मुख्य समाचार
तार व्यवस्थापनका लागि तोकिएको समयसीमाभित्र काम सम्पन्न गर्न नसकेपछि इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान) ले अन्तिम पटकका लागि थप १५ दिनको समय
तार व्यवस्थापनका लागि तोकिएको समयसीमाभित्र काम सम्पन्न गर्न नसकेपछि इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान) ले अन्तिम पटकका लागि थप १५ दिनको समय

। काठमाडौं उपत्यकामा वर्षौंदेखि पोलमा गुजुल्टिएर लत्रिएका तथा प्रयोगविहीन इन्टरनेट, टेलिफोन र केबुलका तार व्यवस्थापनका लागि तोकिएको समयसीमाभित्र काम सम्पन्न गर्न नसकेपछि इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान) ले अन्तिम पटकका लागि थप १५ दिनको समय मागेको छ ।

सूचना तथा सञ्चार मन्त्रालयमा शुक्रबार बसेको सरोकारवाला निकायहरूको बैठकमा आइस्पानले काम सम्पन्न गर्न थप समय आवश्यक रहेको जानकारी दिएको हो । बैठकमा सूचना तथा सञ्चार मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, आइस्पान तथा अन्य सम्बन्धित निकायका प्रतिनिधिको सहभागिता थियो ।

बैठकमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले अव्यवस्थित तार व्यवस्थापनको प्रगति, कार्यान्वयनका क्रममा देखिएका समस्या र समाधानका उपायबारे विस्तृत समीक्षा गर्दै तोकिएको समयसीमाभित्र काम सम्पन्न हुन नसकेको विषयप्रति असन्तुष्टि जनाए । उनले काममा देखिएका वास्तविक समस्या सरकारले सुन्ने र समाधानका लागि आवश्यक सहयोग गर्न तयार रहेको स्पष्ट पार्दै अब परिणाममुखी भएर काम गर्न निर्देशन दिए ।

‘तार व्यवस्थापन गर्ने कामलाई सरकारले निष्कर्षमा पुर्‍याएरै छाड्छ । यसमा तपाईहरू स्पष्ट हुनुहोस्,’ आइस्पानसँग सञ्चारमन्त्री डा तिमिल्सिनाले भने, ‘काम गर्दै जाँदा केही दिन ढिला हुन सक्छ, तर अब अनिश्चित रूपमा समय लम्ब्याउन सकिँदैन ।’ अव्यवस्थित तार व्यवस्थापनमा के–कस्ता समस्या देखिएका छन् र ती समस्या समाधानका लागि सरकारले के गर्न सक्छ भन्नेबारे समयमै जानकारी गराउन पनि सञ्चारमन्त्री तिमिल्सिनाले आग्रह गरे ।


बैठकमा सञ्चारमन्त्री तिमिल्सिनाले अव्यवस्थित तार व्यवस्थापन सेवा प्रदायकहरूको कानुनी तथा व्यावसायिक दायित्व भएको स्पष्ट पारे । उनले दीर्घकालीन समाधानका लागि सरकार नीतिगत र कानुनी सुधारमा स्पष्ट रहेको उल्लेख गर्दै एउटै पूर्वाधार विभिन्न सेवा प्रदायकले साझा रूपमा प्रयोग गर्न सक्ने व्यवस्था सम्भव छ कि छैन भन्ने विषयमा समेत अध्ययन गर्न निर्देशन दिए ।

उनले भने, ‘तोकिएको समयमा काम सम्पन्न नहुनु भनेको आइस्पानको असफलता हो । दोस्रो असफलता नियामक नेपाल दूरसञ्चार प्राधिकरणको हो । यी दुवैले काम गर्न नसकेको जिम्मेवारी अन्ततः मन्त्रालयले पनि लिनुपर्छ । त्यसैले विगतबाट पाठ सिकेर अघि बढ्नुहोला ।’ उनले काम गर्ने क्रममा आउने समस्या समाधानमा सरकार पछि नहट्ने तर काम नै नगर्ने प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पारे ।

