— चीन सीमाअन्तर्गत उत्तरी गोरखाका चुमनुब्री गाउँपालिका–१ को रुइला र वडा नं. ७ को डुइला नाका निश्चित अवधिका लागि खुलेपछि स्थानीयवासी दैनिक उपभोग्य सामग्री खरिद गर्न तिब्बतको बजार जान थालेका छन्।
असार अन्तिम सातादेखि दुवै नाका सञ्चालनमा आएपछि सीमावर्ती बस्तीका बासिन्दाको आवतजावत बढेको छ। तर यस पटक वनलसुन र यार्सागुम्बाले तिब्बती बजारमा भाउ नपाएको स्थानीयले बताए ।
नाका खुलेसँगै दैनिक उपभोग्य तथा अत्यावश्यक सामग्री खरिदका लागि स्थानीय तिब्बतको बजार जान थालेको चुमनुव्री गाउँपालिका–७ का वडाध्यक्ष टसि दोर्जे लामाले बताए । ‘आफ्नै घोडा लिएर स्थानीयहरु नुन तेल, चामललगायतका सामग्री किन्न तिब्बतको बजार जाने गरेका छन्,’ उनले भने,‘दुरीका हिसाबले गोरखाको तल्लो बजार भन्दा माथि तिब्बत पुग्न छोटो पर्छ ।’
ads/1440x233ekantipurcomcombinesummerkv-0462026073435.jpg
सीमा क्षेत्रका स्थानीयले यार्सागुम्बा, वनलसुनलगायतका जडीबुटी तिब्बतको बजारमा बिक्री गरेर दैनिक उपभोग्य सामग्री खरिद गर्ने गर्थे । तर यस पटक वनलसुन र यार्सागुम्बाले तिब्बती बजारमा भाउ नपाएको उनले बताए । ‘यस पटक चिनियाँ मुद्रा (युआन)को भाउ बढेको रहेछ, नाका खुले पनि यार्सा र लसुनले भाउ पाएन, ब्यापारी पनि यार्सा खोज्दै आएका छैनन्,’ उनले भने,‘ यस पटक स्या भन्ने ठाउँसम्म मात्र पुग्न दिएको छ, यसो हुँदा पनि यस पटक पहिलो जस्तो छेकम्पारतिरबाट सामान किन्न मान्छे गएका छैनन् ।’
छेकम्पारबाट एक दिनको यात्रामा स्या पुगिन्छ । ‘बिहानै घोडा चढेर हिँडे साँझसम्म स्या पुगिन्छ, भोलिपल्ट सामान किनेर फर्कदा मु गुम्बासम्म आएर बास बसिन्छ,’ उनले भने,‘आफ्नो घोडामा सामान ल्याउन पाइने भएकाले ढुवानी भाडा पर्दैन, सामानको लागत तिरे हुने भएकाले तिब्बतको बजारबाट सामान खरिद गर्ने चलन छ ।’
ads/multiple-banner-1-d-1022026052847.jpg
ads/multiple-banner-2-d-1022026052940.jpg
ads/multiple-banner-3-d-1022026053028.jpg
After the Rui La and Dui La border points opened, people from northern Gorkha set out for shopping
यस वर्ष अगस्त १० तारेखसम्मका लागि छेकम्पार तर्फको डुइला नाका चीन सरकारको तर्फबाट एकतर्फी खुल्ला गरेको पनि उनले सुनाए । दुरीका हिसाबले गोरखाको आरुघाट, गोरखा बजार आइपुग्न भन्दा छेकम्पारबाट तिब्बतको स्यानजिक पर्ने स्थानीय बताउँछन् ।
सामागाउँतर्फको रुइला नाका भएर सामागाउँ, ल्हो र प्रोकका स्थानीयले दैनिक उपभोग्य सामाग्री खरिद गर्ने गर्छन् । ‘नाका खुलेको बेला पिठो, नुन, तेललगायत घरमा चाहिने सबै सामग्री ल्याउँछाैं । अहिले धेरै मान्छे घोडा र याक लिएर सामान किन्न गएका छन्,’ चुमनुव्री–१ का साम्दोका कर्मा लामाले भने,‘सिमेन्ट, रड तथा घर बनाउन चाहिने सामग्री पनि हामीलाई तिब्बतबाट ल्याउन छोटो पर्छ, निर्माणका सामग्री लिन जानेहरु पनि धेरै छन् ।’
ads/hardik-niskula-opd1440270-2-30320260940361-1042026074814.jpg
भाउका हिसाबले उस्तै परे पनि दुरी छोटो भएकाले ढुवानी सहज बनेको उनले सुनाए । ‘दुरी छोटो भएकाले एक दिनमा पुगिन्छ, गोरखाकै तलबाट सामान ल्याउनुपरे कम्तीमा दुई दिन लाग्छ,’ लामाले भने,‘आफ्नौ घोडा प्रयोग गरेर ढुवानी गर्दा पनि सहज हुने हो ।’
३५ नम्वर पिलरनजिकै पाल टाँगेर तिब्बतीले सामान बिक्रीका लागि राख्ने गरिएको उनले सुनाए । ‘३५ नम्बर पिलर नजिकै पाल टाँगेर सामन राखेको हुन्छ, यताबाट घोडा लिएर जाने अनि चाहिएको सामान ल्याउने हो,’ कर्माले भने ।
सीमा क्षेत्रका स्थानीयले हाल खच्चडमार्फत लागतको तेब्बर ढुवानी मूल्य तिरेर गोरखाकै तल्लो क्षेत्रको आरुघाट, आर्खेतलगायतका बजारबाट उपभोग्य सामग्री गाउँ पुर्याउने गरेका छन् । गोरखाको तल्लो बजारबाट खच्चडमार्फत उपभोग्य सामग्री पुर्याउन तीनदेखि चार दिन लाग्ने गर्छ । नाका खुलेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले चुमनुव्री–१ को चीन सीमा क्षेत्रमा रहेको ३५ नम्बर सीमा स्तभ्भ क्षेत्रमा संयुक्त सीमा सुरक्षा गस्ती पनि गरेका छन् । मंगलबार सामागाउँ प्रहरी चौकी र सशस्त्र प्रहरी सुरक्षा बेस साम्दोको टोली र जनप्रतिनिधि रुइला नाका पुगेका थिए । नाका पनि खुलेको बेला प्रहरी टोलीले संयुक्त रुपमा सुरक्षा गस्ती गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिसपी राजकुमार श्रेष्ठले बताए ।