मुख्य समाचार
अमेरिका, इरान र ओमानबीचको अन्तरिम सम्झौताको सम्भावना
अमेरिका, इरान र ओमानबीचको अन्तरिम सम्झौताको सम्भावना

: अमेरिका, इरान र ओमानबीचको अन्तरिम सम्झौताको सम्भावना बढ्दै गएको छ । जसले मध्यपूर्वको सबैभन्दा जोखिमपूर्ण तनाव क्षेत्रमध्ये एक हर्मुज जलडमरूमध्य पुनः खोल्न सक्ने आशा बढाएको छ । प्रस्तावित सम्झौता केही सातादेखि चलिरहेको वार्ताको परिणाम हो ।

यसको उद्देश्य जुन १७ मा भएको अमेरिका–इरान युद्धविराम पुनःस्थापित गर्नु, विश्वको तेल आपूर्तिको करिब पाँच भागमध्ये एक हिस्सा ढुवानी हुने यो रणनीतिक जलमार्गमा देखिएको विवाद समाधान गर्नु र इरानको परमाणु कार्यक्रमसहित अन्य विषयमा व्यापक वार्ताका लागि वातावरण बनाउनु हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार साँझ वार्ता ‘धेरै राम्रो ढंगले अघि बढिरहेको’ बताएका छन् । ‘हामी थाहा पाउने छौं । ४८ घण्टाभित्र स्पष्ट हुनेछ’, सम्झौता नजिक छ कि छैन भन्ने प्रश्नमा ट्रम्पले भने । ‘हर्मुज जलडमरूमध्य चाँडै खुल्नेछ, होइन भने उनीहरूले ठूलो क्षति बेहोर्नु पर्नेछ, अनि त्यसपछि पनि जलडमरूमध्य खुल्ने छ ।’

ट्रम्पको यो भनाइ उनले सप्ताहन्तमा दोस्रो विश्वयुद्धपछि अमेरिकाले गर्न सक्ने सबैभन्दा ठूलो सैन्य आक्रमणको रूपमा वर्णन गरेको इरानमाथिको हमलाको योजना तत्कालका लागि रोक्ने निर्णय गरेपछि आएको हो । ट्रम्पले यसअघि पनि पटक–पटक इरानमाथि आक्रमणको चेतावनी दिँदै अन्तिम समयमा कूटनीतिक समाधानको बाटो रोज्दै आएका छन् ।

इरानले भने अमेरिकासँग प्रत्यक्ष वार्ता भइरहेको कुरा अस्वीकार गर्दै आएको छ । उसका अधिकारीहरूले ओमानसँग हर्मुज जलडमरूमध्य व्यवस्थापनबारे छलफल भइरहेको बताएका छन् । ओमानले लामो समयदेखि अमेरिका र इरानबीच मध्यस्थकर्ताको भूमिका खेल्दै आएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले ओमानसँगको वार्ता ‘सकारात्मक’ रहेको र जारी रहेको बताएका छन् । तर इरानको सेनासँग सम्बन्धित स्रोतले अमेरिकी सैन्य धम्की सम्झौता हुन नदिने मुख्य बाधक रहेको जनाएको छ ।

यो कूटनीतिक प्रयास हर्मुज क्षेत्रमा तनाव बढिरहेका बेला भइरहेको छ । मंगलबार बेलायतको समुद्री व्यापार निगरानी संस्थाले ओमानको तट नजिक एउटा मालवाहक जहाज अज्ञात वस्तुले प्रहार गरेको जनाएको थियो । जलमार्गबाट हुने व्यापार पनि अझै प्रभावित छ । सोमबार हर्मुज हुँदै केवल ८ वटा जहाज मात्र वारपार गरेका थिए, जबकि अमेरिका–इजरायल र इरानबीच युद्ध सुरु हुनुअघि दैनिक करिब १३० वटा जहाज आवतजावत गर्थे । लामो समयसम्म अवरोध जारी रहे तेलको मूल्य निकै बढ्न सक्ने चिन्ता छ । यस्तो अवस्थामा मध्यस्थकर्ताहरूले पहिले जलमार्ग खोल्ने अस्थायी सम्झौता गराउने र त्यसपछि जुन महिनामा अमेरिका र इरानबीच भएको विस्तृत समझदारी पुनः अघि बढाउने प्रयास गरिरहेका छन् ।

