। चितवन भरतपुरमा भूमिगत विद्युत् वितरण प्रणाली जडान अन्तिम चरणमा पुगेको छ ।
नेपाल विद्युत् प्राधिकरणले भूमिगत केबुल प्रणालीमा विद्युत् चार्ज (लोड परीक्षण) सुरु गरिसकेको छ भने करिब ३ सय सेवाग्राहीका घरमा भूमिगत लाइन मार्फत विद्युत् आपूर्ति सुरु भइसकेको छ ।
प्राधिकरणका अनुसार पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत हालसम्म समग्र भौतिक प्रगति ९४ प्रतिशत पुगेको छ । अब मुख्य रूपमा ग्राहकका घरमा अन्तिम जडान गर्ने काम बाँकी छ । आयोजनालाई आगामी असोजभित्र पूर्णरूपमा सञ्चालनमा ल्याउने लक्ष्य छ ।
भरतपुर महानगरपालिकाको ६ लेन सडक र बाइपास सडक आसपास करिब २० किलोमिटर क्षेत्रमा भूमिगत विद्युत् वितरण प्रणाली विस्तार गरिएको छ । यो प्रणाली सञ्चालनमा आएपछि करिब १ हजार ३ सय ग्राहक प्रत्यक्ष लाभान्वित हुनेछन् ।
हाल केन्द्रीय बस टर्मिनलदेखि नहरचोकसम्म दायाँतर्फका घर, गणेशस्थान क्षेत्र तथा चितवन मेडिकल कलेजदेखि चौबिसकोठीसम्म भूमिगत प्रणालीबाट विद्युत् वितरण सुरु भइसकेको छ ।
यसैगरी आँपटारी-केन्द्रीय बस टर्मिनल, केन्द्रीय बस टर्मिनल-पुलचोक, आँपटारी-पोखरा बसपार्क तथा भरतपुर सबस्टेसनदेखि भाटभटेनी नजिक नहरसम्म भूमिगत केबुल विस्तार सम्पन्न भइसकेको छ । अहिले प्रणालीमा विद्युत् चार्ज गरी परीक्षण भइरहेको छ ।
प्राधिकरणका अनुसार बाइपास सडक दुवैतर्फ करिब ९ किलोमिटर, केन्द्रीय बस टर्मिनलदेखि पुल्चोकसम्म ८ किलोमिटर ३३ केभी लाइन, आँपटारीदेखि पोखरा बसपार्कसम्म १.५ किलोमिटर ११ केभी लाइन तथा केन्द्रीय बस टर्मिनलदेखि मिलनचोकसम्म १.५ किलोमिटर ३३ केभी लाइन भूमिगत रूपमा विस्तार गरिएको छ । औद्योगिक फिडरमा समेत विद्युत् चार्ज गरिसकिएको छ ।
सुरुमा करिब १ अर्ब ४० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको दायरा विस्तार भएपछि लागत बढेर करिब ३ अर्ब रुपैयाँ पुगेको छ । नेपाल सरकार, विद्युत् प्राधिकरण र एसियाली विकास बैंकको साझेदारीमा आयोजना कार्यान्वयन भइरहेको हो ।
प्राधिकरणका अनुसार भूमिगत वितरण प्रणाली सञ्चालनमा आएपछि विद्युत् आपूर्ति थप भरपर्दो हुने, हावाहुरी तथा प्राकृतिक विपद्बाट हुने क्षति कम हुने, मर्मतसम्भार सहज हुने र खुला तारका कारण हुने दुर्घटना जोखिम घट्ने अपेक्षा छ ।