: नेपाल भलिबल संघले यस आर्थिक वर्षका लागि वार्षिक कार्यक्रम सार्वजनिक गर्दा प्रतियोगितालाई प्राथमिकतामा राखे पनि नेपाली भलिबलको दीर्घकालीन विकासका लागि अत्यावश्यक मानिने ग्रासरुट कार्यक्रम, प्रशिक्षक प्रशिक्षण, नियमित प्रशिक्षण र प्रतिभा पहिचानका योजनालाई भने महत्व नै दिएन।
संघले हरेक वर्ष विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितालाई आफ्नो वार्षिक क्यालेन्डरमा समेट्दै आएको छ। तर, प्रतियोगिता आयोजना र सहभागितामै केन्द्रित कार्यक्रमले खेलाडी उत्पादनको आधार बलियो बनाउने, नयाँ प्रतिभा खोज्ने र उनीहरूलाई नियमित प्रशिक्षणमार्फत राष्ट्रिय स्तरसम्म पुर्याउने विषय भने ओझेलमा पर्दै गएको भलिबलका जानकारहरूको बुझाइ छ।
नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले वार्षिक कार्यक्रम घोषणा गर्दा सबै कार्यक्रमलाई समेट्न नसकेकाले विद्यालय तहदेखि नै ग्रासरुट कार्यक्रमलाई सञ्चालन गरिने बताए। ‘नेपालको राष्ट्रिय खेल भलिबलको विकास र विस्तारका लागि संघले हरसम्भव रूपमा काम गर्दै आएको छ। सरसर्ती हेर्दा वार्षिक कार्यक्रम प्रतियोगिता केन्द्रित देखिए पनि ग्रासरुट कार्यक्रमलाई पनि संघले महत्वका साथ प्राथमिकतामा राखेको छ’, महासचिव श्रेष्ठले भने।
भलिबलमा नेपालले पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा राम्रो सम्भावना देखाउँदै आएको छ। विशेषगरी महिला भलिबलमा राष्ट्रिय टोलीले प्राप्त गरेको सफलता र लोकप्रियताका कारण देशभर यस खेलप्रति आकर्षण बढेको छ। विद्यालय, कलेज तथा स्थानीय तहमा भलिबल खेल्ने युवाको संख्या पनि उल्लेख्य छ। तर, यही बढ्दो आकर्षणलाई व्यवस्थित रूपमा प्रतिभा विकासमा रूपान्तरण गर्ने दीर्घकालीन योजना भने पर्याप्त रूपमा अघि बढाउन संघले सकेको छैन। महासचिव श्रेष्ठ ग्रासरुट कार्यक्रम सञ्चालन गर्न लामो समय चाहिने र पूर्वाधार पनि राम्रो हुनुपर्ने भएकाले तत्काल आँट गर्न नसकिएको बताए। ‘ग्रासरुट कार्यक्रम सञ्चालन गर्न लामो समय लाग्छ भने पूर्वाधार पनि चाहिन्छ। हामीसँग पूर्वाधारको अभाव छ। त्यही कारण चाहँदाचाहँदै पनि ग्रासरुटका कार्यक्रम सञ्चालन गर्न सकिरहेका छैनौं’, उनले भने।
पूर्वअन्तर्राष्ट्रिय खेलाडी एवं भलिबलका मुख्य प्रशिक्षक जगदीश भट्ट संघले आफ्नो क्षमता र दक्षताका आधारमा रहेर वार्षिक कार्यक्रम घोषणा गरेको उल्लेख गर्दै संघका कार्यक्रम भलिबल खेलको विकासका लागि महŒवपूर्ण रहेको बताए। ‘वार्षिक कार्यक्रम संघले आफ्नो दक्षता र क्षमताका आधारमा गर्ने हो। संघले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामार्फत नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने लक्ष्य राखेको छ’, मुख्य प्रशिक्षक भट्टले भने, ‘हाम्रा खेलाडीले स्वदेशमै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाउने छन्। यो सकारात्मक छ।’
विशेषज्ञहरूका अनुसार कुनै पनि खेलको विकास प्रतियोगिता आयोजना गरेर मात्र सम्भव हुँदैन। त्यसका लागि बालबालिकालाई सानै उमेरदेखि खेलमा आकर्षित गर्ने ग्रासरुट कार्यक्रम, विद्यालयस्तरीय प्रशिक्षण, प्रशिक्षक उत्पादन, प्रतिभा पहिचान, नियमित प्रशिक्षण र उमेर समूहका खेलाडीलाई क्रमशः माथिल्लो स्तरमा लैजाने संरचना आवश्यक हुन्छ। तर, भलिबल संघको वार्षिक कार्यक्रम हेर्दा यस्ता आधारभूत पक्षभन्दा प्रतियोगितालाई नै मुख्य प्राथमिकता दिइएको देखिन्छ। ‘ग्रासरुट’ कार्यक्रमलाई भलिबलको भविष्य निर्माण गर्ने आधारका रूपमा लिइन्छ। यही तहबाट खेलाडी पहिचान र विकास हुन सकेमा आगामी दिनमा राष्ट्रिय टोलीका लागि पर्याप्त प्रतिभा उत्पादन गर्न सकिन्छ। तर, नेपालमा प्रतिभा पहिचानका कार्यक्रम नियमित र देशव्यापी रूपमा सञ्चालन हुन नसक्दा ग्रामीण क्षेत्र तथा विद्यालय तहमा रहेका सम्भावनायुक्त खेलाडी अवसरबाट वञ्चित हुने अवस्था छ।
