: बुटवल पाल्पा सडक खण्डमा निर्माणाधीन अवस्थामा रहेको मुलुकको दोस्रो सिद्धबाबा सुरुङमार्ग सम्झौता अगावै पूरा हुने तयारीमा छ। ६९ प्रतिशत भौतिक प्रगति गरेको सुरुङमार्ग निर्माणको अन्तिम म्याद चैत मसान्तसम्म छ। निर्माणस्थलमा चौबिसै घण्टा काम भइरहेको छ। नागढुंगापछिको यो दोस्रो सडक सुरुङमार्ग हो।
बुटवल–पाल्पा सडक खण्डलाई बर्खाको समयमा धेरैले मृत्युमार्गको रूपमा हेर्ने गरेका छन्। यात्रुहरूले बर्सेनि यही सडकमा ज्यान गुमाएका छन्। चालु आर्थिक वर्षको चैत मसान्तसम्म निर्माण पूरा गर्ने निर्माण कम्पनीसँग सम्झौता भए पनि दसैं–तिहारलगत्तै सुरुङमार्ग निर्माणको काम पूरा हुने योजना कार्यालयले जनाएको छ। तर, सुरुङमार्ग निर्माणस्थलको क्षेत्रमा अत्यावश्यक सवारीसाधन सञ्चालन गर्नै नमिल्ने गरी सडक अवरुद्ध भएमा सुरुङबाट बाइपास गर्न सकिने योजना कार्यालयले जनाएको छ।
भौतिक प्रगति ६९ प्रतिशत
सिद्धबाबा सुरुङमार्ग योजना कार्यालय बुटवलका अनुसार, सुरुङमार्गको हालसम्म भौतिक प्रगति ६९ दशमलव १० प्रतिशत भएको छ। यो प्रगति २०८३ असार ३२ गतेसम्मको हो। योजना कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर सौम्य आनन्दका अनुसार आगामी चैत मसान्तभित्र निर्माण पूरा गर्ने सम्झौता छ। तर, त्यसअघि नै गाडीहरू नियमित सञ्चालन गर्ने गरी सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।
‘दसैं–तिहारलगत्तै सञ्चालन गर्ने गरी काम भइरहेको छ’, आनन्दले भनिन्, ‘सम्झौता चैतसम्म भए पनि हामी त्यसअघि नै सुरुङमार्ग सञ्चालन गर्छौं।’ उनका अनुसार आकस्मिक गाडीहरू सडक अवरुद्ध भएर रोकिएमा सुरुङमार्ग हुँदै पठाउन सकिने व्यवस्था रहेको छ। तर, त्यसका लागि बिरामी बोकेको एम्बुलेन्स हुनुपर्ने आनन्दले सुनाइन्। उनका अनुसार सुरुङमार्ग निर्माणस्थलको उत्तर र दक्षिणतर्फ ‘कन्ट्रोल रुम’ निर्माणाधीन अवस्थामा छन्। दुवै भवनको हालसम्म करिब ५० प्रतिशत काम सम्पन्न भइसकेको छ।
वित्तीय प्रगति ६३ प्रतिशत
योजना कार्यालयका सूचना अधिकारी आनन्दका अनुसार सुरुङमार्गको हालसम्म वित्तीय प्रगति ६३ दशमलव ५५ प्रतिशत पूरा भइसकेको छ। योजनाको कुल लागत मूल्य अभिवृद्धि कर (भ्याट) सहित ७ अर्ब ३४ करोड हो। सुरुङमार्गको कुल लम्बाइ कट तथा कभरसहित १ हजार १ सय २६ मिटर हो। त्यसमध्ये मुख्य सुरुङको लम्बाइ १ हजार ८९ मिटर छ।
तीनवटा बाइपास निर्माण गरिएको छ। पहिलो बाइपासको लम्बाइ १ सय ४८ दशमलव ०९५ मिटर, दोस्रोको १ सय ५८ दशमलव ३ सय ७६ मिटर र तेस्रो बाइपासको लम्बाइ १ सय २८ दशमलव ३८१ मिटर छ। यी सवैको भौतिक निर्माणको काम शतप्रतिशत पूरा भइसकेको छ।
