मुख्य समाचार
अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि आवेदन दिने नेपाली विद्यार्थीको भिसा अस्वीकृत हुने दर अहिलेसम्मकै उच्च
अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि आवेदन दिने नेपाली विद्यार्थीको भिसा अस्वीकृत हुने दर अहिलेसम्मकै उच्च

— अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि आवेदन दिने नेपाली विद्यार्थीको भिसा अस्वीकृत हुने दर अहिलेसम्मकै उच्च भएको छ । सरकारी तथ्यांकअनुुुसार नेपालबाट यहाँका शैक्षिक संस्थामा आवेदन दिएकामध्ये करिब ६४ प्रतिशत विद्यार्थीको भिसा आवेदन अस्वीकृत भएको हो ।

पछिल्लो समयमा अस्ट्रेलियन सरकारले उच्च शिक्षा अध्ययनमा आउने विद्यार्थीको छनोट प्रक्रियामा अझ कडाइ गरेपछि भिसा अस्वीकृत हुने क्रम अत्यधिक वृद्धि भएको हो ।

अस्ट्रेलियाले विद्यार्थीको राम्रो छनोटका लागि देशलाई अलग-अलग वर्गीकरण गरी भिसा आवेदन लिने गरेको छ । ‘इभिडेन्स लेभल’ का आधारमा गरिने छनोट प्रक्रियामा नेपाल पछिल्लो समय सबैभन्दा तल्लो 'लेभल ३' मा रहेको यस क्षेत्रमा काम गरिरहेकाको भनाइ छ । यसअघि नेपाल दोस्रो नम्बरमा थियो । केही महिनाअघि गरिएको पुनरावलोकनबाट तेस्रो नम्बरमा झरेको हो ।

नेपालबाट सबैभन्दा धेरै भिसा अस्वीकृत हुने अध्ययनको क्षेत्र व्यावसायिक शिक्षा परेको छ । खर्च कम लाग्ने र छोटो अवधि हुने भोकेसनल (भेट) कोर्समा त झन्डै ९० प्रतिशत विद्यार्थीको भिसा अस्वीकृत भएको छ । तथ्यांक हेर्ने हो भने ५ सय ४९ जनाले भिसा आवेदन दिएकामध्ये यसमा ५६ जनाले मात्र भिसा पाएका छन् ।
अस्ट्रेलियामा अहिले करिब ६० हजार नेपाली विद्यार्थी अध्ययनरत छन् । यसमध्ये ५६ हजार यसअघि नै भिसा पाएका पुराना विद्यार्थी हुन् भने करिब ४ हजार मात्र नयाँ भिसा पाएर अध्ययन गरिरहेका विद्यार्थी हुन् ।

यहाँस्थित गृह मन्त्रालयका अनुसार अध्ययनका लागि आवेदन दिने नेपालीको संख्यामा समेत कमी आएको छ । गत जनवरीदेखि मेसम्मको तथ्यांकअनुसार उच्च शिक्षाका लागि अफसोर (नेपालबाट) अध्ययन लागि आवेदन दिएका ७ हजार ५ सय विद्यार्थीमध्ये जम्मा २ हजार ७ सयले मात्र भिसा पाएका छन् । गत वर्षको सोही अवधिमा ८ हजार २८ जनाले आवेदन दिएकामा ७ हजार १ सय ६७ जनाले भिसा पाएका थिए ।

एकातिर भिसा लाग्ने टुंगो नभएको र अर्कातिर भिसा शुल्कसमेत महँगिँदै गएपछि आवेदन दिनेको संख्या घटेको हो । अहिले विद्यार्थीले अध्ययनका लागि आवेदन दिँदा शुल्क मात्रै २ हजार ५ सय अस्ट्रेलियन डलर (करिब २ लाख ६० हजार रुपैयाँ) तिर्नुपर्छ र भिसा आवेदन अस्वीकृत भएमा उक्त रकम फिर्ता आउने सम्भावना रहँदैन ।

कोभिडपछि सरकारले धेरै संख्यामा विद्यार्थी भित्र्याएको थियो । तर विद्यार्थीले निर्धारित कोर्स पूरा गर्नुको साटो विषय परिवर्तन गरेर लामो समयसम्म विद्यार्थी भिसामा रहने प्रवृत्ति बढेपछि सरकार अझ बढी गम्भीर बनेको सिड्नीस्थित कानुन व्यवसायी सञ्जीव पाण्डे बताउँछन् । 'रोजगार र घरभाडा नपाउने समस्या बढेपछि यसलाई सम्बोधन गर्न पनि सरकारले विद्यार्थी भिसामा कडाइ गरेको हुन सक्छ,' उनले भने ।

सरकारको कडाइ र विद्यार्थी भिसा अस्वीकृत हुने क्रम बढेपछि लामो समयदेखि शिक्षा क्षेत्रलाई व्यवसायको माध्यम बनाउँदै आएकाहरू चिन्तामा छन् । कतिपय त बन्द हुने अवस्थामा पुगेका छन् ।

