: निलगाईसँग मोटरसाइकल ठोक्किँदा महोत्तरीको बर्दिवासमा एक जनाको मृत्यु भएको छ । बर्दिबास नगरपालिका–३ काँरेभोगटेस्थित बीपी राजमार्गमा आइतबार भएको सो दुर्घटनामा परी जनकपुरधाम उपमहानगरपालिका–१ घर भएका ३२ बर्षीय बिनयकुमार साहको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार बर्दिबासबाट भिमानतर्फ जाँदै गरेको मधेश प्रदेश ०२–००७ प १९०९ नम्बरको मोटरसाइकलले सडक काट्दै गरेको निलगाईलाई ठक्कर दिएको थियो । उक्त दुर्घटनामा परी मोटरसाइकल चलाईरहेका बिनयकुमार साह घाइते भएका थिए । उनलाई उपचारको लागि बर्दिवासस्थित जनसेवा अस्पताल लगिएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
सोही मोटरसाइकलको पछाडि सवार धनुषाको हंसपुर नगरपालिका–३ निवासी ४० वर्षीय रबिन्द्र साह घाइते भएका छन् । दाहिने खुट्टा भाँचिएका रविन्द्रको उपचार भईरहेको र उनको स्वास्थ्य अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । यता मोटरसाइकलको ठक्करबाट निलगाईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न मोटरसाइकल इलाका प्रहरी कार्यालय बर्दिबासको नियन्त्रणमा रहेको छ ।