात्र गरिएको थियो । विश्वव्यापी रूपमा पाठेघरको मुखको क्यान्सरका करिब ७० प्रतिशत घटनाका लागि एचपीभी १६ र १८ जिम्मेवार मानिन्छन् ।
'हामीले सुरुमा करिब एक महिनासम्म स्क्रिनिङ शिविर सञ्चालन गर्यौं, त्यसपछि बायोप्सी, म्यामोग्राम, अल्ट्रासोनोग्राफी (यूएसजी) लगायतका थप परीक्षण गर्यौं,' भट्टले भनिन्, 'हाम्रो अध्ययनले आफूलाई स्वस्थ छु भन्ने ठानेका धेरै महिलामा पनि विभिन्न प्रकारका क्यान्सर भएको वा क्यान्सर गराउने भाइरसको संक्रमण भएको देखाएको छ ।'
महानगरका अधिकारीहरूका अनुसार अध्ययनले नेपालका महिलामा एचपीभी १६ र १८ मात्रै होइन, अन्य दर्जनौं प्रकारका एचपीभी संक्रमण पनि रहेको देखाएको छ ।
विज्ञहरूका अनुसार एचपीभीका २ सयभन्दा बढी प्रकार छन् । तीमध्ये करिब ४० प्रकारले पाठेघरको वरिपरि संक्रमण गर्छन् भने करिब १४ प्रकारलाई उच्च जोखिमयुक्त भाइरस मानिन्छ, जसले पाठेघरको मुखको क्यान्सर गराउन सक्छ ।
स्वास्थ्य विभागका अनुसार एचपीभी संक्रमण पुष्टि भएका सबै ९० महिलाको कोल्पोस्कोपी गरिएको थियो। तीमध्ये ११ जनामा सर्भिकल इन्ट्राअपिथेलियल नियोप्लासिया (सीआईएन) देखिएको थियो, जसमध्ये ४ जनामा उच्च ग्रेड र ७ जनामा न्यून ग्रेडको अवस्था थियो । सीआईएन आफैंमा क्यान्सर होइन तर समयमै उपचार नगरे उच्च ग्रेडको सीआईएन पछि पाठेघरको मुखको क्यान्सरमा रूपान्तरण हुन सक्छ ।
नेपालले एचपीभी खोपलाई नियमित खोप कार्यक्रममा समावेश गरिसकेको छ र १० वर्ष उमेरका सबै बालिकालाई सरकारी स्वास्थ्य संस्थामार्फत एक मात्रा खोप उपलब्ध गराउँदै आएको छ । नियमित खोप कार्यक्रममा समावेश गरिएको एचपीभी खोपले भाइरसका १६ र १८ प्रकारविरुद्ध सुरक्षा प्रदान गर्छ ।
स्वास्थ्य अधिकारीहरूका अनुसार पाठेघरको मुखको क्यान्सरका साथै २ हजार ९६१ महिलाको स्तन परीक्षण पनि गरिएको थियो । तीमध्ये ४११ जनाको म्यामोग्राफी गरिएको थियो। चार जनाको स्तन बायोप्सी गर्दा दुई जनामा स्तन क्यान्सर पुष्टि भएको थियो भने हाल उनीहरू उपचाररत छन् ।
'नेपालमा अधिकांश क्यान्सरका बिरामी लक्षण देखिन थालेपछि मात्रै उपचारका लागि आउँछन्,' भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले भने, 'रोगको सुरुआती चरणमा प्रायः कुनै लक्षण देखिँदैन। लक्षण देखिन थालेपछि धेरैजसो अवस्थामा रोग निकै बढिसकेको हुन्छ, जसका कारण उपचारको नतिजा पनि राम्रो आउँदैन। त्यसैले समयमै परीक्षण गराउनुपर्छ ।'
विज्ञहरूले स्थानीय तहलाई आधारभूत क्यान्सर स्क्रिनिङ सेवा स्थानीय स्वास्थ्य संस्थामै उपलब्ध गराउन आग्रह गरेका छन्।
नेपालमा क्यान्सरका बिरामीको यकिन तथ्यांक उपलब्ध छैन । तर, ग्लोबल क्यान्सर अब्जर्भेटरीका अनुसार हरेक वर्ष २२ हजारभन्दा बढी नयाँ क्यान्सरका बिरामी थपिन्छन् भने करिब १४ हजार जनाको क्यान्सरका कारण मृत्यु हुन्छ ।