। नेकपा एमालेका नेता शेरबहादुर तामाङले प्रदेश सरकारमा नेपाली कांग्रेससँगको सत्ता सहकार्य अन्त्य भएमा एमाले प्रतिपक्षमा बस्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले एमाले नयाँ समीकरण खोजेर सरकारमा नजाने बताएका हुन् ।
उनले प्रदेश सरकारमा देखिएको पछिल्लो राजनीतिक अस्थिरता नेपाली कांग्रेसको आन्तरिक विवादका कारण उत्पन्न भएको दाबी गरे ।
उनले कांग्रेसभित्रको मतभेद् छिट्टै समाधान हुने विश्वास व्यक्त गर्दै एमालेको प्राथमिकता वर्तमान सरकारको निरन्तरता कायम राख्नु रहेको स्पष्ट पारे ।
उनले एमाले तत्काल अन्य दलसँग मिलेर नयाँ सरकार गठनको प्रयासमा नलाग्ने दाबी गरे । वर्तमान सरकार टिक्न नसके एमाले सरकारबाट बाहिरिने र प्रतिपक्षको भूमिकामा रहने उनको भनाइ छ ।
उनले भने, ‘प्रदेश सरकामा अहिले समस्याहरू देखापरेको छ, त्यो नेपाली कांग्रेसको आन्तरिक समस्याको कारणले सिर्जना भएको हो । यो खटपट अब धेरै नजाला, यसको छिट्टै समाधान होला । कांग्रेसभित्र केही आन्तरिक सहमति होलान्, सहमति हुँदैन भने हामी अहिले तुरुन्तै अरू कसैसँग हात मिलाउने भन्दा पनि वर्तमान सरकारलाई जोगाउने ठाउँमा उभिन्छौँ, अहिलेको सरकार जोगिएनन् भने हामी सरकारको निरन्तरतामा रहँदैनौ । अरू क–कसको बन्छ, बनोस्, हामी सरकारका रहँदैनौ, अरू पार्टीहरू बीचमा सरकार बन्न सक्छ ।’
वर्तमान सरकार नरहेको खण्डमा एमाले बाहेकको सरकार प्रदेशमा बन्नसक्ने उनले बताए ।
हाल कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारमा देखिएको समस्याका कारण प्रदेशमा कांग्रेस–एमालेबीचको सत्ता समीकरण अन्योलमा परेको छ ।
सुदूपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेका छन् भने कर्णालीमा कांग्रेसका सांसदहरूले मुख्यमन्त्री यमलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।