: मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटवालसँग कोशी प्रदेश प्रहरी कार्यालयले स्पष्टीकरण मागेको छ। विराटनगर महानगरपालिका-७ गोश्वारा रोडस्थित व्यवसायी बेनी गोपाल मुन्दडाको घरमा ठूलो संख्यामा प्रहरी परिचालन गरी खानतलासी गरिएको घटनाबारे स्पष्टीकरण सोधिएको हो।
कोशी प्रदेश प्रहरी कार्यालयले उक्त घटनासम्बन्धी प्राप्त सूचना, उपलब्ध विवरण तथा प्रारम्भिक तथ्यका आधारमा प्रहरीको निर्णय प्रक्रिया, कानुनी आधार र कार्यसम्पादनबारे गम्भीर प्रश्न उठेकाले लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो।
प्रदेश प्रहरी कार्यालयले एसपी कटवालसँग मुन्दडाको घरमा प्रहरी परिचालन गर्ने निर्णय कुन सूचना वा विश्वसनीय गोप्य सूचनाका आधारमा गरिएको थियो, उक्त सूचनाको प्रमाणीकरण कसरी गरिएको थियो र कसको विश्लेषणका आधारमा निर्णय लिइएको थियो भन्नेबारे स्पष्ट पार्न भनेको स्रोतको भनाइ छ।
त्यस्तै ठूलो संख्यामा प्रहरी परिचालन गर्नुको कारण, परिचालन आदेश कसले, कहिले र कुन जीडी इन्ट्रीका आधारमा जारी गरेको थियो भन्ने विवरण पनि मागिएको छ। खानतलासीका लागि आवश्यक कानुनी प्रक्रिया, स्वीकृति र प्रचलित कानुनी व्यवस्थाको पालना भए/नभएको, उक्त कारबाहीबाट बरामद भएका सामग्रीको विवरण तथा आपराधिक प्रमाण नभेटिएको अवस्थामा यति ठूलो प्रहरी परिचालन गर्नुको औचित्यसमेत स्पष्ट गर्न कटवाललाई भनिएको छ।
उक्त घटनाले विराटनगरका उद्योगी-व्यापारी र सर्वसाधारणमा त्रास सिर्जना गरेको तथा प्रहरी संगठनको व्यावसायिक छविमा असर परेको भन्ने विषयमा आफ्नो धारणा पनि पेश गर्न एसपी कटवाललाई निर्देशन दिइएको छ।