नेपालमा भलिबलको पहुँच अन्य धेरै खेलको तुलनामा व्यापक छ। गाउँदेखि सहरसम्म भलिबल खेलिने भएकाले संघले स्थानीय तह, प्रदेश, विद्यालय र क्लबलाई समेटेर दीर्घकालीन प्रतिभा विकास कार्यक्रम सञ्चालन गर्न सक्ने प्रशस्त सम्भावना छ। तर, प्रतियोगितामुखी वार्षिक क्यालेन्डरले यो सम्भावनालाई संस्थागत रूपमा उपयोग गर्न नसकेकोमा भने आलोचना पनि हुँदै आएको छ।
अर्कोतर्फ, नियमित प्रशिक्षणको अभाव पनि नेपाली भलिबलको प्रमुख चुनौतीका रूपमा देखिएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता नजिकिएपछि मात्र खेलाडीलाई प्रशिक्षणमा राख्ने प्रवृत्तिले दीर्घकालीन प्रदर्शनमा असर पार्न सक्छ। खेलाडीको शारीरिक क्षमता, प्राविधिक दक्षता, रणनीतिक ज्ञान र मानसिक तयारी विकास गर्न वर्षभरि नै योजनाबद्ध प्रशिक्षण आवश्यक हुन्छ। विशेषगरी उमेर समूहका खेलाडीका लागि नियमित प्रशिक्षण र प्रतियोगिताको संयोजन महŒवपूर्ण हुन्छ। यू–१५, यू–१७, यू–१९ तथा यू–२१ तहमा निरन्तर प्रशिक्षण र प्रतियोगिता सञ्चालन गर्न सकेमा राष्ट्रिय टोलीको ‘ब्याकअप’ बलियो बनाउन सकिन्छ। तर यस्ता कार्यक्रम पर्याप्त रूपमा सञ्चालन नहुँदा राष्ट्रिय टोलीमा नयाँ खेलाडी प्रवेश गर्ने प्रक्रिया पनि सहज बन्न सकेको छैन।
भलिबलका मुख्य प्रशिक्षक भट्ट १० वटा ठूला प्रतियोगिता अघि एक÷दुई महिना प्रशिक्षण हुने बताउँछन्। ‘खेलाडीले प्रशिक्षण नै पाउँदैनन् भन्ने हुँदैन। ठूला प्रतियोगिता अघि हामीले तयारी गर्नै पर्छ। त्यसका लागि प्रशिक्षण मुख्य प्राथमिकतामा पर्छ’, मुख्य प्रशिक्षक भट्टले भने।
भलिबल संघले प्रतियोगिता आयोजना गर्नु सकारात्मक पक्ष भए पनि त्यसको प्रभाव दीर्घकालीन बनाउन प्रतियोगितासँगै खेलाडी विकासका कार्यक्रमलाई समान प्राथमिकता दिनुपर्ने आवश्यकता देखिन्छ। प्रतियोगिताले तत्काल खेलाडीलाई प्रतिस्पर्धाको अनुभव दिन्छ भने ग्रासरुट र प्रशिक्षणले भविष्यका खेलाडी तयार गर्छ। यी दुवै पक्षलाई सन्तुलित रूपमा अघि बढाउन नसकिएमा अहिलेको लोकप्रियता र सफलतालाई दीर्घकालीन उपलब्धिमा रूपान्तरण गर्न कठिन हुन सक्छ।
खेल विज्ञहरू संघको वार्षिक कार्यक्रमलाई ‘प्रतियोगिता क्यालेन्डर’ भन्दा पनि ‘भलिबल विकासको रणनीतिक योजना’ का रूपमा विकास गर्नुपर्ने बताउँछन्। त्यसका लागि विद्यालयस्तरमा नियमित प्रशिक्षण, जिल्लास्तरमा प्रतिभा खोजी, प्रदेशस्तरमा विकास टोली, उमेर समूहका राष्ट्रिय प्रशिक्षण तथा प्रशिक्षक विकास कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने उनीहरूको सुझाव छ।
नेपालले अन्तर्राष्ट्रिय स्तरमा बलियो उपस्थिति जनाउने लक्ष्य राख्ने हो भने राष्ट्रिय टोलीमा केही स्थापित खेलाडीको प्रदर्शनमा मात्र निर्भर भएर पुग्दैन। त्यसका लागि देशभरबाट निरन्तर रूपमा नयाँ प्रतिभा उत्पादन हुने प्रणाली आवश्यक हुन्छ। ग्रासरुटदेखि राष्ट्रिय टोलीसम्मको स्पष्ट ‘पाइपलाइन’ निर्माण गर्न सके मात्र नेपाली भलिबलले दिगो सफलता हासिल गर्न सक्छ। त्यसैले नेपाल भलिबल संघले आगामी दिनमा प्रतियोगिताको संख्या बढाउनेभन्दा पनि प्रतियोगिता, प्रशिक्षण र प्रतिभा विकासबीच सन्तुलन कायम गर्नुपर्ने देखिन्छ। संघको वार्षिक कार्यक्रममा ग्रासरुट विकास, विद्यालय तथा उमेर समूहको प्रशिक्षण, प्रशिक्षक क्षमता अभिवृद्धि र प्रतिभा पहिचानलाई स्पष्ट रूपमा समेट्न सके नेपाली भलिबलको भविष्य अझ बलियो बन्न सक्छ।
अहिलेको आवश्यकता प्रतियोगिता मात्र होइन, प्रतियोगिताका लागि खेलाडी उत्पादन गर्ने संरचना निर्माण गर्नु हो। भलिबलको
बढ्दो लोकप्रियतालाई अन्तर्राष्ट्रिय सफलतामा रूपान्तरण गर्ने हो भने संघले अब आफ्नो प्राथमिकता ‘आजको प्रतियोगिता’ बाट ‘भोलिको खेलाडी’ निर्माणतर्फ पनि उत्तिकै केन्द्रित गर्नुपर्ने देखिन्छ।