: नेपाली कांग्रेसले प्रदेशमा संविधानको मर्मविपरीत सत्ता समीकरण बनाउन नहुने स्पष्ट पारेको छ।
बीपी स्मृति दिवसका बारेमा जानकारी दिन सोमबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले प्रतिपक्षीविहीन प्रदेशसभाको कल्पना संविधानले नगरेको भन्दै संविधानको मर्मविपरीत सत्ता समीकरण बनाउन नहुने बताए।
उनले कांग्रेस प्रतिपक्षविहीन प्रदेशको परिकल्पना नगरीकन टुङ्गोमा पुग्नुपर्छ भन्ने मान्यतामा अघि बढेको भन्दै आवश्यक परे प्रतिपक्षमा बस्न तयार रहेको बताए। अहिलेको प्रतिकूल परिस्थिति र संविधान संशोधनको संवाद/छलफलहरू पनि चलिरहेको अवस्थामा संविधानको मूल मर्मबाट बाहिर जान नहुने उनको भनाइ छ।
त्यस्तै उपसभापति शर्माले पार्टीको १५औँ महाधिवेशनमा पार्टीका सबैले सहभागी बन्ने वातावरण सहज बनाउन संवाद, छलफलहरू भइरहेको बताए।
पार्टीको आन्तरिक विषय सकारात्मक ढङ्गले टुङ्गिन्छ भन्नेमा विश्वस्त रहेको उनले बताए। उपसभापति शर्माले जननायक बीपी कोइरालाको ४४औं स्मृति दिवस विविध कार्यक्रम साथ साउन ६ र ७ गते देशव्यापी रूपमा आयोजना गरिएको जानकारी दिए।
प्रतिष्ठानको आयोजनामा साउन ६ गते जलवायु परिवर्तनसँग सम्बन्धित तथा साउन ७ गते पार्टीको ‘जरा अभियान’ पछिको अर्को नविन अभियान घोषणासहितको कार्यक्रम हुने उनले बताए।