सुरुङमार्ग निर्माणको ठेक्का ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन’ ले लिएको छ। इन्जिनियर आनन्दका अनुसार, पाँच वर्षभित्र निर्माणको काम पूरा गर्नेगरी २०७८ साल फागुनमा योजनाको सम्झौता गरिएको थियो। सुरुङ मार्ग निर्माणका लागि स्विस सरकारले सहयोग गरेको छ। सुरुङमार्ग निर्माण क्षेत्रमा १ सय ५० बढी कर्मचारीहरूले अहिले दिनरात काम गरिरहेका छन्।
भौतिक पूर्वाधार निर्माणको मुख्य काम सकिएपछि अब लाइटिङ जडान, भेन्टिलेटर र फायरफाइटिङलगायतका कामहरू गर्न बाँकी रहेको इन्जिनियर आनन्दले जानकारी गराइन्। ‘लाइटिङको काम गर्नका लागि पनि सामानहरू आउँदैछन्’, उनले भनिन्, ‘सकेसम्म दसैं, तिहारलगत्तै सुरुङमार्गबाट गाडीहरू गुड्न मिल्ने गरी काम भइरहेको छ।’ उनका अनुसार योजना कार्यालय अहिले भाडाको भवनमा सञ्चालन भइरहेको छ। योजना कार्यालयलाई आफ्नै भवनमा सञ्चालन गर्नेगरी बुटवलस्थित सडक डिभिजन कार्यालय परिसरमा भवन निर्माणाधीन अवस्थामा छ। कार्यालय भवन निर्माण भइरहे पनि सुरुङमार्ग सञ्चालनमा त्यसले बाधा नपुर्याउने उनले प्रतिक्रिया दिइन्।
अब, बन्ने छैन मृत्युमार्ग
बर्खामा सधैं सास्ती खेपिरहेका यात्रुहरूले सुरुङमार्ग निर्माण भएपछि राहत पाउने भएका छन्। लुम्बिनी प्रदेशका पहाडी जिल्ला गुल्मी, अर्घाखाँची, पाल्पा, प्यूठानसहित गण्डकी प्रदेशको स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दीका नागरिकहरू यसबाट प्रत्यक्ष लाभान्वित हुनेछन्। सिद्धार्थ राजमार्ग भएर यात्रा गर्ने यात्रुहरूलाई बुटवल पुग्न पाँच किलोमिटर मात्र बाँकी हुँदा यही सडकले तर्साउने गरेको छ। सुरुङमार्ग निर्माणबाहेकको अप्ठ्यारो ठाउँमा रक सेडसहितको सडक निर्माण हुँदैछ। जसले गर्दा सिद्धबाबा क्षेत्रको डरलाग्दो भूगोलभरि सडक सहज हुनेछ।
यस सडक क्षेत्रमा डरलाग्दो भिर छ। बर्खामा गाडी गुडिरहेकै बेला माथिबाट ठूलाठूला ढुंगा र पहिरो खस्दा नागरिकहरू पुरिएर अकालमै ज्यान गुमाएका छन्। कतिपय नागरिकको पहिरो र ढुंगाले फालेर तिनाउ नदीमा पुर्याएर ज्यान गुमाएका छन्। घरबाट निस्किएर बुटवल यात्रा गरेकाहरू गन्तव्यमा नपुग्दासम्म घरपरिवारलाई जहिल्यै त्रासको माध्यम यही सडक बनिरहेको छ। पश्चिम नेपालमा निर्माण भएको यो नै एकमात्र सुरुङमार्ग हो। बर्खाको समयमा मृत्युमार्गको रूपले चिनिने सिद्धबाबा सडक सुरुङमार्ग निर्माणले त्यसको परिचय बदलिने नागरिकले प्रतिक्रिया दिएका छन्। कडा चट्टानसहितको सडकमा बर्खाभरि दिनहुँ पहिरो झरेर दुर्घटना हुने गरेका छन्।
