। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले देश बनाउन सबैको साथ चाहिने बताएका छन् ।
रुपन्देहीको भैरहवामा शनिबार आयोजित पार्टीको कार्यक्रममा उनले देश एक्लैले बनाउन नसकिने बताए । ‘देश एक्लैले बन्दैन, २७५ जना सांसदले पनि बन्दैन’, आचार्यले भने, ‘देश बनाउन सबैको साथ र समन्वय चाहिन्छ ।’
उनले स्थानीय तह र प्रदेशको निर्वाचन आउँदै गरेको उल्लेख गर्दै ती निर्वाचनमा पार्टीका नेता कार्यकर्ताको साथ चाहिने बताए ।
महामन्त्री आचार्यले रास्वपाका नेता कार्यकर्ता र शुभेच्छुकहरूलाई पुराना दल र त्यसमा आबद्ध व्यक्तिलाई गाली गरेर नभई कामबाट जवाफ दिन आग्रह गरे ।
रास्वपामा पुराना पार्टीबाट धेरै मान्छे आएको स्वीकार गर्दै उनले नवप्रवेशी उनीहरुलाई चित्त दुख्नेगरी टिकाटिप्पणी र गाली नगर्न आग्रह गरे ।
‘हामी त्यो सभ्यताको व्यक्ति हो, रत्नाकरलाई वाल्मिकी बनाउने त हाम्रो समाज हो नि त, त्यो कहीँ पुरानाबाट गलत व्यक्ति आएछन् भने पनि रास्वपाका साथीहरूले हेर्नुहोला, सबै जना मिलेर यो देश बनाउने हो,’ उनले भनेका छन् ।
उनले आफ्ना सांसदहरूलाई जोगाउने र गलत गर्दा प्रश्न गर्ने काम पनि गर्नका लागि नेता कार्यकर्तालाई सुझाव दिए ।