: एमाले र नेकपा मिल्दा पनि बागमती प्रदेश सरकार बनाउन २ सिट अपुग देखिन्छ। दुई दलले सातवटै प्रदेश सरकारमा सहकार्य गर्ने भन्दै बागमतीको नेतृत्व एमालेले लिने सहमति शनिबार गरेका थिए। तर, बागमतीमा दुई दलको मात्रै सरकार बन्ने स्थिति छैन।
त्यसैकारण बागमतीमा नयाँ सरकार गठनका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले साना दलसँग छलफल सुरु गरेका छन्। यसअघि नेपाली कांग्र्रेस र नेकपा एमालेको सत्ता गठबन्धन थियो। केन्द्रीय राजनीतिको उतारचढावपछि साउन ६ गते एमाले सरकारबाट बाहिरिएको थियो।
तर, एमाले अध्यक्ष केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच शनिबार सातवटै प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएको थियो। त्यसअनुसार बागमतीको नेतृत्व एमालेले लिने सहमति दुई नेताबीच भएको थियो।
बागमती प्रदेशसभामा सबैभन्दा ठूलो दल कांग्रेसको ३६ सिट छ। नेकपाको २६ सिट र एमालेको २५ सिट छ। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को १२, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ सिट छ। १ सय १० सदस्यीय प्रदेशसभाका ६ जना सदस्यले गत प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिएका थिए।
त्यसैकारण बागमती प्रदेशसभामा हाल १ सय ४ जना सदस्य कायम छन्। नयाँ सरकार गठनका लागि ५३ जना प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ। तर, एमाले र नेकपा मिल्दा पनि ५१ सिट मात्रै हुन्छ। अपुग २ सिटका लागि एमाले र नेकपाले साना दलसँग सहकार्यका लागि छलफल तीव्र पारेका छन्। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले नयाँ सरकार गठनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र हाम्रो नेपाली पार्टीसँग छलफल भइरहेको बताए। उनले भने, ‘राप्रपा र हाम्रो नेपाली पार्टीले नयाँ सरकार गठनको लागि सहयोग गर्छौं भनेका छन्।’ त्यसबारे मंगलबारसम्म टुंगो लाग्ने थपलियाले बताए।
यस्तै, राप्रपाका बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले नयाँ सरकार गठनका लागि आफ्नो दलले सहयोग गर्ने बताए। उनले भने, ‘हामी बागमती प्रदेशलाई अनिर्णयको बन्दी बनाएर राख्दैनौं। निरन्तर छलफल भइरहेको छ। हामी आफ्नो दलको बैठक बसेर भोलि सोमबार वा पर्सिसम्म टुंगो लगाउँछौं।’ राप्रपाले नयाँ सरकार बनाउन निकास निकाल्ने नेता थापाले बताए।
यस्तै, हाम्रो नेपाली पार्टीका संसद् शैलेन्द्रमान बज्राचार्यले नयाँ सरकार बनाउन सहयोगका लागि टेलिफोनमा कुरा भएको बताए। उनले भने, ‘हामी पोजेटिभ छौं।’ राप्रपाको साथ पाएपछि स्वतःसरकार बन्छ। यद्यपि सरकार गठनमा आफ्नो दलको पनि सहयोग आवश्यक परे छलफल गर्न तयार रहेको बज्राचार्यले बताए।
नयाँ मुख्यमन्त्रीमा एमाले भित्रै २ आंकाक्षी
मुख्यमन्त्री लागि एमालेका २ जना नेताले आकांक्षा राखेका छन्। बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया र निवर्तमान स्वास्थ्यमन्त्री किरण थापा मुख्यमन्त्रीका प्रमुख दाबेदारका रूपमा देखिएका छन्। दुवै नेताले पार्टी नेतृत्वसँग आफ्नो पक्षमा निर्णय गराउन आन्तरिक रूपमा लबिङ तीव्र बनाएका छन्। दुई सातादेखि नै थपलिया र थापा लबिङका लागि काठमाडौंमा नै बसिरहेको नेताहरूबीच चर्चा छ।
एमालेले मुख्यमन्त्री कसलाई बनाउने भन्ने विषयमा औपचारिक निर्णय गरिसकेको छैन। यद्यपि बागमती प्रदेश संसदीय दलका नेता थपलियाले मुख्यमन्त्रीको को बन्ने ? भन्ने विषयमा एमालेभित्र समस्या नरहेको बताए। स्वाभाविक रूपमा संसदीय दलको नेतासमेत आफू रहेको भन्दै प्रक्रियागत रूपमा समेत मुख्यमन्त्रीमा आफ्नो दाबी स्वाभाविक रहने उनले बताए। यसअघिको सत्ता गठबन्धनमा रहेको दल एमाले कांग्रेससँग पूर्वसहमतिअनुसार सरकारको नेतृत्व गर्न पाउनुपर्ने पक्षमा थियो। ९ साउन ०८१ मा कांग्रेस र एमालेको संयुक्त सरकार गठन हुँदा नै सरकारको नेतृत्व २०–२० महिना सञ्चालन गर्ने सहमति थियो। सहमतिअनुसार कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा मुख्यमन्त्री बनेका थिए। तर, लामा मुख्यमन्त्री बनेको एक वर्षपछि उनी हटे। कांग्रेस संसदीय दलमा बहुमत जुटाएका इन्द्र बानियाँले अविश्वासको प्रस्ताव दर्ता गरेर उनलाई हटाएका थिए।
आव २०८१/८२ को बजेटमा पार्टीभित्रको विवादलाई मुद्दा बनाएर आफ्नो पक्षमा बहुमत सांसद जुटाउँदै तत्कालीन पार्टी सभापति शेरबहादुर देउवाको समर्थनमा बानियाँले लामालाई सरकारबाट हटाएर २० साउन ०८२ मा मुख्यमन्त्री बनेका थिए। उक्त सहमति कार्यान्ययन भएको खण्डमा समेत आफ्नो दाबी रहने र अब बन्ने सरकारमा समेत संसदीय दलको नेताको हैसियतले आफ्नो दाबी रहने उनको भनाइ थियो।
यस्तै, निवर्तमान स्वास्थ्यमन्त्री एवं एमाले नेता थापाले आफूले २ वर्ष प्रदेशको स्वास्थ्यमन्त्रीको जिम्मेवारी राम्रोसँग पूरा गरेको भन्दै प्रदेशको नेतृत्व गर्न पाउनु पर्ने बताए। उनले भने, ‘स्वास्थ्य मन्त्रालयमा यसअघि राम्रो काम गरेको छु।’ कामको प्रफमेन्स हेरेर साथ दिए प्रदेशकै नेतृत्व गर्न आफू तयार रहेको उनले बताए। थापा पार्टी अध्यक्ष ओली र पार्टी सचिव महेश बस्नेतसँग निकट छन्। यस्तै थपलिया पनि ओली निकट नै मानिन्छन्।