— अमेरिकाकी चर्चित पोडकास्टर, योगा प्रशिक्षक तथा व्यवसायी हिलारिया बाल्डविनले आफूले ५ वर्षको उमेरदेखि नै डाइटिङ (खानपानमा नियन्त्रण) गर्न थालेको खुलासा गरेकी छन् । यो सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ, तर विज्ञहरूका अनुसार बालबालिकामा हाल यो समस्या निकै तीव्र रूपमा फैलिरहेको छ ।
‘सिरियस एक्सएम’ को ‘पेज सिक्स रेडियो’ सँगको अन्तर्वार्तामा सात सन्तानकी आमा ४२ वर्षीया बाल्डविनले आफूले दशकौंसम्म खानपानसम्बन्धी मानसिक तथा शारीरिक समस्या ‘इटिङ डिसअर्डर’ सँग जुध्नुपरेको अनुभव सेयर गरेकी छन् । ‘मैले सबै किसिमका समस्या भोगें । एनोरेक्सिया (अत्यधिक कम खानु), बुलिमिया (खाएर बान्ता गर्नु), धेरै खानु र अति कम खानु जस्ता सबै खालका अवस्थाबाट म गुज्रिएँ,’ उनले भनिन्, ‘एक समय त म टुथपेस्टमा कति क्यालोरी होला भन्ने कुरासँग समेत डराउने गर्थें ।’
बालबालिकामा बढ्दो जोखिम
‘एक्युट सेन्टर फर इटिङ डिसअर्डर्स एन्ड सेभियर मालन्यूट्रिसन’ का अनुसार, मानिसहरूले सोचेभन्दा धेरै अघि नै बालबालिकामा यस्तो समस्या सुरु हुन सक्छ । विश्वभर हरेक वर्ष करिब १ करोड ४० लाख मानिसमा ‘इटिङ डिसअर्डर’ देखिन्छ, जसमध्ये ३० लाख त बालबालिका र किशोरकिशोरी नै हुन्छन् ।
अध्ययनहरूले करिब २० प्रतिशत बालबालिकामा खानपानसम्बन्धी असन्तुलन वा अस्वस्थ व्यवहार ‘डिसअर्डर इटिंग’ को लक्षण देखिने उल्लेख गरेका छन् । भलै यस्ता लक्षण देखिने सबै बालबालिका पूर्ण रूपमा ‘इटिङ डिसअर्डर’ को शिकार हुँदैनन्, तर यसले पछि गएर वयस्क उमेरमा गम्भीर स्वास्थ्य समस्या निम्त्याउने जोखिम बढाउँछ ।
बालबालिकालाई कसरी जोगाउने ?
अमेरिकी अभिनेता तथा निर्माता अलेक्जान्डर बाल्डविनकी पत्नि समेत रहेकी अमेरिकाकी प्रख्यात व्यक्तित्व हिलारियाले आफूले सन्तान जन्माउनुअघि नै आफूलाई यो समस्याबाट मुक्त बनाउने दृढ सङ्कल्प लिएको बताइन् । उनले आफ्ना बालबालिकालाई समाजको पातलो हुनुपर्छ भन्ने सामाजिक दबाब ‘डाइट कल्चर’ बाट जोगाउन शारीरिक रूपभन्दा पनि पोषण र शक्तिमा ध्यान दिने रणनीति अपनाएको बताएकी छन् । ‘म मेरा बच्चाहरूसँग शक्ति र ऊर्जाको कुरा गर्छु । यो खानाले तिमीलाई कस्तो महसुस गराउँछ भन्ने विषयमा कुरा गरेर उनीहरूलाई आत्मविश्वासी बनाउने प्रयास गर्छु,’ उनले भनिन् ।
पोषण विज्ञहरूको सुझाव
‘इटिङ रिकभरी सेन्टर’ की क्षेत्रीय मेडिकल निर्देशक डा. एलिजाबेथ वासेनारका अनुसार कसैको शारीरिक बनावट वा रूपरङबारे टिप्पणी गर्नु (चाहे त्यो सकारात्मक होस् वा नकारात्मक) हानिकारक हुन सक्छ । यस्ता टिप्पणीले मानिसको महत्व उसको शरीरसँग मात्र जोडिएको छ भन्ने गलत सन्देश दिन्छ । ‘हामी यो शरीरभन्दा धेरै माथिका हौं । रूपरंगमा मात्र ध्यान केन्द्रित गर्ने सोचले मानिसलाई मानसिक रूपमा ठूलो चोट पुर्याउँछ,’ डा. वासेनारले भनिन् ।