: गत आर्थिक वर्ष २०८२/८३ मा काठमाडौैं उपत्यकामा ५ हजार ८ सय ३ सवारी दुर्घटना भए। तीमध्ये ४ हजार १ सय २६ दुर्घटना चालकको लापरवाहीका कारण भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार ८ सय ५९ तीव्र गतिका कारण दुर्घटना भएका थिए। जसमा ५ सय २२ दुर्घटना मादक पदार्थ सेवन (मापसे), १ सय ७४ यान्त्रिक कमजोरी, ५९ दुर्घटना चालक अनुमतिपत्र नभएका कारण र ४१ दुर्घटना गलत दिशाबाट ओभरटेकका कारण भएका थिए। यस्तै, २२ दुर्घटना भने मौसम र चौपायाका कारण भएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए।
उपत्यकामा सबैभन्दा बढी चाबहिल क्षेत्रमा २ सय ५५ दुर्घटना भएका थिए। मित्रपार्कमा १ सय ५०, बालकुमारीमा १ सय २१, भोटेबहाल चोकमा १ सय १३ धुम्बाराहीमा ९० वटा दुर्घटना भएका थिए। जसमा २ सय १६ जनाले ज्यान गुमाएका थिए। यस्तै, उपत्यकामा आर्थिक बर्ष ०८१/८२ मा ७ हजार १ सय ६९ वटा सवारी दुर्घटना हुँदा १ सय ९० जनाको मृत्यु भएको थियो। आर्थिक वर्ष २०८०/८१ मा १ हजार ५ सय ३६ वटा सवारीसाधन दुर्घटना हुदा ३ सय १५ जनाको मृत्यु भएको थियो।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता सुवेदीका अनुसार गत आवमा उपत्यकामा सबैभन्दा धेरै दुर्घटना शुक्रबार र शनिबारका दिन भएका थिए। बिदाका दिन मापसे गरी सवारी चलाउने प्रवृत्ति बढेका कारण दुर्घटना पनि बढेको प्रवक्ता सुवेदीले जनाए।
उनका अनुसार सबैभन्दा बढी दुर्घटना साउन र पुस महिनामा हुने गरेका छन्। साउनमा बर्खाका कारण बाटो चिप्लो हुने, सडकमा पानी जम्ने र खाल्डाखुल्डीका कारण दुर्घटना निम्तिने गरेका छन्। ‘सडक पूर्वाधारमा असुविधा, भौगोलिक जटिलता र सबैभन्दा बढी मानवीय कमजोरीले सडक दुर्घटना बढेका छन्,’ उनले भने, ‘सवारीसाधन चलाउँदा मोबाइल फोनको प्रयोग, तीव्र गति, मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउँदा दुर्घटना हुने गर्छ।’
ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनीकरण गर्न जेब्रा क्रसको प्रयोग गर्न ठाउँ ठाउँमा सचेतना बोर्ड राख्ने, लामो दूरीका सवारीलाई हेल्प डेस्कमार्फत मौसमको अवस्थाबारे जानकारी दिनेजस्ता कार्यहरू अपनाउँदै आइएको उनले बताए।
‘सडक दुर्घटना भइसकेपछिको अवस्थामा घाइतेलाई बोक्ने एम्बुलेन्समा पर्याप्त स्वास्थ्य सामग्री हुँदैनन्,’ उनले भने। जसले गर्दा प्राथमिक उपचारमा ढिलाइ भएकाले झनै अप्ठ्यारो अवस्था भोग्नु परिरहेको उनले बताए। ‘कम्तीमा एक जना स्वास्थ्यकर्मी र पर्याप्त स्वास्थ्य सामग्री भइदियो भने केही हदसम्म उद्धार गर्न सजिलो हुने थियो,’ उनले भने।