: लुम्बिनी प्रदेशमा पाँच वर्षमा ७ हजार ८ सय ६६ सवारी दुर्घटना भएका छन्। दुर्घटनामा परी २ हजार ५ सय २५ जनाको मृत्यु भएको छ। यो राष्ट्रिय सडक सुरक्षा परिषदले सार्वजनिक गरेको तथ्यांक हो।
दुर्घटनामा ५ हजार ४ सय १६ जना गम्भीर तथा ६ हजार ८ सय ४ जना सामान्य घाइते भएका छन्। पाँच वर्षको सवारी दुर्घटनाको तथ्यांकले दुईपाङ्ग्रे सवारीसाधन सबैभन्दा बढी दुर्घटनामा पर्ने गरेको देखाएको छ। आर्थिक वर्ष २०७७/०७८ देखि २०८१/०८२ सम्म जिल्लागत रूपमा रुपन्देहीमा सबैभन्दा धेरै दुर्घटना भएको छ।
पाँच वर्षको अवधिमा दुईपाङ्ग्रे सवारीसाधन ६ हजार २ सय ७१ दुर्घटनामा परेका छन्। यो संख्या कार तथा जिपको तुलनामा करिब पाँच गुणा बढी हो। कार तथा जिप १ हजार १ सय ४५, ट्रक तथा ट्यांकर ५ सय ९१, बस ५ सय ७३, ट्याम्पो ५ सय ४७, ट्र्याक्टर ५ सय ४५, टिप्पर ३ सय २, माइक्रोबस १ सय ५६, डोजर, लोडर तथा एक्साभेटर ३६ र अन्य ९१ वटा सवारी दुर्घटनामा परेका छन्।
जिल्लागत विवरणमा रुपन्देहीमा सबैभन्दा बढी १ हजार ७ सय ६६ दुर्घटना भएका छन्। ती दुर्घटनामा ५ सय ८४ जनाको मृत्यु भएको छ भने एक हजार एक सय ३६ जना गम्भीर घाइते भएका छन्। दुईपाङ्ग्रे सवारी चालक र यात्रु सबैभन्दा बढी दुर्घटनाको जोखिममा रहेको देखाएको छ। सडकको अवस्था, सवारीको प्राविधिक गुणस्तर, चालकको लापरबाही र ट्राफिक नियमको पालनामा कमजोरी दुर्घटनाका प्रमुख कारणका रूपमा औंल्याउने गरिएको छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवालाई सचेत, अनुशासित र जिम्मेवार बनाउन सके सवारी दुर्घटनामा उल्लेख्य कमी ल्याउन सकिने बताएका छन्। प्रदेश स्तरीय सडक सुरक्षा सम्बन्धी कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना हुने गरेको र त्यसमा विशेषगरी १६ देखि ३० वर्ष उमेर समूहका युवाको संलग्नता तथा क्षति बढी देखिएको बताए। उनले यसलाई प्रदेशकै सबैभन्दा ठूलो चुनौती र चिन्ताको विषयका रूपमा उल्लेख गरे।