सुरुङमार्ग देख्दा उत्साहित छौं
मालिका गाउँपालिका–५ छापहिलेका जिप चालक बसन्त श्रीषले गुल्मीदेखि बुटवलसम्म जिप चलाउन थालेको १२ वर्षभन्दा बढी भयो। उनी दिनहुँ यही सडक भएर ओहोरदोहोर गर्छन्। बुटवल गुल्मीका नागरिकको प्रमुख बसोवास गर्ने थलो हो। बसाइँ सरेर तराईमा आउने प्रमुख सहर पनि गुल्मीका लागि बुटवल नै हो। जिप चालक श्रीषको अनुभवले पनि यतिका वर्षसम्म गाडी चलाउँदा सबैभन्दा त्रासको ठाउँ सिद्धबाबा क्षेत्र भएको सुनाउँछन्।
‘५/६ घण्टाको यात्रा गरेर गाउँबाट बुटवल बजार पुगिन्छ’, उनले भने, ‘घण्टौं यात्रा गर्दा नलागेको त्रास बुटवल पुग्नै लाग्दामात्र पाँच किलोमिटरमा मात्र लाग्ने गर्छ।’ अप्ठ्यारोसहितको सिद्धबाबा सडक र बुटवल बजारको दूरी पाँच किलोमिटर मात्र छ। उनले सुरुङमार्ग निर्माणले गति लिएको देख्दा आफूहरूलाई खुसी लागेको प्रतिक्रिया दिएका छन्।
यात्रुहरूको चाप बढी हुँदा दसैं, तिहारमा उनले दिनमै दुई/तीन पटक ओहोरदोहोर गर्नुपर्ने बाध्यता रहेको समेत उनले सुनाए। ‘सिद्धबाबा काटेपछि ज्यान जोगिएजस्तो अनूभुति हुन्छ’, उनले भने, ‘गाडीभित्र बसेका यात्रुहरूले पनि सिद्धबाबा पार गरेपछि घरपरिवारलाई फोन गरेर सिद्धबाबा कट्यौं भनेर खबर गर्नुहुन्छ। त्यसैले पनि यो सडक धेरै डरलाग्दो सडकको रूपमा सबैले चिन्ने गरेका छन्।’ सिद्धबाबा सडक क्षेत्रमा दुर्घटनामा परेका प्रायःजसो नागरिकको अकालमै ज्यान गरेको छ।
यही सडक भएर मुस्ताङसहित पोखराका लागि आन्तरिक तथा बाह्य पर्यटकहरू दिनहुँ आउजाउ गर्छन्। लुम्बिनीदेखि मुक्तिनाथको यात्रा गर्नेहरूका लागि पनि यो प्रमुख सडक हो। भैरहवास्थित भारतीय सिमाना नजिक भएकाले यो क्षेत्र अन्य जिल्लाका नागरिकहरूको प्रमुख व्यापारिक थलोको रूपमा परिचित छ।
दैनिक हजारौं सवारी ओहोरदोहोर
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार सिद्धबाबा सडक हुँदै सानाठूला गरी दैनिक सात हजार सवारीसाधनहरू आउजाउ गर्ने गर्छन्। अरू क्षेत्रमा समस्या नभए पनि सिद्धबाबा सडक क्षेत्रमा दुर्घटनाको जोखिम दिनहुँ बढ्दो छ। बितेको तीन आर्थिक वर्षमा दुर्घटनामा परी १० जना यात्रुहरूको अकालमै ज्यान गएको थियो।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक निशान थापाले सिद्धबाबा सुरुङमार्ग निर्माण पुरा भएपछि यस क्षेत्रको जोखिम न्यूनीकरणमा धेरै राहत पुग्ने सुनाए। ‘यहाँ ट्राफिक व्यवस्थापनभन्दा पनि सडक सुरक्षाको धेरै चुनौती छ’, उनले भने, ‘माथिबाट ढुंगा खस्ने र पहिरो जाने गर्दा नागरिकहरूले अकालमै ज्यान गुमाउनु परेको छ। यस क्षेत्रमा सुरक्षाले जति बेला पनि सेवा दिइरहेका छन्।’ उनका अनुसार व्यस्त सडकमध्ये यो पनि प्रमुख हो।
