। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विपिनकुमार आचार्यले संसदीय समितिमा परेका उजुरी वर्षौंसम्म टुंगोमा नपुग्ने अवस्था रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा सांसदहरूलाई उजुरी वितरण गरी अध्ययन तथा छलफल प्रक्रिया अगाडि बढाएको हो ।
उक्त छलफलमा भाग लिँदै रास्वपा महामन्त्री समेत रहेका आचार्यले समितिमा आउने उजुरीलाई छुट्टाछुट्टै घटनाका रूपमा मात्र नभई समग्र प्रवृत्तिका रूपमा विश्लेषण गरेर कारबाही प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिए ।
‘हामीले समितिमा आएको उजुरीहरूलाई एउटा उजुरीभन्दा पनि समग्रमा कस्तो खालको उजुरी आएको छ भन्ने कोणबाट बहस गर्नुपर्छ होला । यो हामीले उजुरी आएको छ यस्तो गफ गरेजस्तो गरौँ भन्ने कुरा भएन । समितिमा आएका प्रत्येक उजुरीहरूलाई हामीले सेन्सेटिभ केस बनाएर यस्ता कुराहरू भविष्य दोहोरिन नदिनको लागि के के कुरा गर्ने हो त ? भन्ने कोणबाट कुरा गरौं,’ उनले भने ।
महिला आयोगकी अध्यक्षमाथि विगत १३ वर्षदेखि भ्रष्टाचारको आरोप लागेको भएपनि अहिलेसम्म टुंगोमा नपुगेको उल्लेख गरे । सांसद आचार्यले उजुरीमाथिको कारबाही प्रक्रियामा ढिलाई हुँदा उजुरीकर्ताले आरोपित व्यक्तिमा समेत अन्योलको वातावरण बन्ने गरेको तर्फ समितिको ध्यानाकर्षण गराए ।
‘१३ वर्ष अगाडि एउटा केस भएर त्यसपछि उक्त व्यक्तिले महिला आयोग जस्तो संवैधानिक आयोगको जिम्मेवारी सम्हालेर रिटायर्ड हुने बेलासम्म पनि हामी केस हेर्दैनौँ भने हामी कसरी काम गर्दैछौं ?,’ उनले भने, ‘यदि महिला आयोगको अध्यक्षले कमजोरी गर्नुभएको छैन भने उहाँले हालसम्म पनि भ्रष्टाचारको आरोप त बोकिरहनुभएको छ नि । यो त उहाँमाथि पनि अन्याय भएको हो नि । यस्ता केसहरू भविष्यमा कसरी समाधान गर्ने भन्ने विषयमा हामीले भविष्यमा ध्यान दिनुपर्छ ।’