: सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका अध्यक्ष पृथ्वीबहादुर पाँडेसहित सञ्चालक समितिका सदस्यहरूलाई तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले बैंकको नेतृत्वलाई अनुसन्धानका सिलसिलामा पक्राउ नगर्न आदेश दिएको हो।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले सञ्चालक समितिका तर्फबाट दायर गरेको रिट निवेदनमा प्रारम्भिक सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो। स्मार्ट टेलिकम प्रालिको धितो लिलाम प्रक्रियासँग सम्बन्धित विषयमा भइरहेको फौजदारी अनुसन्धानका क्रममा बैंकका अध्यक्ष पाँडे, सञ्चालकहरू प्रजन्य राजभण्डारी, कवि कुमार टिवरेवाला, दीपांकर शाक्य उदय, शालिकराम बेलबासे र शोभा श्रेष्ठलाई पक्राउ अनुमति लिई पक्राउ गर्ने तयारी भइरहेको भन्दै रिट दायर गरिएको थियो।
सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम बैंकले गर्ने बैंकिङ्ग व्यवसायसँग सम्बन्धी आधारभूत जिम्मेवारी र निवेदकहरूको वैयक्तिक स्वतन्त्रता रक्षा जस्ता संवेदनशील प्रश्नहरू सन्निहित देखिएको उल्लेख गरेको छ। अदालतले दुवै पक्षको छलफल सुनेर मात्र अन्तरिम आदेशबारे निष्कर्षमा पुग्न उपयुक्त हुने ठहर गर्दै आगामी साउन २५ गतेका लागि छलफलको तारिख तोकेको छ।