के विषयमा भइरहेको छ वार्ता ?
वार्ता मुख्यतः दुई विषयमा केन्द्रित छ :

१) हर्मुज जलडमरूमध्यमाथि नियन्त्रण कसको हुने ?
२) इरानले व्यापारिक जहाजबाट शुल्क लिन पाउने कि नपाउने ?
अमेरिका र इजरायलले इरानमाथि युद्ध सुरु गरेपछि यो विवाद बढेको थियो । त्यसको जवाफमा तेहरानले हर्मुज बन्द गरेको थियो, जसले विश्वकै व्यस्त समुद्री मार्गमध्ये एकलाई प्रभावित बनायो र विश्व बजारमा ऊर्जा मूल्य बढायो ।

पछि इरानले जलमार्गको केही भाग खोल्दा उसले जहाजहरूलाई लाराक टापु नजिक इरानी क्षेत्र भएर जाने उत्तरी मार्ग प्रयोग गर्न निर्देशन दिएको थियो । अमेरिकाले पछि इरानमाथि आर्थिक दबाब बढाउन उसका बन्दरगाहमाथि नौसैनिक नाकाबन्दी लगाएको थियो । युद्धविरामपछि अमेरिकाले ओमानको तट हुँदै दक्षिणी मार्ग प्रयोग गर्न प्रस्ताव गरेको थियो । इरानले यो प्रस्ताव अस्वीकार गर्दै अमेरिका–इरान समझदारी उल्लंघन भएको दाबी गरेको थियो ।

इरान के चाहन्छ ?
इरानले ओमानसँगको वार्ता सुरक्षित समुद्री आवतजावतको मार्ग स्थापना गर्न केन्द्रित रहेको बताएको छ । इरानको भनाइअनुसार हर्मुज जलडमरूमध्यमा इरान र ओमानको समुद्री सार्वभौमिकता र सुरक्षा चासोको सम्मान हुनुपर्छ । तेहरानले जलमार्ग पुनः खोल्ने प्रक्रिया, समुद्री सेवा शुल्क र सुरक्षा व्यवस्थाबारे अझै छलफल आवश्यक रहेको जनाएको छ ।

इरानले अमेरिकासँग नभई ओमानसँग मात्र वार्ता भइरहेको दाबी गर्दै आएको छ । उसको धारणा छ कि इरान र ओमानले आफ्ना क्षेत्रीय पानीअनुसार संयुक्त रूपमा जलमार्ग व्यवस्थापन गर्नुपर्छ । इरानले जहाजहरूबाट कुनै प्रकारको शुल्क प्रणाली लागू गर्ने संकेत पनि दिएको छ । अन्तर्राष्ट्रिय समुद्री कानुनअनुसार हर्मुज जस्ता अन्तर्राष्ट्रिय जलमार्गमा सीधा कर लगाउन पाइँदैन, तर नेभिगेसन सहायता, सुरक्षा र वातावरण संरक्षण जस्ता सेवाको शुल्क लिन सकिन्छ ।

के चाहन्छ अमेरिका ?
अमेरिकाले हर्मुज जलडमरूमध्यबाट व्यापारिक जहाजलाई पूर्ण स्वतन्त्र आवतजावत हुनुपर्ने बताएको छ । अमेरिकी अधिकारीहरूका अनुसार इरानले जहाजबाट शुल्क लिन पाउने छैन । कुनै पनि जहाजले तेहरानको अनुमति लिनुपर्ने व्यवस्था हुनु हुँदैन । कुनै देशले जलमार्ग नियन्त्रण गर्न पाउने छैन । ट्रम्पले पनि इरानलाई शुल्क लिन नदिने बताएका छन् ।

