: प्रहरीले तीन महिनाको अवधिमा हात हतियारसम्बन्धी मुद्दामा देशभरबाट ८४ जनालाई पक्राउ गरेको छ । प्रहरीले गत वैशाख १ गतेदेखि असार मसान्तसम्म देशभरबाट हातहतियारसम्बन्धी मुद्दामा संलग्न ८४ जनालाई पक्राउ गरेको हो ।
जसमध्ये उपत्यकाबाट ८ जना, कोशी प्रदेशबाट १४ जना, मधेश प्रदेशबाट ११ जना, बागमती प्रदेशबाट ५ जना, गण्डकी प्रदेशबाट १८ जना, लुम्बिनी प्रदेशबाट १३ जना, कर्णाली प्रदेशबाट १० जना र सुदूरपश्चिम प्रदेशबाट ५ जना पक्राउ परेका हुन् । पक्राउ परेका व्यक्तिहरूबाट चाईनिज पेस्तोल २ थान, पेस्तोल २ थान, रिभल्वर १ थान, कटुवा पेस्तोल ९ थान, भरूवा बन्दुक ४१ थान, बन्दुक ९ थान र एयरगन ३ थान गरी जम्मा ६७ थान हातहतियार बरामद भएको छ ।
साथै उनीहरूबाट चाईनिज पेस्तोलको गोली ४ राउण्ड, एसएलआरको गोली २ सय ६३ राउण्ड, कटुवा पेस्तोलको १४ राउण्ड र विभिन्न बन्दुकमा लाग्ने गोली ७० राउण्ड समेत बरामद भएको छ । अवैध हातहतियार कारोबारी तथा प्रयोगकर्तालाई पक्राउ गरी कानुनी दायरामा ल्याई अपराधमुक्त समाज निर्माण र अपराध नियन्त्रणका लागि नेपाल प्रहरीले क्रियाशील छ ।