। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत तीन निकायको पुनर्संरचनाको काम अगाडि बढेको छ ।
मन्त्रालयका अनुसार बृहत जनकपुर क्षेत्र विकास परिषद्, बौद्ध दर्शन प्रवर्द्धन र गुम्बा विकास समितिको पुनर्संरचनाका लागि कार्यदल गठन भएको छ ।
मन्त्रालयका अनुसार अनुत्पादक, दोहोरो कार्यक्षेत्र भएका प्रतिष्ठान, समिति, संस्थान लगायत निकाय पुनर्संरचना, खारेजी एवं स्वीकृति गर्ने सम्बन्धमा अध्ययन भई यी तीन निकायको पुनर्संरचना गर्न लागिएको मन्त्रालयको प्रगति विवरणमा उल्लेख छ ।
मन्त्रालयले नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानलाई एकीकरण गरी नेपाल पर्यटन होटल तथा पर्वतीय प्रतिष्ठानका रूपमा सञ्चालन गर्न थालिएको छ ।
मन्त्रालय सम्बद्ध विभिन्न ऐन, कानुनमा भएको संशोधनबाट १ सय १६ पदाधिकारी पदमुक्त भएका थिए । ७ वटा गठन आदेश र २ विनियमावली संशोधनबाट ३२ पदाधिकारीलाई पदमुक्त गरिएको मन्त्रालयले जनाएको छ ।
रिक्त पदमध्ये नेपाल वायुसेवा निगममा सञ्चालक सदस्य, कार्यकारी अध्यक्ष र नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा समेत पदपूर्ति गरिएको छ ।
यसबाहेक पशुपति क्षेत्र विकास कोष, नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति, बौद्धनाथ क्षेत्र विकास समिति, पाटन दरबार संग्रहालय विकास समिति र हनुमानढोका दरबार विकास समितिका रिक्त पदाधिकारी समेत मनोनयन गरिएको छ ।