: सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि काठमाडौं उपत्यका जग्गाको सरकारी न्यूनतम मूल्यांकन तोकेको छ। चालु आर्थिक वर्षमा सरकारी मूल्यांकनमा करिब १० प्रतिशतसम्मले वृद्धि गरिएको छ।
काठमाडौंका मुख्य व्यापारिक केन्द्रहरूको जग्गाको मूल्य सबैभन्दा उच्च निर्धारण गरिएको छ। दरबारमार्ग, कान्तिपथ, जमल, इन्द्रचोक, रत्नपार्क, पुरानो बसपार्क, सहिदगेट, सुन्धारा, केशरमहल, न्युरोड, माइतीघर, सिंहदरबार आसपास, हात्तीसार र कमलादी क्षेत्रका मूल सडकसँग जोडिएका जग्गाको सरकारी मूल्य प्रतिआना ७६ लाख २० हजार रुपैयाँ पुगेको छ। यसअघि यी क्षेत्रको मूल्य ७२ लाख ६० हजार रुपैयाँ थियो।
यी क्षेत्रमै कच्ची र गोरेटो बाटोले मात्रै छोएका जग्गाको मूल्य भने २२ लाखदेखि ३७ लाख रुपैयाँसम्म तोकिएको छ। काठमाडौंकै बाटो नपुगेका र दुर्गम क्षेत्रका जग्गाको न्यूनतम मूल्य १ लाखदेखि १० लाख रुपैयाँसम्म तोकिएको छ। गोकर्णेश्वर नगरपालिकाको बाटोले नछोएको जग्गाको मूल्य १ लाख ४३ हजार रुपैयाँमात्रै छ।
भक्तपुर जिल्लामा भने यसअघिकै मूल्यले निरन्तरता पाएको छ। अरनिको राजमार्ग आसपासको जग्गाको मूल्य प्रतिआना ४० लाख र कौशलटार क्षेत्रको २१ लाख ६५ हजार रुपैयाँ नै कायम छ।