: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा अपहरित लोकतन्त्र फर्काउनु पर्ने अवस्था रहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलालको ४८ औं स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले निर्वाचन मात्रै लोकतन्त्रको सुनिश्चित आधार नहुने बताएका छन् ।
उनले चुनाव कुन स्थिति, उद्देश्य र कस्तो वातावरणमा भयो भन्ने आधारमा लोकतन्त्रको मापन हुने बताए । ‘नेपालको बलिदानपूर्ण लामो संघर्षबाट ल्याएको लोकतन्त्र अपहरित भएको छ । आज लोकतन्त्रको पुनः सुदृढीकरण होइन वापस लिनुपर्ने भएको छ । चुनाव लोकतन्त्रको अभ्यास त होला तर त्यो चुनावको आयोजना कस्तो अवस्थामा केका लागि गरियो यो महत्वपूर्ण छ । चुनावले मात्र लोकतन्त्र हुँदैन ।’
अध्यक्ष ओलीले धेरै देशमा चुनाव हुने गरेको तर लोकतन्त्र नहुने गरेको भन्दै नेपालमा पनि भदौ २३ र २४ को जनधनको क्षति गराउने, मार्ने, मराउने खालका घटना इतिहासमै कल्पना गर्न नसकिने किसिमको भएको बताएका छन् । राणाशासन, पञ्चायत वा २०६२÷०६३ सालमा समेत त्यस्तो आतंक, भय र त्रासको क्रियाकलाप नभएको ओलीले बताएका छन् ।