। उपभोक्ताको भान्सामा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन र आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन नेपाल आयल निगमले ‘क्विक रेस्पोन्स टिम’ गठन गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा गठित यो टिमले आजैदेखि आफ्नो कार्य औपचारिक रूपमा सुरु गरेको निगमले जनाएको छ ।
ग्यास आपूर्तिमा देखिने तत्कालीन समस्याहरूलाई तत्काल समाधान गर्न मन्त्रालय, आयल निगम, उद्योग विभाग तथा ग्यास व्यवसायीका प्रतिनिधिहरू सम्मिलित यो विशेष संयन्त्र बनाइएको हो ।
क्विक रेस्पोन्स टिममा उद्योग मन्त्रालयका तर्फबाट मंगल बिष्ट, नेपाल आयल निगमबाट इन्दु श्रेष्ठ र उपेन्द्र सुवेदी तथा ग्यास उद्योगीका तर्फबाट आयुष नेपाल र कुलप्रसाद राई सदस्य रहेका छन् ।
देशका कुनै पनि स्थानमा एलपी ग्यासको अभाव वा वितरणमा अवरोध देखिएमा यो टिमले तत्काल समन्वय गरी समाधान गर्ने मुख्य उद्देश्य राखेको जनाएको छ ।
निगमको हटलाइनमा प्राप्त हुने गुनासोका आधारमा सम्बन्धित उद्योग, डिलर तथा व्यवसायीसँग समन्वय गरेर उपभोक्तासम्म ग्यास पुर्याउने व्यवस्था मिलाइने निगमले जनाएको छ ।
पछिल्लो समय बजारमा ग्यास अभाव भएर उपभोक्ता कामकाज छोडेर लाइन लाग्न बाध्य भएका छन् । यही समस्या सम्बोधन गर्न यो संयन्त्र क्रियाशील बनाइएको हो । टिमले कार्यालय समयभित्र प्राप्त हुने गुनासोहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्दै तत्काल निकास दिने गरी कार्यविधि तय गरेको छ ।
ग्यास आपूर्ति सम्बन्धी कुनै समस्या वा गुनासो भएमा उपभोक्ताले कार्यालय समयभित्र नेपाल आयल निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न सक्नेछन् ।
उक्त नम्बरमा प्राप्त हुने जानकारीका आधारमा क्विक रेस्पोन्स टिमले आवश्यक पहल गरी आपूर्ति सहज बनाउने निगमको भनाइ छ ।