: नवलपरासीमा डुङ्गाबाट केरा तस्करी हुने गरेको छ । भारतबाट नारायणी नदी हुँदै मोटर जडित डुङ्गाबाट केरा ल्याएर गण्डक बाँधका विभिन्न स्थानमा ल्याउने गरिएको र त्यहाँबाट ट्याक्टर र पिकअपमा लोड गरेर लैजाने गरेको किसानहरुले बताएका छन् । सीमा नाकामा प्रहरीको निगरानी बढेपछि अहिले तस्करहरुले फरक शैली अपनाएर नारायणी नदीमार्फत डुङ्गा प्रयोग गरेर केरा भित्र्याउन थालेको बताइएको छ ।
शुक्रबार मात्र किसानहरुले चार लाख बराबरका भारतीय केरासहित ट्याक्टर नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । नवलपरासीको सीमा नाकासँग जोडिएको भारतीय खड्डा क्षेत्रबाट मोटरजडित डुङ्गामा ल्याएर गण्डक बाँधको ६ नम्बर ठोक्कर नजिकमा उक्त केरा राखिएको थियो । प्रतापपुरका एक व्यापारीले लु ३ त ३५६० नम्बरको ट्याक्टरमा लोड गरेर लैजान लागेको अवस्थामा किसानहरुले केरा नियन्त्रणमा लिएको केरा उत्पादक संघ नवलपरासीका अध्यक्ष लख्खु यादवले जानकारी दिए ।
जिल्लाको प्रतापपुर र सुस्ता केराको पकेट क्षेत्र हो । सीमा नाकाबाट भित्रिने भारतीय केराले नेपाली किसानहरु समस्या परेको गुनासो गरे पनि स्थानीय प्रशासनले प्रभावकारी नियन्त्रण गर्न नसेको यादवको गुनासो छ । किसानहरु आफैं पनि भारतबाट आउने केरा नियन्त्रणका लागि निगरानी गर्दै आएका छन् ।
भारतबाट अवैध रुपमा भित्र्याइने केरालाई नवलपरासीमा उत्पादन भएको बिल बनाएर अन्यन्त्र लैजाने गरिएको किसानहरुले बताएका छन् । एक जना व्यक्तिसहित नियन्त्रणमा लिएको केरा बोकेको ट्याक्टर इलाका प्रहरी कार्यालय बेलाटारीमा राखिएको छ । उक्त केरा आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइने प्रहरीले जनाएको छ ।