: पाकिस्तानस्थित विश्वको १२ औं अग्लो हिमाल ब्रोड पीक आरोहणका क्रममा गएको विनाशकारी हिमपहिरोमा परी मृत्यु भएका पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ सहित ६ नेपाली आरोहीको शव स्वदेश ल्याउन पहल अगाडि बढाइएको छ ।
परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै साउन १४ गते (३० जुलाई २०२६) ब्रोड पीकको करिब ६,६०० मिटर उचाइमा क्याम्प–२ बाट क्याम्प–३ जाने क्रममा आएको हिमपहिरोमा परी निम्स दाइसहित पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पाको निधन भएको जनाएको छ । दुर्घटनामा उनीहरूसँगै आरोहणमा रहेका अन्तर्राष्ट्रिय टोलीका सदस्यहरूको पनि ज्यान गएको मन्त्रालयले जनाएको छ ।
नेपाली आरोहीहरू संलग्न टोली बेपत्ता भएको जानकारी प्राप्त हुनासाथ पाकिस्तानका सम्बन्धित निकाय तथा नेपाली पर्वतारोहीहरूको टोलीले खोज तथा उद्धार कार्यलाई तीव्र दिइएको समेत विज्ञप्तीमा उल्लेख गरेको छ । कठिन हिमाली भूभागमा खोजी तथा उद्धारमा खटिएका पाकिस्तानी र नेपाली टोलीको साहसिक प्रयासको मन्त्रालयले प्रशंसा गरेको छ ।
दुर्घटनामा निधन भएका नेपाली आरोहीहरूमध्ये पुरबहादुर गुरुङ ‘युक्ता’ र ग्यालु शेर्पाको शव फेला परिसकेको र अन्य आरोहीहरूको खोजी कार्य अझै जारी रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले दिवंगत नेपाली आरोहीहरूको शव स्वदेश फिर्ता ल्याउन पाकिस्तानस्थित नेपाली राजदूतावास, इस्लामाबादमार्फत आवश्यक सहजीकरण भइरहेको जनाएको छ । यस दुःखद घटनाप्रति नेपाल सरकार तथा परराष्ट्र मन्त्रालयले गहिरो दुःख व्यक्त गर्दै दिवंगत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । यस्तै शोकसन्तप्त परिवारजनप्रति मन्त्रालयले गहिरो समवेदना व्यक्त गरेको छ ।