: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी तनावका बीच दुई देशबीच ‘ मित्रवत कुराकानी’ भइरहेको दाबी गरेका छन् । अमेरिका र इरान दुबै देशले लगातार तेस्रो दिन पनि एक-अर्काविरुद्ध कुनै आक्रमण गरेका छैनन् ।
एयर फोर्स वानमा पत्रकारहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले इरानसँगको युद्ध अन्त्य हुने राम्रो सम्भावना रहेको बताएका छन् । यद्यपि, उनले चेतावनी दिँदै यदि यो वार्ता असफल भएमा अमेरिकाले पुनः युद्धविरामअघिकै जस्तो कारबाही सुरु गर्ने बताएका छन्।
अर्कोतर्फ, इरानले भने अमेरिकासँग कुनै पनि प्रत्यक्ष कुराकानी भइरहेको कुरालाई स्वीकार गरेको छैन् । ट्रम्पका अनुसार मध्यस्थता गरिरहेका देशहरूले वार्ताका लागि अर्को एउटा मौका दिन अनुरोध गरेपछि उनले शुक्रबार इरानमाथि हुने भनिएको अमेरिकी आक्रमण रोकेका थिए। इरानले पनि आफ्ना आक्रमणहरू हाललाई स्थगित गरेको छ।
लगभग दुई सातासम्म दैनिक रूपमा भएका अमेरिकी आक्रमण र त्यसको जवाफमा इरानले गरेका जवाफी कारबाहीपछि यो विराम आएको हो। ती आक्रमणहरूले जुन महिनामा भएको युद्धविरामलाई लगभग पूर्ण रूपमा प्रभावहीन बनाइदिएका थिए।
त्यसबेला अमेरिकी सेनाले होर्मुज स्ट्रेट भई गुज्रिने व्यापारिक जहाजहरूका लागि खतरा पैदा गर्ने इरानको क्षमतालाई कमजोर बनाउनु आफ्ना आक्रमणहरूको मुख्य उद्देश्य रहेको बताएको थियो।