मुख्य समाचार
नेपाली कांग्रेसले सरकार नैतिक तथा राजनीतिक संकटमा पर्दा समस्याको समाधान खोज्नुको सट्टा जनताको ध्यान अन्यत्र मोड्ने रणनीतिमा लागेको आरोप
नेपाली कांग्रेसले सरकार नैतिक तथा राजनीतिक संकटमा पर्दा समस्याको समाधान खोज्नुको सट्टा जनताको ध्यान अन्यत्र मोड्ने रणनीतिमा लागेको आरोप

। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार नैतिक तथा राजनीतिक संकटमा पर्दा समस्याको समाधान खोज्नुको सट्टा जनताको ध्यान अन्यत्र मोड्ने रणनीतिमा लागेको आरोप लगाएको छ ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता देवराज चालिसेले सरकार जनविश्वासको संकटमा पर्दा त्यसबाट बाहिरिने उपाय खोज्नुको सट्टा नयाँ–नयाँ विषय सिर्जना गरेर ध्यान मोड्ने प्रयास गरिरहेको टिप्पणी गरे ।

‘नेपालको सन्दर्भमा जब सरकार नैतिक संकटमा पर्छ, जब राजनीतिक अक्षमता प्रदर्शित हुन्छ, जतिबेला जनविश्वसको संकटले सरकार घेरिन्छ तब समस्याको समाधान सरकार खोज्दैन,’ उनले भने, ‘त्यो समस्यालाई विषयान्तर गर्न अर्को घटना घटाउँछ । यो चलाखी सरकार गरिरहेको छ । ध्यान मोड्ने प्रयासमा सरकार लिप्त रहेको देखिन्छ ।’

सरकारले जतिसुकै विषयान्तर गर्न खोजे पनि सुशासन, पारदर्शिता, उत्तरदायित्व र नागरिक अधिकारसँग जोडिएका विषयहरू समाजमा सधैं जीवित रहने उनको भनाइ थियो ।


‘केही मुद्दाहरू यस्ता हुन्छन्, जसको महत्व न समयले घटाउन सक्छ, न सरकारी प्रयासले छोप्न सक्छ,’ प्रवक्ता चालिसेले भने । कांग्रेसले वर्तमान सरकार अस्थिर होस् भन्ने चाहना नराखेको स्पष्ट पार्दै सरकार सुशासन, पारदर्शिता र उत्तरदायित्वका आधारमा बलियो र स्थिर बन्नुपर्ने आफ्नो धारणा दोहोर्‍याएको छ ।

‘हामी सरकारको अस्थिरता चाहँदैनौं । सुशासन, पारदर्शिता र उत्तरदायित्वका आधारमा सरकार बलियो र स्थिर होस् भन्ने चाहना राख्नु हाम्रो कमजोरी होइन,’ प्रवक्ता चालिसेले भने ।

उनले कांग्रेसले कुनै पनि राजनीतिक दलको आन्तरिक विषयमा टिप्पणी गर्न नचाहेको उल्लेख गर्दै सरकारका गतिविधिका कारण लोकतान्त्रिक प्रणाली, संवैधानिक मूल्य र नागरिक अधिकारमाथि प्रश्न उठेका बेला भने मौन बस्न नसकिने बताए ।

‘हामी कुनै पनि दलको आन्तरिक विषयमा टिप्पणी गर्न चाहँदैनौं । तर, सरकारका गतिविधिले लोकतान्त्रिक प्रणाली, संवैधानिक मूल्य र नागरिक अधिकारमाथि प्रश्न उठेको अवस्थामा हामी मौन रहन सक्दैनौं,’ प्रवक्ता चालिसेले भने ।

राजनीतिक घटनाक्रमले सत्तामा पुगेका दल संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक मूल्यमान्यताप्रति समान रूपमा प्रतिबद्ध रहन्छन् भन्ने सुनिश्चितता नहुने देखिएको प्रवक्ता चालिसेको भनाइ थियो ।

‘कहिले काँही सत्तामा पुग्ने बित्तिकै चुनाव जितेका दलहरू संवैधानिक सर्वोच्चताको पक्षमा नरहन सक्छन् भन्ने कुरा पनि विकसित राजनीतिक घटनाक्रमले देखाएको छ,’ उनले भने, ‘विशेष गरेर त्यो दलको विचारधारा, इतिहास, समर्पण भाव र भविश्यले त्यसको लोकतन्त्र प्रतिको विश्वासलाई परीक्षण गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राप्रपाले प्रदेश सरकारमा सहभागी हुने या नहुने भन्ने निर्णय गर्ने जिम्मा अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको हितलाई ध्यानमा राखेर आवश्यक निर्णय लिने जिम्मा अध्यक्ष लिङ्देनलाई जिम्मा दिएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठले राप्रपा प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सामेल र लालायित नभएको पनि ...
। सर्वोच्च अदालतका न्यायाधीशलाई राजीनामा दिन दबाब भएको भनेर तीन अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग गर्न संसदीय समितिले निर्देशन दिएको छ । बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा संसदीय समितिले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई स्पष्टीकरण माग गर्न निर्देशन दिने निर्णय गरेको हो । समाज कल्याण परिषद्मा स्पष्टीकरण दर्ता हुने भएकाले समितिले ...
। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिवशिखर र पशुपति सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार शिवशिखर सहकारीका १४ जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् । त्यस्तै पशुपति सहकारीका २८ जनाले बचत फिर्ता पाएका हुन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ । समितिका अनुसार पहिलो ...
। सर्वोच्च अदालतका न्यायाधीशलाई राजीनामा दिन दबाब भएको भनेर तीन अन्तर्राष्ट्रिय संस्थाले जारी गरेको वक्तव्यलाई सरकारले कपोलकल्पित वक्तव्यको संज्ञा दिएको छ । बुधबार प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा संसदीय समितिमा उठेका प्रश्नको जवाफ दिने क्रममा कानुनमन्त्री सोबिता गौतमले यस्तो बताएकी हुन् । एमनेष्टी इन्टरनेशनल, इन्टरनेशनल कमिशन अफ जुरिस्ट्स र ह्युम्यान राइट्स वाचले विज्ञप्ति निकालेर सर्वोच्च अदालतका ...
। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र मिस नेपाल वर्ल्ड दीपमाला ढकालबीच सिंहदरबारस्थित मन्त्रालयमा भेटवार्ता भएको छ । मिस नेपालको स्यास लगाएर उनी मन्त्रीसँगको बैठकमा सहभागी थिइन् । भेटपछि अनलाइनखबरसँग कुरा गर्दै दीपमालाले गैरआवासीय नेपाली समुदायको दोस्रो पुस्तालाई कसरी मुलुक फर्किन प्रोत्साहित गर्ने र समृद्ध अर्थतन्त्र निर्माण गर्ने विषयमा छलफल भएको बताइन् । यो कुराकानीमा मन्त्री पोखरेल ...