— सिरहाको गोलबजारमा भएको घटनामा ज्यान गुमाएका १५ वर्षीय गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति भएको छ।
मृतकको परिवार र सरकारबीच शुक्रबार राति सम्झौता भएको हो। वार्ताका लागि पीडित परिवारले गृहमन्त्री गुरुङलाई ८ घण्टाभन्दा बढी प्रतीक्षा गरेका थिए। गुरुङ लहानमा भेटघाटमा व्यस्त देखिएका कारण सम्झौतामा ढिलाइ भएको थियो।
अबेर राति भएको सम्झौतामा मृतकका बुवा रामवृक्ष यादव र गृहमन्त्री सुदन गुरुङले हस्ताक्षर गरेका छन्।
सहमतिअनुसार गृह मन्त्रालयले मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने, परिवारलाई नेपाल सरकारका तर्फबाट १० लाख रुपैयाँ राहत उपलब्ध गराउने तथा घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको छ।
त्यस्तै, मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, घटनाको अध्ययनका लागि गठित छानबिन समितिको प्रतिवेदनका सुझाव तथा सिफारिस कानुनबमोजिम कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउने उल्लेख छ।
यस्तै, गणेश यादवको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा गाउँपालिकाको उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गर्न आवश्यक पहल गर्ने र पार्क निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाउने सहमति भएको छ।
मृतकका दाजु र बहिनीको निःशुल्क शिक्षाको व्यवस्था मिलाउने तथा उनकी आमाको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था नेपाल सरकारका तर्फबाट मिलाउने प्रतिबद्धता पनि गृह मन्त्रालयले जनाएको छ।