। वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र दुर्व्यवहारको घटनापछि देशभरका चिकित्सकले आन्दोलन जारी राखिरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल तथा ओपीडी सेवा बन्द नगर्न आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारीले मन्त्रालयले अस्पताल बन्द गर्न नभनेको स्पष्ट गर्दै केही स्थानमा सेवा सञ्चालन भइरहेको र स्वास्थ्य सेवा निरन्तर प्रवाह हुनुपर्नेमा जोड दिए ।
मन्त्रालयले विज्ञप्तिमार्फत अस्पताल तथा स्वास्थ्य सेवा अवरुद्ध नगर्न अपिल गरिसकेको छ । चिकित्सकहरूको आन्दोलनलाई संवादमार्फत समाधान गर्ने प्रयास भइरहेको अधिकारीले बताए ।
डा. अधिकारीका अनुसार स्वास्थ्यमन्त्री, स्वास्थ्य सचिव तथा मन्त्रालयका उच्च अधिकारीहरू चिकित्सकका प्रतिनिधि, स्थानीय प्रशासन र सम्बन्धित निकायसँग निरन्तर सम्पर्क र समन्वयमा छन् ।
विशेषगरी घटनास्थल वीरगञ्जमा स्थानीय प्रशासन, अस्पताल व्यवस्थापन र चिकित्सकबीच पटक–पटक वार्ता भएको तथा त्यसकै आधारमा समाधान खोज्ने प्रयास भइरहेको उनले जानकारी दिए ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. अनुज भट्टचन वीरगञ्ज पुगेर अस्पताल प्रशासन, चिकित्सक र अन्य सरोकारवालासँग छलफल गरेको तथा प्रमुख जिल्ला अधिकारीले स्थानीय तहमा समन्वय गरिरहेको बताए ।
मन्त्रालयले काठमाडौंबाट समेत निरन्तर फोन र औपचारिक छलफलमार्फत अवस्थाको अनुगमन गरिरहेको उनको भनाइ छ ।
प्रवक्ता अधिकारीले घटनामा संलग्न दोषीमाथि कानुनअनुसार कारबाही हुने विषयमा सम्बन्धित निकायसँग समन्वय भइरहेको पनि बताए ।
‘जो दोषी छ, उसलाई कानुनबमोजिम कारबाही हुन्छ। त्यसका लागि आवश्यक समन्वय भइरहेको छ,’ डा. अधिकारीले अनलाइनखबरसँग भने ।
यद्यपि, चिकित्सकका मागप्रति मन्त्रालय संवेदनशील रहे पनि त्यसको असर बिरामीको उपचारमा पर्न नहुने उनको धारणा छ । अस्पताल आमनागरिकको अन्तिम भरोसाको केन्द्र भएकाले आन्दोलनका नाममा स्वास्थ्य सेवा ठप्प पार्न नहुने मन्त्रालयको भनाई छ ।
‘चिकित्सकहरूको आफ्नै माग र असन्तुष्टि हुन सक्छ । तर अस्पताललाई आन्दोलनको माध्यम बनाउनु उचित हुँदैन । बिरामीका लागि अस्पताल नै अन्तिम आश्रय हो । स्वास्थ्य सेवा संवेदनशील क्षेत्र भएकाले उपचार सेवा निरन्तर सञ्चालन हुनुपर्छ,’ प्रवक्ता अधिकारीले भने ।
मन्त्रालयले संवाद, समन्वय र कानुनी प्रक्रियामार्फत समस्या समाधान गर्ने प्रयास जारी रहेको भन्दै चिकित्सक र सम्बन्धित सबै पक्षलाई संयम अपनाएर स्वास्थ्य सेवा नियमित राख्न पुन: आग्रह गरेको छ ।
नारायणी अस्पतालमा चिकित्सकले भने सामुहिक राजीनामा दिदै आकस्मिक सेवा पनि ठप्प पारेका छन् ।
चिकित्सकमाथिको कुटपिट तथा त्यसपछिको घटनामा प्रशासनले दुर्व्यवहार गरेको आरोप लगाउँदै उनीहरूले प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला प्रहरी प्रमुख (एसपी) को राजीनामा र चिकित्सकलाई कुटपिट गर्ने सिधैं जेल हाल्नुपर्ने उनीहरुको माग छ ।
नेपाल चिकित्सक संघले मंगलबार देशव्यापी रुपमा सेवा नै बन्द गर्न स्वास्थ्य सस्थाकालाई अपिल गरेका छ । जसअनुरुप अधिंकाश स्वास्थ्य सस्थाले आकस्मिक बाहेकका सेवा बन्द गरेका छन् ।
संघका अध्यक्ष डा. बद्री रिजालले सरकार नै संवाद गरेर समाधान निकाल्नुपर्ने बताए । ‘उचित खालको छलफल भएको छैन । चिकित्सकमाथि कुटपिट कदापी सह्य हुँदैन,’ डा. रिजालले अनलाइखबरसँग भने, ‘ कुटपिट गर्नेलाई जेल नहालेसम्म आन्दोलन रोकिँदैन ।’
चिकित्सक संघले दुई बजे छलफलका लागि पदाधिकारीलाई बोलाएको छ । आन्दोलनलाई कसरी अगाडि लैजाने भन्ने कुरामा छलफल हुने डा. रिजालले बताए ।