। नेपाल पत्रकार महासंघले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र शान्ति कायम राख्न आग्रह गरेको छ । महासंघका कार्यवाहक अध्यक्ष दीपक आचार्यले शुक्रबार विज्ञप्ति जारी गरेर धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र शान्ति कायम राख्न आग्रह गरेका हुन् ।
संवेदनशील परिस्थितिमा सञ्चारमाध्यम र पत्रकारहरूको भूमिका झन् महत्वपूर्ण, जिम्मेवार र संवेदनशील बन्न आवश्यक रहेकामा महासंघले जोड दिएको छ ।
महासंघले सम्पूर्ण पत्रकार, सञ्चारकर्मी तथा सञ्चारमाध्यमलाई उच्च व्यावसायिक आचरण, पत्रकारिताका स्थापित मान्यता र आचारसंहिताको पूर्ण पालना गर्दै आफ्नो पेशागत दायित्व निर्वाह गर्न पनि आग्रह गरेको छ ।
‘समाचार संकलन, सम्पादन तथा सम्प्रेषणमा संलग्न पत्रकार तथा सञ्चारमाध्यमले कुनै पनि प्रकारको त्रास, अवरोध वा हस्तक्षेपबिना सुरक्षित र स्वतन्त्र रूपमा आफ्नो पेशागत जिम्मेवारी निर्वाह गर्न पाउने वातावरण सुनिश्चित गर्न तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि कुनै पनि प्रकारको अंकुश वा संकुचन हुन नदिन नेपाल सरकार तथा सम्बन्धित सबै पक्षसँग महासंघ जोडदार आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
महासंघले सरकारसँग घटनाको निष्पक्ष, स्वतन्त्र र प्रभावकारी अनुसन्धान गरी दोषीउपर कानूनबमोजिम कारबाही गर्न, पीडित परिवारलाई उचित क्षतिपूर्ति, राहत र न्याय उपलब्ध गराउन तथा नागरिकको जीवन, सम्पत्ति र संवैधानिक अधिकारको प्रभावकारी सुरक्षा सुनिश्चित गर्न माग गरेको छ ।
‘धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र सामुदायिक विश्वासलाई सुदृढ बनाउन आवश्यक संवाद, समन्वय र विश्वास निर्माणका प्रयासलाई तत्काल प्रभावकारी रूपमा अघि बढाउन सम्बन्धित सबै पक्षसँग महासंघ अपिल गर्दछ,’ कार्यवाहक अध्यक्ष आचार्यले भनेका छन् ।
महासंघले सुनसरीलगायत विभिन्न जिल्लामा भएका प्रदर्शन तथा झडपका क्रममा तीन जनाको दुःखद् निधन भएको घटनाप्रति महासंघ गहिरो दुःख व्यक्त गरेको छ ।