‘आइस्पानले फेरि १५ दिनको समय मागेको छ । तर यसअघि तपाईँहरूले नै साउन १५ गतेभित्र काम सक्ने प्रतिबद्धता गर्नुभएको थियो । अब मागिएको समयमा पनि काम सकिन्छ भन्ने विश्वसनीय आधार चाहिन्छ,’ उनले भने ।

बैठकमा आइस्पानका प्रमुख कार्यकारी अधिकृत सुभास खड्काले अव्यवस्थित तार व्यवस्थापनका लागि काठमाडौं उपत्यकामा पहिलो चरणमा निर्धारण गरिएका छ वटा रुटमध्ये हालसम्म करिब ५८ प्रतिशत कार्य सम्पन्न भएको जानकारी दिए । उनका अनुसार काठमाडौं उपत्यकासँगै देशका अन्य स्थानमा पनि तार व्यवस्थापनको काम भइरहेको छ । यो समस्याको दीर्घकालीन समाधानका लागि छुट्टै पूर्वाधार कम्पनी स्थापना आवश्यक रहेको आइस्पानको भनाइ छ ।

नेपाल विद्युत् प्राधिकरणले विद्युत् लाइन भूमिगत गर्दा इन्टरनेट तथा केबुल सेवाका तार व्यवस्थापनका लागि पर्याप्त पूर्वाधार नबनेको विषय पनि आइस्पानले छलफलमा उठाएको छ । कलङ्की–थानकोट, चाबहिल–बौद्धलगायत क्षेत्रमा पाइलट परियोजनाका रूपमा सेवा प्रदायक आफैले भूमिगत इन्टरनेट तार विस्तार गरिरहेको जानकारी दिँदै आइस्पानले अहिले जनशक्ति थप्ने तयारी भइरहेको बताएको छ ।

नेपाल विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार प्राधिकरणबाट आवश्यक जनशक्ति फिल्डमा नखटिने, प्रहरीले कामदारलाई रोक्ने, ट्राफिक प्रहरीले भर्याङ हटाइदिने, दक्ष कामदारको अभाव रहनेजस्ता समस्या रहेको पनि आइस्पानको गुनासो थियो । अब कामलाई छरिएर धेरै स्थानमा अघि बढाउनु भन्दा उपलब्ध जनशक्तिलाई एउटै क्षेत्रमा केन्द्रित गरी छिटो सम्पन्न गर्ने रणनीति अपनाइने पनि आइस्पानले जनाएको छ ।

गत असार ३१ गते सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठको संयुक्त उपस्थितिमा बसेको उच्चस्तरीय अन्तरनिकाय बैठकमा आइस्पानले पहिलो चरणअन्तर्गत काठमाडौँ उपत्यकाका छ वटा क्षेत्रमा साउन १५ गतेभित्र अव्यवस्थित तार व्यवस्थापन सम्पन्न गर्ने प्रतिबद्धता जनाएको थियो ।

सोही बैठकबाट नेपाल दूरसञ्चार प्राधिकरणले नेतृत्वदायी तथा नियामकीय भूमिका निर्वाह गर्ने, सबै सेवा प्रदायकले आफ्ना तारमा स्पष्ट पहिचान खुल्ने ट्याग अनिवार्य राख्ने, सम्बन्धित निकायबीच नियमित समन्वय गर्ने तथा प्रगतिको निरन्तर समीक्षा गर्दै नागरिकले छिटो परिणाम अनुभूति गर्ने गरी काम अघि बढाउने निर्णय भएको थियो ।