सेन्ट्रल अस्ट्रेलियन कलेजका अन्तर्राष्ट्रिय बिजनेस डेपलपमेन्ट म्यानेजर खगेन्द्र सत्याल भिसा आवेदन अस्वीकृत हुने र अन्तर्राष्ट्रिय विद्यार्थी आउने क्रम घटेपछि कन्सल्टेन्सी र साना शैक्षिक संस्था बन्द हुने अवस्थामा पुगेको बताउँछन् । ‘अन्तर्राष्ट्रिय विद्यार्थीका रुपमा आएपछि उसले अस्ट्रेलियालाई कस्तो सकारात्मक योगदान दिन सक्छ र दीर्घकालीन रुपमा अस्ट्रेलियाले के पाउन सक्छ, त्यो हेरेर मात्र भिसा दिइन्छ,' उनले भने, 'नेपालबाट आवेदन दिने विद्यार्थीले पनि यो कुरा बुझ्न आवश्यक छ ।'

राजनीतिक दलको नीतिका कारण पनि अस्ट्रेलियाले पछिल्लो समयमा अध्यागमन क्षेत्रमा कडाइ गरिरहेको छ । पछिल्लो समयमा आप्रवासीप्रति अनुदार नीति लिएकी नेतृ पउलिन ह्यान्सनको लोकप्रियता बढ्दै गएका कारण समेत सरकार दबाबमा रहेको विश्लेषण भइरहेको छ । अस्ट्रेलियामा केही समययता को बढी आप्रवास विरोधी देखिने लहर चलिरहेको सन्दर्भले समेत विद्यार्थी भिसा प्रक्रियामा असर गरेको जानकार बताउँछन् ।

कानुन व्यवसायी पाण्डेका अनुसार यहाँ आइसकेपछि भोग्नुपर्ने भिसाको अनिश्चिततासमेत अर्काे समस्याका रुपमा देखापरेको छ । विद्यार्थी भिसा सकिएपछि अर्काे विद्यार्थी भिसाको आवेदन अस्वीकृत हुने, पोस्ट-स्टडी भिसामा गइसकेपछि पुन: विद्यार्थी भिसा नपाइने, विवाह गरेपछि आफ्नो श्रीमान् वा श्रीमती ल्याउन गाह्रो हुने लगायतका कठिनाइ बढेको देखिन्छ । अहिले स्थायी बासिन्दाको अनुमतिपत्र (पीआर) पाउन समेत पहिलेको जस्तो सहज छैन ।

अहिले पनि अस्ट्रेलियामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थी संख्याको सूचीमा नेपाल तेस्रो नम्बरमा छ । कुल अन्तर्राष्ट्रिय विद्यार्थी संख्याको ९ प्रतिशत नेपाली विद्यार्थीले ओगटेको सरकारी तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली मूलका अस्ट्रेलियन प्रहरी वरिष्ठ कन्स्टेबल बिकास भारतीले अस्ट्रेलियाको प्रतिष्ठित राष्ट्रिय बहादुरी अवार्ड प्राप्त गरेका छन्। उनको अदम्य साहस र कर्तव्यनिष्ठाको कदर गर्दै अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजीले संघीय संसद्‌को प्रश्नोत्तर समयमामा प्रशंसासमेत गरेका छन्। अस्ट्रेलियाको पुलिस फेडेरेसनले बुधबार क्यानबेरामा आयोजित एक समारोहमा भारतीलाई उक्त सम्मान प्रदान गरेको हो। न्यु साउथ वेल्स (एनएसडब्लु) प्रहरीअन्तर्गत ‘बर्रउड पुलिस ...
। न्युजिल्यान्डमा बसोबास गर्ने नेपाली नागरिक, विशेषगरी विद्यार्थीहरू राहदानी नवीकरण र अन्य कन्सुलर सेवा लिन सास्ती भोग्न बाध्य भएका छन्। त्यहाँ नेपाली दूतावास नहुँदा र राहदानी छपाइमा देखिएको भनिएको प्राविधिक समस्या लम्बिँदा नेपालीहरू ठूलो आर्थिक भार र प्रशासनिक झन्झटमा परेका हुन्। आधारभूत कन्सुलर सेवा लिन अस्ट्रेलिया वा नेपालसम्मै पुग्नुपर्ने अवस्था आएपछि न्युजिल्यान्डस्थित नेपाली समुदायका अगुवाहरूले नेपाल ...
: साउदी अरबमा पछिल्लो सुरक्षा तनाव र हुथी आक्रमणको प्रभावले नेपाल फर्किने र साउदी जाने तयारीमा रहेका नेपाली श्रमिक तथा यात्रु समस्यामा परेका छन्। नियमित उडान गर्दै आएका नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सले केही समयका लागि उडान रद्द गरेपछि चाडपर्वको मुखमा स्वदेश फर्किन खोज्ने नेपाली थप अन्योलमा परेका छन्। रियादबाट नेपालका लागि हुने नियमित उडान रद्द ...
: पछिल्लो समय साउदी अरबका विभिन्न क्षेत्रमा भएका ड्रोन तथा क्षेप्यास्त्र आक्रमणका घटनाले यहाँ कार्यरत नेपाली श्रमिकको सुरक्षाबारे चिन्ता बढाएको छ। एक नेपालीको मृत्यु र अन्य ३ नेपाली घाइते भएको घटनासँगै अन्तर्राष्ट्रिय उडान प्रभावित हुँदा स्वदेश फर्कने तयारीमा रहेका नेपालीसमेत अन्योलमा परेका छन्। अक्टोबर २१ मा साउदी अरबको पूर्वी क्षेत्रमा रहेको शैबाह तेल क्षेत्रमा ड्रोन अवरोध ...
— साउदी अरबको साउदी अराम्कोको शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमणको अवशेष खस्दा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ । मन्त्रालयले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । नेपालले सर्वसाधारण नागरिक र महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी ...