। वैदेशिक रोजगार विभागमा उजुरी तथा मुद्दा व्यवस्थापन प्रणाली सुरू भएको छ। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले उक्त प्रणालीको उद्घाटन गरेका छन्। अबदेखि वैदेशिक रोजगार ठगी सम्बन्धी उजुरी तथा मुद्दाहरू अनलाइन मार्फत नै दिन सकिनेछ।
श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले डिजिटल प्रणालीमार्फत नै उजुरी तथा मुद्दा दिन दिन सकिने व्यवस्था गरिएको बताए । वैदेशिक रोजगारीमा ठगीका घटनामा भौतिक रूपमा मात्रै नभई अनलाइनमार्फत पनि उजुरी दिन सकिने प्रवक्ता घिमिरेले बताए ।
हाल ठगीका उजुरी विभागमै उपस्थित भएर दिनुपर्ने व्यवस्था रहँदै आएको छ। अबदेखि भने अनलाइन मार्फत आवश्यक प्रमाणसहित उजुरी दिन सकिने उनको भनाइ छ।विभागको अनुगमन तथा प्रणालीको उद्घाटन गर्दै श्रममन्त्री यादवले वर्तमान विश्वव्यापीकरणको सन्दर्भमा वैदेशिक रोजगारी तत्काल रोक्न नसकिने र यसलाई सुरक्षित तथा मर्यादित बनाउन सरकार केन्द्रित भएको बताए ।
सरकारले नेपाली श्रमिकहरूको शोषण अन्त्य गर्न सुरक्षित र उच्च प्रतिफल दिने युरोपेली मुलुकहरूसँग श्रम सम्झौताका लागि पहल अघि बढाएको उनले बताए । श्रम मन्त्रालयले स्वदेशी श्रमिकका समस्या र शोषणसम्बन्धी गुनासो सम्बोधन गर्न चाँडै नै नयाँ अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याउने तयारी गरेको मन्त्री यादवले बताए।
देशभित्रै कार्यरत श्रमिकहरूले उचित पारिश्रमिक नपाउने र श्रम शोषणमा पर्ने गरेको गुनासो सम्बोधन गर्न श्रम विभागले छिट्टै अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याउने मन्त्री यादवको भनाइ छ । यस प्रणालीको कार्यान्वयनसँगै श्रमिकहरूले साना कामका लागि पनि भौतिक रूपमा श्रम कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य हुने विश्वास गरिएको छ।