पहिलो चरणमा त्रिपुरेश्वर–कालिमाटी–कलङ्की, जडीबुटी–पेप्सीकोला, त्रिपुरेश्वर–लाजिम्पाट, सामाखुशी–टाउन प्लानिङ–गोंगबु, कीर्तिपुर क्षेत्र तथा पुरानो बानेश्वर–गौशाला–चाबहिल गरी छ वटा रुटमा तार व्यवस्थापन गर्ने लक्ष्य निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल दूरसञ्चार प्राधिकरणले देशभित्र फाइभजी मोबाइल सेवा सुरु गर्ने तयारीलाई अघि बढाउन मोबाइल सेवा प्रदायक कम्पनीहरूलाई चरणबद्ध कार्ययोजना तयार गरी पेश गर्न निर्देशन दिएको छ । साथै देशभर फोरजी सेवाको विस्तार र गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै मोबाइल सेवाको समग्र स्तर उकास्न आठ बुँदे निर्देशन जारी गरिएको छ । प्राधिकरणले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार दूरसञ्चार ऐन, ...
। मेटाको एउटा एआई मोडलले साइबर सुरक्षा टेस्टको क्रममा अर्को कम्पनीको सिस्टम ह्याक गरेको छ। एन्थ्रोपिक र ओपनएआईमा भएका यस्तै घटनापछि मेटाको यो घटनाले एआई प्रणालीको नियन्त्रणबारे चिन्ता बढाएको छ। इररेगुलर नामक स्वतन्त्र कम्पनीले मेटाका लागि साइबर सुरक्षा मूल्याङ्कन गर्ने गर्छ। इररेगुलरको कन्फिगरेसन त्रुटिका कारण मेटाको एआई मोडलले इन्टरनेटमा पहुँच पाएको थियो। मेटाले एक विज्ञप्तिमा भनेको छ, ...
। एक प्रयोगकर्ताले बाल यौन शोषण सामग्री सेयर गरेपछि एप्पलले आफ्नो एप स्टोरबाट टेलिग्रामलाई केही समयका लागि हटाएको छ। टेलिग्रामले मङ्गलबार यो जानकारी दिएको हो। टेलिग्रामले उक्त सामग्री हटाएर सम्बन्धित प्रयोगकर्तालाई प्रतिबन्ध लगाएपछि एप स्टोरमा टेलिग्राम पुनः उपलब्ध भएको छ। एप्पलका प्रवक्ताले यो कुराको पुष्टि गरेका छन्। एप हटाउने र पुनः राख्ने काम एकै दिनमा भएको ...
। माइक्रोसफ्टले होटलका वाइफाइ नेटवर्क प्रयोग गर्दा सावधानी अपनाउन चेतावनी दिएको छ। रुस समर्थित ह्याकरहरूले होटल तथा सार्वजनिक ठाउँका वाइफाइ नेटवर्कलाई निसाना बनाइरहेका छन्। माइक्रोसफ्ट थ्रेट इन्टेलिजन्सका अनुसार यो आक्रमणमा ‘स्टोर्म-२९४५’ नामको ह्याकिङ समूह संलग्न छ। ह्याकरहरूले होटेल, विमानस्थल वा सम्मेलन हुने ठाउँका वाइफाइमा लगइन गर्दा देखिने ‘क्याप्टिभ पोर्टल’को दुरुपयोग गरिरहेका छन्। प्रयोगकर्ताहरू वाइफाइमा कनेक्ट हुन ...
गुगलले गुगल हेल्थ एपको नयाँ ५.०५ भर्सन सार्वजनिक गरेको छ। यो अपडेट आईओएस र एन्ड्रोइड दुवै प्रयोगकर्ताका लागि उपलब्ध हुन थालेको छ। विगतका केही हप्तामा आएका चार ठूला अपडेटपछि यो नयाँ अपडेट आएको हो। यस अपडेटले आईओएस प्रयोगकर्ताका लागि विशेष सुविधा ल्याएको छ। अब गुगल हेल्थको डेटा एप्पल हेल्थ एपमा शेयर गर्न सकिन्छ। जस्तै फिटबिट एयरबाट रेकर्ड ...