‘म उनीहरूलाई शुल्क लिन दिने छैन । कसैले शुल्क लिने हो भने हामी लिनेछौं’, ट्रम्पले भने । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले हर्मुज वार्ता इरानको परमाणु कार्यक्रमसम्बन्धी ठूलो वार्ताभन्दा अलग रहेको बताएका छन् ।

सम्झौतामा के प्रस्ताव छ ?
अमेरिकी सञ्चारमाध्यमका अनुसार वार्ताकारहरू केही नरम सम्झौतातर्फ अघि बढिरहेका छन् ।
प्रस्तावअनुसारः

खाडी प्रवेश गर्ने जहाजले इरानी पानी हुँदै जाने उत्तरी मार्ग प्रयोग गर्ने ।
खाडीबाट बाहिरिने जहाजले ओमानको पानी हुँदै दक्षिणी मार्ग प्रयोग गर्ने ।
यो व्यवस्था सुरुमा ६० दिनका लागि लागू हुने ।
यस अवधिमा कुनै शुल्क नलिइने ।

केही रिपोर्टअनुसार समुद्री सुरक्षा र वातावरण संरक्षणका लागि सेवा शुल्कबारे पनि छलफल भइरहेको छ । ओमानले यसअघि मलक्का जलडमरूमध्यको मोडलमा प्रस्ताव गरेको बताइएको छ, जहाँ इन्डोनेसिया, मलेसिया र सिंगापुरले जहाजहरूबाट स्वैच्छिक रूपमा सुरक्षा, वातावरण संरक्षण र उद्धार सेवाका लागि सहयोग लिन्छन् । वार्तामा जलमार्गका बीचमा रहेका नौसैनिक बारुदी सुरुङ हटाउने विषय पनि छलफल भइरहेको छ।

रिपोर्टअनुसार इरानले दुवैतर्फको जहाज आवतजावतमा पूर्ण नियन्त्रणको आफ्नो पुरानो माग केही हदसम्म छोडेको छ, तर आफ्नो अडान अझै परिवर्तन गर्ने सम्भावना कम रहेको बताइएको छ । इरानी सञ्चारमाध्यमले भने वार्ता ‘नयाँ चरण’ मा प्रवेश गरेको र दुई पक्षबीच समझदारी नजिक पुगेको बताएका छन् । इरानले अन्ततः उत्तरी र दक्षिणी मार्गको सट्टा हर्मुजमा नयाँ ‘मध्य मार्ग’ बनाउने प्रस्ताव गरेको जनाएको छ, जसले सुरक्षित आवतजावत सुनिश्चित गर्ने र तटीय राष्ट्रका रूपमा इरानको अधिकार कायम राख्ने दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...
। भारतले एकतर्फी र अवैध रूपमा स्थापना गरेको भनिएको तथाकथित ‘केन्द्र शासित प्रदेश लद्दाख’ लाई चीनले कहिल्यै मान्यता नदिएको बताएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निंगले मंगलबार भारतले लद्दाखका केही स्थानहरूको मानक नाम घोषणा गरेको विषयमा कडा आपत्ति जनाउएकी छिन् । निंगको अनुसार, भारतको गृह मन्त्रालयले विवादित सीमा क्षेत्र र चीनको वास्तविक नियन्त्रणमा रहेका केही ...
साउदी अरबियाको नेतृत्वमा रहेको गठबन्धनले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा विशेष सैन्य कारबाही गर्ने तयारी गरेको छ । गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले उक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै उक्त क्षेत्रमा विशेष सैन्य कारबाही सञ्चालन गर्न यस्तो कदम आवश्यक रहेको बताएका ...