— बर्दिबासको कालापानीमा शनिबार बिहानदेखि स्थानीयले अबरुद्ध गरेको बीपी राजमार्ग सञ्चालनमा आएको छ।
आन्दोलनरत स्थानीय र स्थानीय प्रशासन बीच अनौपचारीक सहमति भएपछि बिहानदेखि अबरुद्ध राजमार्ग सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक गुरुप्रसाद तिमिल्सिनाले बताए।
डिभिजन वन कार्यालयका कर्मचारीलाई नियन्त्रणमा लिएर सरकारी गाडीमा आगजनी गर्नेमाथि दर्ता भएको मुद्दा फिर्ता हुनुपर्ने माग राख्दै स्थानीयले बीपी राजमार्ग अबरुद्ध गरेपछि प्रमुख जिल्ला अधिकारी इन्द्रदेव र प्रहरी उपरीक्षक श्यमकुमार सारुमगर वार्ता गर्न बर्दिबास पुगेका थिए ।
राजमार्ग अबरुद्ध गरी आन्दोलित भएका बर्दिबास नगरपालिका–३ कालापानीका स्थानीयसँग कुनै पनि लिखित सहमति गर्ने अवस्था नहुँदा कानुन अनुसार स्थानीय प्रशासनले समन्वय गर्ने मौखिक सहमति भएपछि राजमार्ग खुलेको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।
कालापानीमा शनिबार बिहानदेखि स्थानीयले सडक अबरुद्ध गर्दा यातायातका साधन ठप्प भएको थिए। चक्काजामका कारण बर्दिबास हुँदै काठमाडौं तर्फ जाने सवारीसाधन रोकिँदा यात्रु अलपत्र परेका थिए ।
गत जेठ ११ मा वन अतिक्रमण हटाउने सूचना लिएर कालापानी पुगेका डिभिजन वन कार्यालयका कर्मचारीलाई स्थानीयले नियन्त्रणमा लिएर कार्यालयको बा२झ २७४९ नम्बरको गाडीमा आगजनीमा संलग्न आरोपमा ४ जनामाथि दर्ता भएको मुद्दा फिर्ता लिनुपर्ने माग गर्दै शनिबार स्थानीयले राजमार्ग अबरुद्ध गरेका थिए ।