सिद्धबाबा सुरुङले आशा पलायो
निर्माणको अन्तिम चरणमा रहेको सिद्धबाबा सुरुङमार्गले नागरिकलाई आशा जगाएको बुटवलमा बस्दै आएका छत्रकोट गाउँपालिका—२ पल्लीकोट गुल्मीका युवा प्रकाश खनालले प्रतिक्रिया दिए।
‘२० वर्षदेखि म यही सडक भएर बुटवल गुल्मी आउजाउ गर्दै आएको छु’, खनालले भने, ‘धेरै वर्षपछि सुरुङमार्ग निर्माण पूरा हुँदैछ। धेरै खुसी लागेको छ।’ उनले सहज सडक नहुँदा यो क्षेत्रमा धेरै कठिन हुने गरेको समेत अनुभव सुनाए। ‘आँखैअगाडि धेरैले ज्यान गुमाएको देखियो। कतिपय चिनेका साथीहरूले पनि अकालमै ज्यान गुमाए’, उनले भने, ‘विपत्ति खबर गरेर आउँदैन, सडक सजिलो हुनैपर्छ।’
सुरुङको लम्बाइ कम भयो
बनेको सुरुङ धेरै राम्रो भए पनि त्यसको लम्बाइ कम भएको पश्चिम नेपाल बस व्यवसायी संघ रूपान्त्रित प्रालि बुटवलका अध्यक्ष दधिराम खरेलले प्रतिक्रिया दिए। यो सडकमा पश्चिम नेपालका गाडीहरू पाँच/पाँच मिनेटको अन्तरमा गुड्छन्। ‘त्रासमा गाडी चलाउने चालक र यात्रुलाई बन्दै गरेको सुरुङमार्गले आत्मबल बढाएको छ’, उनले भने, ‘तर, सुरुङको लम्बाइ थोरै भयो। सम्बन्धित निकायले यसतर्फ ख्याल गर्नुपर्दथ्यो भएन्। आगामी दिनमा यसतर्फ ध्यान दिनुपर्छ।’
यो सडक सवारीलाई मात्र नभएर पैदल यात्रीका लागि समेत त्रासको सडक हो। पश्चिम नेपाल देशकै सबैभन्दा धेरै व्यवसायीहरू भएको प्रालि हो। जहाँ २४ सय गाडीहरू छन्। सुरुमार्ग क्षेत्र बाहेक माथिल्लो र तल्लो सिद्धबाबा क्षेत्रको बुटवलतर्फ ९ सय ४ र पाल्पातर्फ १ हजार ४ सय ९४ मिटर सडकको समेत स्तरोन्नतिको काम भइरहेको छ। पहिरो खस्ने क्षेत्रमा सडकमाथि छत (रक सेड) बन्दैछ।
रूपन्देही— २ का तत्कालीन संघीय सांसद् एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको निरन्तरको चासो र जोडबेलका कारण सिद्धबाबा सुरुङमार्ग निर्माणको काम अघि बढेको हो। व्यापारिक एवं औद्योगिक हिसाबले बुटवल, भैरहवा क्षेत्र लुम्बिनी प्रदेशको प्रमुख थलोको रूपमा रहेको छ। भैरहवाको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल, ६/६ लेनको निर्माण सम्पन्न बुटवल नारायणगढ, बुटवल गोरुसिंगे सडकसहित सिद्धार्थ राजमार्ग यी क्षेत्रका मुहार बदल्ने योजना हुन्। सुरुङमार्ग निर्माणसँगै बुटवलमा सञ्चालनमा रहेका लुम्बिनी र सिद्धार्थ केबलकारले समेत यस क्षेत्रको चहलपहल बढाएका छन्।