: नवलपरासीका सीमावर्ती बजार क्षेत्रबाट भारततर्फ ग्यासको कालोबजारी हुने गरेको पाइएको छ । नेपालका केही जिल्लामा ग्यास अभाव भएको गुनासो आइरहेका बेला नवलपरासीको महेशपुर, पाल्हीन्नदन, सरावल, प्रतापपुरलगायतका सीमावर्ती क्षेत्रका बजारबाट नेपाली ग्यास भारतीय उपभोक्तालाई महँगो मूल्यमा बिक्री भइरहेको गुनासो आएको छ ।
नेपाली उपभोक्ता जाँदा ‘ग्यास छैन’ भन्ने तर भारतबाट आएका ग्राहकसँग बढी रकम लिएर ग्यास उपलब्ध गराउने गरेको महेशपुरका एक उपभोक्ताले बताएका छन् । भारतीय बजारमा समयमै ग्यास उपलब्ध नहुने भएकाले सीमावर्ती नेपाली व्यवसायीहरुले बढी मूल्यमा बिक्री गर्ने गरेका छन् । भारतीय नागरिकले खाली ग्यास सिलिन्डर नेपाल ल्याउने र त्यही सिलिन्डरमा नेपाली ग्यास पल्टी (खन्याएर) गरेर भारत लैजाने क्रम बढेको हो ।
केही समयअघिसम्म नेपालमा आधा सिलिन्डर ग्यास मात्रै पठाइने गरे पनि अहिले भने पूरा सिलिन्डर नै भरेर पठाउने गरिएको छ । नेपालमा एक सिलिन्डर (फुल सिलिन्डर) को मूल्य २ हजार ६० छ । तर पल्टी गरेर भारत पठाउँदा व्यवसायीहरुले प्रतिसिलिन्डर ३ हजार ४ सयसम्म असुल्ने गरेको स्थानीयले बताएका छन् । आधा लैजान चाहनेसँग प्रतिकेजी २ सय ५० रुपैयाँका दरले ग्यास भरेर दिने गरेको बताइएको छ ।
भारतमा आधारकार्ड (परिचय पत्र) का आधारमा प्रतिपरिवारलाई प्रतिमहिना एक सिलिन्डर मात्रै ग्यास दिने व्यवस्था छ । उक्त सिलिन्डरले अपुग भएपछि सीमावर्ती भारतीय नागरिकहरु नेपालमा आएर ग्यास लैजाने गरेको बताइएको छ । यसैबीच नेपालबाट भारततर्फ ग्यासको कालोबजारी भएको गुनासो आएपछि सीमावर्ती क्षेत्रमा निगरानी बढाएर त्यसलाई तत्काल रोक्न सशस्त्र प्रहरीलाई निर्देशन दिइएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए ।
उनले बजारमा आउने एक कम्पनीको ग्यास केही कम देखिए पनि अन्य कम्पनीका ग्यास भने पर्याप्त मात्रामा उपलब्ध रहेकाले अभाव नरहेको बताए । कुनै पनि व्यवसायीले कृत्रिम अभाव सिर्जना गर्ने र भारततर्फ अवैध रुपमा ग्यासको कालोबजारी गरेको पाइएमा कानुनअनुसार कारबाही हुने प्रमुख जिल्ला अधिकारी नेपालको भनाई छ ।