: लागुऔषध नियन्त्रण ब्युरोले ४.२५८ किलोग्राम कोकेनसहित दुई विदेशी महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ६२ वर्षीया कोलोम्बियाली महिला योनेथ गार्जोन कैसेडो र ३१ वर्षीया महिला रेबेका पुल्ले रहेका छन्।
ब्युरोका अनुसार कोलोम्बियाली महिला असार ३१ गते कतार एयरवेजको उडान नम्बर क्यूआर–६४६ मार्फत कोलोम्बियाबाट दोहाहुँदै काठमाडौं आएकी थिइन्। उनलाई काठमाडौं महानगरपालिका–१६ स्थित ठमेल क्षेत्रबाट पक्राउ गरिएको हो।
उनले ल्याएको सुटकेसभित्र फल्स बटम बनाई ब्ल्याङ्केट, सर्ट, ज्याकेट, एप्रोन र नेक पिलोमा लिक्विड कोकेनलाई सिलिकनसँग मिसाई कपडाको आकारमा ढालेर लुकाएको अवस्थामा ४ किलो २५८ ग्राम कोकेन बरामद भएको ब्युरोले जनाएको छ।
घटनाको थप अनुसन्धानका क्रममा उक्त कोकेन बुझ्न भारतको मणिपुरबाट काठमाडौं आएकी भारतीय नागरिक रेबेका पुल्लेलाई पनि प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले उनीहरूको साथबाट ४.२५८ किलोग्राम कोकेन (सिलिकनसहित), एक थान पासपोर्ट, एक थान भारतीय निर्वाचन आयोगको परिचयपत्र, २०० अमेरिकी डलर, चार थान मोबाइल फोन र एक थान सुटकेस बरामद गरेको जनाएको छ।
ब्युरोका अनुसार पछिल्लो समय विदेशी मुलुकबाट लिक्विड कोकेनलाई सिलिकनसँग मिसाई कपडाको आकार तथा साइजमा तयार पारेर तस्करी गर्ने नयाँ प्रवृत्ति देखिन थालेको छ। यस घटनाबारे थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।